सप्तरी प्रिमियर लिगमा खडक वारियर्स र तिलाठी कोईलाडी विजयी – Nepal Press

सप्तरी प्रिमियर लिगमा खडक वारियर्स र तिलाठी कोईलाडी विजयी

जनकपुरधाम । सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत बुधबार सम्पन्न दुइ खेलमा बजाज खडक वारियर्स र तिलाठी कोईलाडी जायन्टसले जित हात पारेका छन् । पहिलो खेलमा विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्सलाई ८९ रनको विशाल अन्तरले पराजित गरेको हो ।

राज रंगशालामा सम्पन्न खेलमा बजाज खडक वारियर्सले दिइएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा रुपनी राईडर्सले १७ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०५ रन मात्र बनाउन सक्यो । लक्ष्य पछ्याउने क्रममा रुपनीको लागि फिर्दोश अन्सारीले सर्वाधिक ५४ रन बनाए । जुन क्रममा ३४ बलमा आठ चौका र दुइ छक्का प्रहार गरे । सुनिल धमलाले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

माथिल्लो क्रममा ब्याटिंग गरेका लोकेश बम, कप्तान कुशल भुर्तेल र निरज मुखिया खाता नखोली आउट भए । वारियर्सको बलिंङमा गोमानंद अमात्यले सर्वाधिक ३ विकेट लिए । जुन क्रममा तीन ओभरमा १५ रन खर्चिए । अनिल खरेल र विवेक यादवले समान दुइ विकेट तथा भुलावन सहानी र पवन सर्राफले समान एक विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको वारियर्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ९४ रन बनाएको थियो । वारियर्सको लागि राष्ट्रिय क्रिकेटर समेत रहेका अनिल शाहले लगातार दोस्रो शतक प्रहार गर्ने क्रममा सर्वाधिक एक सय १३ रन बनाए जुन क्रममा ६४ बलमा १२ चौका र सात छक्का प्रहार गरे ।

अनिलले अघिल्लो खेलमा बोदे बर्साईन थन्डर्स बिरुद्ध पनि शतक बनाएका थिए । उनले अर्धशतक ४४ बलमा पुरा गरेपछि अर्को १६ बलमा अर्थात् ६० बलमा शतक पुरा गरेका थिए । शतक पुरा गरेपछि उनलाई फिर्दोश अन्सारीले क्याच आउट गराए ।

वारियर्सको लागि कप्तान यादवले पनि आक्रामक ब्याटिंग गर्दै अविजित अर्धशतक बनाए । उनले मात्र २३ बलमा चार चौका र चार छक्का प्रहार गरे । अनिल र विवेकले तेस्रोे विकेटको लागि मात्र ५४ बलमा एक सय ३८ रनको साझेदारी गरेका थिए ।

रुपनि राईडर्सको बलिंगमा अनिल यादवले दुइ विकेट लिए भने फिर्दोश अन्सारी र कुशल भुर्तेलले समान एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच अनिल शाह चुनिए ।

दिनको दोस्रो खेलमा दिपेन्द्र ऐरी कप्तानीको जायन्टसले मेहबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजलाई चार विकेटले पराजित गर्यो । टिभीएस किंग्स राजविराजले दिएको एक सय ४५ रनको लक्ष्य तिलाठी कोईलाडीले ६ विकेट गुमाएर १५ दशमलव एक ओभरमा पुरा गर्यो ।

तिलाठी कोईलाडीको जितमा राशिद खानले अविजित अर्धशतक बनाउने क्रममा ६५ रन बनाए । जुन क्रममा २९ बलमा दुइ चौका र आठ छक्का प्रहार गरे । दिपेश कंडेलले १५ बलमा दुइ चौका र दुइ छक्का प्रहार गर्दै अविजित ३० रन बनाए । सन्तोष कार्कीले १८ रन बनाए । राशिद र दिपेशले सातौँ विकेटको लागि अविजित ८७ रनको साझेदारी गरे ।

टिभीएस किंग्सको बलिंगमा दिनेश अधिकारी र मेहबुब आलमले समान दुइ विकेट तथा रोहित सिंह र सुरज कुर्मीले समान एक विकेट लिए । यस अघि टस जितेर ब्याटिंग गरेको टिभीएस किंग्स राजविराजले १८ दशमलव चार ओभरमा सम्पूर्ण विकेट गुमाएर एक सय ४४ रन बनाएको थियो ।

टिभीएस किंग्सको लागि कप्तान मेहबुब आलमले सर्वाधिक अविजित ७८ रन बनाए जुन क्रममा ४६ बलमा तीन चौका र नौ छक्का प्रहार गरे । सुरज कुर्मीले १४ रन तथा अमल दासले ११ रन बनाए ।

तिलाठी कोईलाडीको बलिंगमा राशिद खान र दिपेश कंडेलले समान तीन विकेट, कप्तान दिपेन्द्र ऐरीले दुइ विकेट तथा मनिष मण्डलले एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच राशिद खान चुनिए ।

प्रतियोगिता चौथो दिनको खेल समाप्तिपछि समान तिन खेलमा दुई जित र एक हार बेहोरेका वारियर्स, रुपनी राईडर्स र तिलाठी कोईलाडी क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन् । एक जित हात पारेको टिभीएस किंग्स चौथो र जितविहिन बोदे बर्साईन थन्डर्स पाँचौ स्थानमा रहेको छ ।

लिग अन्तर्गत बिहिबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान नौ बजे टिभीएस किंग्स राजविराज र रुपनी राईडर्स तथा दिउसो एक बजे सुरु हुने खेलमा बोदे बर्साईन थन्डर्स र तिलाठी कोईलाडीले प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *