बागलुङमा हात्तीपाइले रोगविरुद्ध १२औं चरणको अभियान थालिँदै – Nepal Press

बागलुङमा हात्तीपाइले रोगविरुद्ध १२औं चरणको अभियान थालिँदै

बागलुङ । लगातार ६ वर्ष औषधि सेवन गरेर निवारण गर्ने भनिएको हात्तीपाइले रोग कतिपय ठाउँमा अझै निवारण हुन सकेको छैन ।बागलुङमा यसको जोखिमबाट बच्न चैत २० गतेदेखि  १२औं चरणको राेगविरुद्धको अभियान सञ्चालन गर्न थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

१२औं चरणको अभियान शुरु गर्नुभन्दा पहिले हात्तीपाइले प्रभावित क्षेत्र नारायणस्थान र कुस्मिशेरामा चौथो पटकको नमुना संकलन गरिएको थियो । नमुना संकलन गर्दा नारायणस्थानमा आठ र कुश्मिसेरामा दुई जनामा हात्तीपाइले पोजेटिभ देखिएपछि पुनः दुई वर्षका लागि अभियान थालिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले जानकारी दिए ।

‘हात्तीपाइलेको निवारण अभियान प्रभावकारी भएन भन्ने कुरा यसबाट बुझ्न सकिन्छ, नागरिकस्तरबाटै जागरुक नभएसम्म बागलुङमा यस्तो अभियान चलाइराख्नु पर्ने देखियो,’ गुरौँले भने, ‘हात्तीपाइले अभियान दोहोर्याउनु पर्नेमा मुख्य कारण औषधिको प्रति असरको डर देखिन्छ, ५९ प्रतिशत नागरिकमा यस्तो समस्या सर्वेक्षणका क्रममा पाइयो, अब यो भ्रमलाई सबै मिलेर चिर्न आवश्यक छ ।’

गुरौँका अनुसार औषधि अनिवार्य नभएको तथा चेतनाको अभावमा हात्तीपाइलेको औषधि नखाने प्रचलन अझै कायम छ ।

बुधबार आयोजना गरिएको पत्रकार अन्तरक्रिया कार्यक्रममा सहजीकरण गर्दै स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक शर्माले सन् २०२२ सालभित्र नेपालमा हात्तीपाइले निवारण गर्ने भनिए पनि बागलुङ जस्ता निवारण नभएका १२ जिल्लाका कारण यो अभियान बढाएर २०२८ सम्म पुर्‍याइएको बताए ।

हात्तीपाइले निवारण नहुनुका कारण अध्ययन गर्ने क्रममा गत वर्ष औषधि सेवन नगर्ने मध्ये ५९.८ प्रतिशतले प्रतिअसरको डरले औषधि नखाएको तथ्याङक संकल गरिएको शर्माको भनाइ छ । सन् २०१० बाट शुरु भएको हात्तीपाइले निवारण अभियानमा शुरुको वर्ष ८० प्रतिशतले औषधि सेवन गरेका थिए तर पछिल्लो अभियानमा यो घट्दै गएको र २०२० मा पुनः ८७.५ प्रतिशतले औषधि सेवन गरेको जनाइएको छ ।

औषधि सेवन नगर्ने संख्यालाई १०० प्रतिशत मान्दा ५९.८ प्रतिशतले प्रति असरको डरले औषधि नखाएको, १९.६ ले आवश्यक नभएको भन्दै नआएको, ७.६ प्रतिशतले औषधि खुवाउन नआएको वा थाहा नपाएको, ११ प्रतिशतले चेतना नभएर र २.१ ले धेरै औषधि भएको कारण देखाउँदै औषधि नखाएको बताएका थिए ।

यसरी गरिन्छ हात्तीपाइले निवारण
पाँच वर्ष लगातार हात्तीपाइलेको औषधि खुवाइसकेपछि नमुना परीक्षण हुन्छ, उक्त नमुना परीक्षणमा जम्मा नमूना संख्याको दुई प्रतिशतभन्दा कम पोजेटिभ आएमा निवारण हुन्छ । नत्र दुई वर्ष पुनः अभियान चलाउनुपर्ने हुन्छ । बागलुङमा भने तीन पटकसम्म नमूना परीक्षण गर्दा हात्तीपाइले निवारण नभएको पाइएका कारण चौथो पटकको नमूना संकलन  गर्दा समेत १० जनामा पोजेटिभ भेटिएको थियो ।

जिल्लाको बागलुङ नगरपालिका-१४ नारायणस्थानमा पटक–पटक हात्तीपाइलेको जीवाणु भेटिँदा सिङ्गो जिल्लाभर औषधि खुवाउनुपर्ने अवस्था आएको स्वास्थ्यकर्मीको भनाइ छ । संक्रमण एक प्रतिशतभन्दा कम भएमा जनस्वास्थ्य समस्याको रूपमा नलिने र निवारणको मान्यता दिने प्रचलन रहेकोमा त्यो हुन नसकेकाले बागलुङमा १२औं पटक हात्तीपाइले अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको हो ।

हात्तीपाइले विरुद्धको औषधि सेवनमा नागरिकको बेवास्ता, लगातार औषधि नखानु र लामखुट्टेको प्रकोपका कारण निरन्तररूपमा अभियान चलाइराख्नु परेको र जबसम्म निवारण हुँदैन तबसम्म सबैले औषधि खानुपर्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख गुरौँले बताए ।

विश्वका धेरै देशमा अभियान सफल भएर हात्तीपाइले निवारण भइसके पनि नेपालमा भने यो समस्याले केही सकस बनाएको छ । हात्तीपाइले आफूले मात्र औषधि खाएर जोखिमबाट पूर्णरूपमा बँच्न सकिँदैन । अरु कसैलाई हात्तीपाइले छ र उसलाई टोकेको लामखुट्टेले टोकेमा पनि हात्तीपाइले हुन सक्ने स्वास्थ्यकर्मी बताउँछन् । बागलुङमा दुई लाख ६४ हजार ८ सय ३६ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने स्वास्थ्य कार्यालयले जनाएको छ । अभियानमा दुई वर्षमुनिका बच्चा र गर्भवतीलाई औषधि खुवाइने छैन ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *