एमालेमा पुनर्मिलनको सम्भावना करिब समाप्त, यी हुन् सम्भावित परिदृष्य – Nepal Press

एमालेमा पुनर्मिलनको सम्भावना करिब समाप्त, यी हुन् सम्भावित परिदृष्य

तीन महिनाअघि माधवले ओली हटाए, अब ओलीले माधव हटाउने पालो

काठमाडौं । करिब ५० वर्ष लामो सहकार्य गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल चार महिनाको बीचमा दोस्रो पटक राजनीतिक सम्बन्ध बिच्छेदको निर्णायक मोडमा पुगेका छन् ।

नेकपामा एक वर्षदेखि शुरु भएको पदीय द्वन्द्वको उत्कर्ष पुस ५ मा पुग्दा प्रतिनिधिसभा विघटन भएको थियो । त्यस लगत्तै साबिक नेकपाका दोस्रो वरियताका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग मिलेर माधव नेपालले केपी ओलीलाई पार्टी अध्यक्षबाट हटाएको घोषणा गरी आफू अध्यक्ष बनेका थिए ।

ओलीले प्रचण्ड-माधवको कारबाही अस्वीकार गर्दै प्रथम अध्यक्षका रुपमा नेकपाको एउटा हिस्सालाई नेतृत्व दिएका थिए । प्रचण्ड–माधव पक्षले ओलीलाई अध्यक्ष र साधारण सदस्यबाट हटाएको घोषणा गरेसँगै ओली र माधव नेपालबीच पहिलोपटक अलग पार्टीको अभ्यास भएको हो ।

२०५४ सालमा एमाले विभाजन हुँदा समेत सँगै रहेका ओली र नेपालबीच पहिलो विभाजन २०७७ पुस ५ पछि भएको थियो । फागुन २३ गतेको सर्वोच्चको फैसलापछि पुनः एमाले बनेका ओली र नेपालबीच नेकपाकालीन प्रतिशोध र झगडा कायमै रहेकाले अब दोस्रो पटक विभाजनको डिलमा पुगेका छन् ।

पार्टीले सोधेको स्पष्टीकरण माधव नेपालले दिएनन् । बरु उल्टै ओलीसँग स्पष्टीकरण माग्दै संगीन आरोप लगाएका छन् । माधव नेपालको स्पष्टीकरण पढ्ने वित्तिकै बालुवाटारबाट थप कारबाहीको प्रक्रिया अघि बढ्ने प्रारम्भिक प्रतिक्रिया प्राप्त भइसकेका छन् ।

माधव नेपाल लगायत स्पष्टीकरण मागिएका नेताहरूले एमाले केन्द्रीय कार्यालयमा बुझाएको प्रतिस्पष्टीकरणमा उल्लेखित अधिकांश आरोपहरू नेकपा हुँदैको अवस्थामा प्रचण्डले सचिवालयमा पेश गरेको १९ बुँदै ‘अभियोगपत्र’कै भाषामा छन् । सुरेन्द्र पाण्डेको पेश हुन बाँकी छ ।

स्पष्टीकरण माग्ने र दिनेहरू दुवै पक्षका भाषा हेर्दा उनीहरू अब एकै पार्टीमा रहने सम्भावना लगभग अन्त्य भएको छ । एमाले ब्यूँतिएपछि पेरिसडाँडामा अन्तिम बैठक गरेर ओली प्रवृतिविरुद्ध संघर्ष गर्ने भनी गह्रुँगा पाइला लिएर फर्किएको माधव नेपाल पक्षलाई अ‍ोलीले वास्ता गरेनन् ।

फागुन २८ गते केन्द्रीय कमिटीको विशेष बैठकबाट २३ जना माओवादी नेताहरूलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने लगायतका महत्वपूर्ण निर्णयहरू गरेपछि पार्टीमा फर्केका माधव नेपालहरू आँगनमै रोकिए । उनीहरूलाई धुम्बाराहीमा बोलाएर ओलीले सम्बोधन गर्न खोजे पनि त्यो सफल भएन ।

माधव नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला गरेर देशभर र जनसंगठनहरूमा समानान्तर कमिटी बनाउने निर्णय गरे लगत्तै ओलीले केन्द्रीय कमिटी बैठकमा थप निर्णय गर्दै माधव नेपालसँग स्पष्टीकरण सोध्ने निर्णय गराए । स्पष्टीकरण चित्त बुझ्दो नभए थप कारबाही गर्ने वैधानिक व्यवस्था पनि उनले सुझाए ।

माधव नेपालसहितका नेताहरूले चैत १२ गते पठाएको स्पष्टीकरण खासमा जवाफ होइन ओलीलाई नै सोधिएका प्रतिस्पष्टीकरण हो । ओलीमाथि प्रचण्डले भन्दा एक कदम अघि बढेर लगाइएको आरोपहरू सहेर उनले माधव नेपाल पक्षसँग सम्झौता गर्लान् ? यो प्रश्नको उत्तर पर्खिनु पर्दैन ।

ओली निकट एक नेताले भने- माधव नेपालहरू प्रचण्डसँगै फर्किनेमा कुनै दुविधा थिएन । तर यति चाँडै गर्लान् भन्ने पनि लागेको थिएन । अब कि त केपी ओलीले उनीहरुले लगाएका आरोप स्वीकार गर्नुपर्‍यो होइन भने पार्टीले थप कारबाही अघि बढाउँछ । अब उनीहरूलाई एमालेमा स्थान रहने देखिएन ।

प्रचण्डसँग बसेर मस्यौदा गरिएको अभियोगपत्र केपी ओलीले कसरी स्वीकार गर्ने ?

अब के हुन्छ ?

एमालेले सम्भवतःचाँडै नै माधव नेपालमाथि थप कारबाहीको प्रक्रिया अघि बढाउनेछ । एमालेमा फर्किएपछि पनि माधव नेपालले प्रचण्डसँग गरेका लगातारका भेटवार्ता र बिहीबार कोटेश्वरमा एक व्यापारीको घरमा भएको बैठकबारे ओली भलिभाँती जानकार छन् ।

प्रचण्डले माधव नेपालहरू एमाले कब्जा गर्न गएका हुन्, नसके फर्केर आउछन् भनेर बारम्बार बोलेको विषयलाई पनि ओलीले नोटिस गरेका छन् । माधव नेपालहरू सके कब्जा गर्ने, नसके एमालेभित्र गुट चलाएर दुःख दिने नियतले आएको ओलीको बुझाइ छ ।

त्यसैले उनले गुटसँग कुनै संवाद र सम्झौता नहुने कुरालाई बारम्बार दोहोर्‍याएका छन् । माधव नेपाल पक्षका नेताहरूसँग व्यक्तिगत संवाद गरेर आफूतिर तान्ने प्रक्रिया ओलीले तीव्र बनाएका छन् । कृष्णभक्त पोखरेलपछि पनि केही सांसद नेतृत्वसँग संवादमा छन् ।

माधव नेपाल पक्षले तत्काल एमाले छाड्न चाहेको छैन । एमाले छाडेर जाँदा कार्यकर्ता छुट्ने र बाँकी रहेका सांसदको पद पनि जोखिममा पर्ने भएकाले एमालेभित्रै संघर्ष गर्न चाहेको छ । तर पछिल्लो स्पष्टीकरण प्रकरणले अब ओलीले माधव नेपाललाई पार्टीभित्र थप गतिविधिमा संलग्न हुन नदिने सम्भावना छ ।

ओलीले चाँडै कारबाही गरे भने माधव नेपाल पनि पार्टी फुटाउन तयार छन् । कारबाही लगत्तै उनले पार्टी फुटाउँदैनन् । संसदीय दलको बैठकमा जाने र पार्टीमा फरक संगठन चलाउने उनको रणनीति छ । तर अविश्वास प्रस्ताव आएमा वा ओलीले विश्वासको मत लिने स्थितिमा सांसद पद जोखिममा पारेर भनेपनि फ्लोर क्रस गर्न माधव नेपाल पक्ष तयार छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेलगत्तै चितवनको आमसभा छाडेर प्रचण्ड-माधव लड्डुको जुठो मुख लिएरै काठमाडौं आएर सिधै शेरबहादुर देउवा भेट्न गएका थिए । तर देउवाले बेवास्ता गरिरहेकै बेला सर्वोच्चको अर्को फैसलाबाट एमाले-माओवादी ब्यूँतिएपछि प्रचण्ड-माधवमाथि अकल्पनीय बज्रपात भयो ।

यसबीचमा पनि प्रचण्ड-माधवले सामूहिक रुपमा र एक्लाएक्लै पनि कांग्रेस, जसपाका नेताहरूलाई भेटेर ओलीलाई सत्ताच्युत गर्न साथ मागे । तर मुख्यगरी देउवा र जसपाको महन्थ ठाकुर पक्ष प्रचण्ड-माधवको हतारोमा सहयोगी बनेन, बरु तगारो बन्यो, जसले गर्दा ओली झन् शक्तिशाली बने । अब ओलीले माधव नेपाललाई थप कारबाही गर्ने सम्भावना बढेको छ ।

माधव नेपाल पार्टी फुटाउन मानसिक रुपमा तयार भइसकेका छन् । उनले एमाले आफूहरूको भएको र केपी ओलीले जालझेल गरेर कानुनी रुपमा कब्जा गरेमात्र विचार गर्ने बताएका छन् । यसको अर्थ दुई तीन महिना तलैसम्म भेलाहरू गरेर आफ्नो पक्षका कमिटी तयार पार्ने र एकैपट फुटाएर नयाँ दल गठन गर्ने माधव नेपालको रणनीति हो ।

संस्थापन पक्ष माधव नेपाललाई यो मौका पनि दिन चाहँदैन । कारबाहीका सबै प्रक्रिया पुर्‍याएर पार्टी सदस्य र संसद सदस्यबाट समेत माधव नेपाललाई निष्कासनको चरणमा पुग्ने सम्भावना रहेको बालुवाटार स्रोतको भनाइ छ । त्यसो हुँदा अहिले माधव नेपाल पक्षका रहेका धेरै सांसद संस्थापन पक्षमा पुग्ने विश्लेषण उनीहरूको छ ।

माधव नेपाल पक्षभित्र पछिल्ला कदमहरुप्रति असन्तुष्टि छ । केही नेताहरू विचारको आधारमा ओलीलाई कारबाही गरेर प्रचण्डसँग एकता भएको थियो भने सर्वोच्चको फैसला लगत्तै किन पेरिसडाँडाबाट फर्केको ? भन्ने प्रश्न गरिरहेका छन् । विजय पौडेल, रविन कोइराला र राजेन्द्र राईहरूको धारणा ओलीसँग कुनै हालतमा फर्किनै नहुने भन्ने थियो ।

ओलीले एक्सन गरेपछि रियाक्सन गर्नेमात्र भूमिका भयो भन्ने कुराले पनि माधव नेपालमाथि दबाब छ । कार्यकर्ता भेलामा पनि ओलीसँग मिलेर जान सकिदैन भन्ने आवाज बलियो रुपमा उठेको थियो । एमालेमै बसेर संघर्ष गर्नुपर्छ भन्ने मत कमजोर थियो ।

चाँडै आफ्नो पक्षका कार्यकर्ताहरू संगठित गरेर तलदेखि माथिसम्म कमिटीहरू बनाएपछि नयाँ पार्टी गठन गरि माओवादी केन्द्रसँग सके अहिल्यै नत्र आउने चुनावसम्म एकीकरण गर्नुपर्छ भन्ने मत माधव नेपाल पक्षमा बलियो छ । नेताभन्दा पनि माधव नेपाल पक्षका तल्लो तहका कार्यकर्ता ओली पक्षसँग रहन सकिन्न भन्नेमा देखिन्छन् ।

यस्तै मत संस्थापन पक्षका कार्यकर्तामा पनि देखिन्छ । पार्टी फुट्न दिनु हुँदैन सकेसम्म मिलाएर लानुपर्छ भन्ने मत कमजोर बनिरहेको छ । माधव नेपालहरुमाथि तुरुन्त कारबाही गर्नुपर्छ भन्ने दबाब भेला, बैठक र सामाजिक सन्जालहरुमा सुन्न र देख्न सकिन्छ । यसले एमालेको तिक्तता नेतृत्व तहमा मात्र होइन कार्यकर्ता तहसम्मै फैलिएको प्रष्ट हुन्छ ।

ओली पक्षबाट भइरहेको अपमान, खिसिटिउरी र निषेधलाई सहन नसकिने तर्क नेपाल पक्षमा बलियो बन्दै गएको छ । जति ढिला गर्‍यो उति एमालेभित्र पनि शक्ति कमजोर हुने र सांसदहरू जस्तै नेता कार्यकर्ता पनि माधव नेपालबाट बाहिरिने भएकाले चाँडो वार कि पार गर्न नेपालमाथि पनि दबाब छ ।

प्रतिनिधिसभा पुनःस्थापना भएर फागुन २३को फैसला आउनुअघिसम्म तत्कालीन नेकपामा माधव नेपालको पक्षमा ४१ सांसद थिए । तर त्यो संख्या घटेर ३५ मा झरिसकेको छ । प्रदेशका सांसद र केन्द्रीय सदस्यहरू दिनहु बालुवाटार पुगेर ओलीसँग भेटेपछि माधव नेपाल छाड्ने क्रम बढेको छ ।

माधव नेपाल पक्षभित्र अझै पनि ओलीले जे जस्ता कारवाही गरे पनि त्यसलाई बेवास्ता गरेर एमालेकै नाममा अलग पार्टी अभ्यास गर्नुपर्छ भन्ने मत हावी छ । विशेषगरी स्थायी कमिटीका केही नेताहरूमा त्यस्तो प्रवृत्ति देखिएको माधव नेपाल पक्षका एक केन्द्रीय सदस्य बताउछन् । तर त्यो कदम आत्मघाती हुने र अस्तित्व नै संकटमा पर्ने खतरा पनि कतिपयले देखाइरहेका छन् ।

ओलीले माधव नेपालहरु फर्किन्छन् भन्ने नसोचेको र फर्केर आउँदा बेवास्ता गर्नुले उनी पार्टी एकता चाहँदैनन् भन्ने पुष्टि भएको नेता राजेन्द्र राईको तर्क छ ।

माधव नेपाल पक्षका नेता सुरेन्द्र पाण्डे केपी ओलीले एमालेको एकता नचाहेको बताउँछन् । नेकपा सिध्याएर नपुगेपछि ओलीले एमाले पनि सिध्याउन खोजेको उनको टिप्पणी छ । ओलीलाई सत्ताबाट हटाउन सके एमालेको एकता बचाउन सकिने नत्र नसकिने निष्कर्षमा नेपाल पक्ष पुगेको छ । जुन सम्भावना तत्काल टर्दै गएको छ ।

एमालेमा फेरि पनि पुनर्मिलन हुने हो भने दुवै पक्ष वा दुई मध्ये एउटा पक्ष आफ्नो अडानबाट पछि हट्नुपर्छ । तर तत्काल यी दुवै सम्भावना देखिँदैनन् । योगेश भट्टराईले बिहीबार साँझ विभाजनको सम्भावना देखेरै हुनुपर्छ एमालेको एकता कायम राख्न सबैलाई हरसम्भव कोसिसका लागि आह्वान गरेका छन् । थोरै पनि लचकताबाट यो सम्भव रहेको उनको भनाइ माधव नेपाल स्वयंले समेत सुन्ने देखिँदैन । एमालेमा दोस्रो पुस्ताका नेताहरूको पहल एकताको पक्षमा भए पनि त्यो फलदायी हुने अवस्था देखिएको छैन ।

माया मारिसकेकाहरू

यता एमालेको संस्थापन पक्ष भने माधव नेपालहरु पार्टीमा फर्किनु वा फुटेर फेरि प्रचण्डसँग जानुसँग सरोकार नरहेको बताइरहेको छ । माधव नेपालहरु पुस ५ पछिनै फुटेको र माधव पक्षबिनाको पार्टी ओलीले तलबाट निर्माण गरिसकेकाले अब आउनु र जानुसँग सम्बन्ध नरहेको केन्द्रीय सदस्य महेश बस्नेत बताउछन् ।

माधव नेपाल पक्षबिनाको पार्टी निर्माण भइसकेकाले अब कुनै पनि सर्त मानेर यसअघि बनेका कमिटीहरू खारेज हुन नसक्ने ओलीले बटमलाइन दिइसकेका छन् । ‘उनीहरु माया मारिसकेका हुन्, आएर थान्कोमा बस्छन् भने ठिकै छ भनेको हो,अब निहुँ खोजेपछि बाटो लाग्छन्,’ संस्थापन पक्षका अर्का नेताले भने ।

अहिले पनि माधव नेपाल प्रचण्डलाई न्यायिक पुनरावलोकनमा लगेर नेकपा ब्यूँताउन सकिन्छ भनेर लागिरहेको र ठाउँ पाउनासाथ केपी ओलीलाई सिध्याउन नेपालले जोसँग जस्तासुकै सम्झौता गर्ने भएकाले उनीप्रति साहानुभूति राख्ने भूल नगर्न ओलीलाई निकटस्थहरूले दिनहुँ दबाब दिइरहेका छन् ।

पार्टी एकताका नाममा प्रचण्डका एजेण्डा लागू गराउने प्रयास कुनै हालतमा सफल हुन नदिने संस्थापन पक्षका नेताहरू बताउछँन् । यसबीचमा कुनै जादुमय ढंगले ओली र माधव नेपालबीच सम्बन्ध पुनःस्थापित गर्ने चमत्कार भयो भने बाहेक,एमालेका नेताहरु चार महिनाको बीचमा दोस्रो पटक फुट्ने निश्चित छ ।


प्रतिक्रिया

2 thoughts on “एमालेमा पुनर्मिलनको सम्भावना करिब समाप्त, यी हुन् सम्भावित परिदृष्य

  1. केपीले सबै राम्राे गरेका छन् भन्न सक्दिन किनकी गरेका सबै काम राम्रा मात्र हुँदैनन् । तर नेकपा हुँदा प्रचण्ड र माकुने ग्याँङले केपीलाइ जसरी हात खुट्टा बाँधेर लडाउन खाेज्याे नी त्यो बुझेका जनताले (केपी फोविया भएका पुर्वाग्रही मेडिया र बुद्दिजिवीकाे कुरा नगराैं) केपीले गरेका गल्तीलाइ पनि सहज रूपमा लिएका छन् । मार्झण्ड समुह अाज पनि एकै उधेश्य(केपी हटाउ) मा एकै केन्द्रबाट निर्देशित र परिचालित छ ।
    माकुने खनालहरू राजनितिक व्यक्ती भएका भए अदालतकाे फैसलाले होइन एजेण्डा वा बिचार वा सिद्दान्तकाे अाधारमा चल्थे । जेठ २ को अवस्थामा फर्काै भनेर प्रचण्ड छाेडेकाे नाटक गरेर लुरूक्क फर्कदैन थिए । फागुन २३ काे एजेण्डा वा बिचार वा सिद्दान्त र फागुन २४ काे एजेण्डा वा बिचार वा सिद्दान्त फरक हुँदैन थियाे ।
    अझै समय घर्किएकाे छैन, माकुनेले साेचे हुने प्रचण्डकाे सम्भावित तिरस्कार र पेलाइ भन्दा केपीकाे भन्दा अझ भयानक हुनेछ समय कति पर्खने भन्ने मात्र कुरा हो ।

    1. केपीले सबै राम्राे गरेका छन् भन्न सक्दिन किनकी गरेका सबै काम राम्रा मात्र हुँदैनन् । तर नेकपा हुँदा प्रचण्ड र माकुने ग्याँङले केपीलाइ जसरी हात खुट्टा बाँधेर लडाउन खाेज्याे नी त्यो बुझेका जनताले (केपी फोविया भएका पुर्वाग्रही मेडिया र बुद्दिजिवीकाे कुरा नगराैं) केपीले गरेका गल्तीलाइ पनि सहज रूपमा लिएका छन् । मार्झण्ड समुह अाज पनि एकै उधेश्य(केपी हटाउ) मा एकै केन्द्रबाट निर्देशित र परिचालित छ ।
      माकुने खनालहरू राजनितिक व्यक्ती भएका भए अदालतकाे फैसलाले होइन एजेण्डा वा बिचार वा सिद्दान्तकाे अाधारमा चल्थे । जेठ २ को अवस्थामा फर्काै भनेर प्रचण्ड छाेडेकाे नाटक गरेर लुरूक्क फर्कदैन थिए । फागुन २३ काे एजेण्डा वा बिचार वा सिद्दान्त र फागुन २४ काे एजेण्डा वा बिचार वा सिद्दान्त फरक हुँदैन थियाे ।
      अझै समय घर्किएकाे छैन, माकुनेले साेचे हुने प्रचण्डकाे सम्भावित तिरस्कार र पेलाइ केपीकाे भन्दा अझ भयानक अनि माकुनेले थेग्नै नसक्ने भइ बैध, बाबुराम हुने पालाे माकुने कै हुनेछ समय कति पर्खनु पर्ने भन्ने मात्र कुरा हो ।

Leave a Reply to रामलखन यादव Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर