बिरामीको मृत्युपछि चिकित्सक फरार, मृतकका आफन्त आन्दोलित – Nepal Press

बिरामीको मृत्युपछि चिकित्सक फरार, मृतकका आफन्त आन्दोलित

जनकपुरधाम । सिरहामा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गरेका छन् ।

नरहा गाउँपालिका-३ स्थित नयाँ चोहर्वामा रहेको अनुराधा हेल्थ केयर एण्ड डाइग्नोस्टिक सेन्टरमा उपचारको क्रममा ६४ वर्षीय रामसुफल महतोको मृत्यु भएको हो ।

वान्ता आउने र ब्लडप्रेसर बढेपछि सोही गाउँपालिका-३ डन्डाटोल घर भएका महतो चैत ९ गते क्लिनिकमा भर्ना भएका थिए ।

‘क्लिनिकमा डाक्टरले उपचार गरेपनि स्वास्थ्यमा सुधार नआउँदा रेफर गर्न भनेको थिएँ’, मृतकका छोरा लालबिहारी महतोले भने, ‘तर डाक्टरले यही ठिक हुन्छ भन्दै ढाँटेर बाहिर लग्न नदिएकै कारण गएराति बुवाको मृत्यु भो ।’

महतोको मृत्युपछि क्लिनिक संचालकसमेत रहेका डाक्टर संजय यादव फरार छन् । लापरबाही गर्ने डाक्टरलाई कडा कारबाही र क्षतिपूर्ति माग्दै मृतकका आफ्न्त प्रदर्शन गरेका छन् ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले घटनाबारे छानबिन शुरू गरिएको बताए । उनले भने, ‘क्लिनिकले बिरामी भर्ना गरेर उपचार गर्न पाउँदैन । हामीले छानबिन गरिरहेका छौं । दोषी ठहर भए कानून बमोजिम कारबाही हुन्छ ।’

क्लिनिक कुनै निकायमा दर्ता छैन । दर्ता भएका क्लिनिकमा पनि बिरामी भर्ना लिन पाइँदैन । तर, सिरहामा यस्ता घटना यसअघि पनि पटक-पटक दोहोरिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *