सातै प्रदेशमा एमालेको नयाँ टिम, डढेलोपछि पलाएका पालुवा नमास्ने ओलीको उद्घोष – Nepal Press

सातै प्रदेशमा एमालेको नयाँ टिम, डढेलोपछि पलाएका पालुवा नमास्ने ओलीको उद्घोष

सात प्रदेशका २१ पदाधिकारीमध्ये माओवादीका ४ जना समेटिए

काठमाडौं । माधव नेपाल पक्षले २०७५ जेठ २ गतेअघिको अवस्थामा पार्टीका सबै संरचना फर्काउनुपर्ने सर्त राखिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीका सातै प्रदेशका सारथीहरूले आफ्नो काम थालिसकेका छन् ।

माधव नेपाल पक्षले फागुन २८ को निर्णय खारेज गर्नुपर्ने भनेको थियो । तर, अध्यक्ष ओलीले फागुन २८ बाट पनि अघि बढेर चैत ७ गते गरेको कार्यविभाजन गरेसँगै अब एमालेमा माधव पक्षसँग सम्झौताको सम्भावना सकिएको छ ।

एकातिर माधव नेपालसहितका नेताहरूलाई कारवाहीको तयारीका लागि स्पष्टीकरण सोधिएको छ भने अर्कोतिर सातै प्रदेशमा एमालेले इन्चार्ज,अध्यक्ष र सचिवसहित सांगठानिक गतिविधि अघि बढाएको छ ।

ओलीले पुस ५ गतेपछि आफूलाई प्रचण्ड-माधव पक्षले पार्टी सदस्यबाट समेत हटाएका बेला साथ दिएका नेता कार्यकर्ता र कमिटीहरू नचलाउने प्रष्ट संकेत गरिसकेका छन् ।

नेपाल प्रेससँगको अन्तर्वार्तामा ओलीले भनेका छन्, ‘उहाँहरूले छोडेपछि पार्टी बचाउने पंक्ति त रहेछ । त्यो कमिटी पार्टी बचाउन बसेको स्वयम्भु हो । जब-जब पार्टी संकटमा पर्छ तब हामी छौं भनेर उठेका कार्यकर्ता स्वयम्भु बनेर आएका छन् र ती रहन्छन् । पार्टीमा डढेलो लागेका बेला उम्रेका बिरुवा मासेर फेरि सुकेका ठेउकाहरू लगेर गाड्छ कसले त्यहाँ ?

ओलीले यसबीचमा बनेका कमिटीहरू विस्थापित गरेर माधव नेपाल पक्षका मान्छे व्यवस्थापन गर्ने कुनै सम्भावना नरहेको निकट स्रोतले जनाएको छ । कमिटीहरू पुनर्गठन नभइसकेका ठाउँमा समायोजन गर्नेसम्मको लचकता अपनाउन सकिने ओलीनिकट नेताहरू बताउँछन् ।

नेकपा विभाजनपछि ओलीले गठन गरेको जम्बो केन्द्रीय कमिटीका सदस्यहरूलाई राष्ट्रिय प्रतिनिधि परिषद्‍मा समेट्ने तयारी भइरहेको छ । एमालेमा प्रतिनिधि परिषद् एमालेको केन्द्रीय कमिटी र महाधिवेशनबीचको संयन्त्र हो ।

प्रदेशमा पनि ओलीले धेरै सम्झौता गर्ने सम्भावना छैन । २०७५ जेठअघि तत्कालीन एमालेमा प्रदेश कमिटीका अध्यक्ष र सचिव थिएनन् । संयोजक र सहसंयोजकको व्यवस्था गरिएको थियो ।

यसबीचमा नेकपा बनेपछि इन्चार्ज, सहइन्चार्ज,अध्यक्ष र सचिवको व्यवस्था गरिएको थियो । एमाले पुनःस्थापनासँगै ओलीले सातै प्रदेशमा इन्चार्ज, अध्यक्ष र सचिवको चयन गरिसकेका छन् । हालै सम्पन्न बैठकले गरेका ती पदाधिकारी नै अब अर्को महाधिवेशनसम्म आधिकारिक हुने एमालेले जनाएको छ ।

जस अनुसार प्रदेश १ को इन्चार्ज सुवास नेम्वाङ भएका छन् भने अध्यक्ष देवराज घिमिरे र सचिव विनोद ढकाल छन् । घिमिरे साबिक नेकपामा पनि प्रदेश अध्यक्ष थिए भने ढकाल केन्द्रीय सदस्य तथा विद्यार्थी सहइन्चार्ज ।

प्रदेश २ को इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेल साबिक नेकपाकै टिम एमालेको प्रदेश कमाण्डमा रुपान्तरित बनेको छ । साह माओवादीबाट एमाले भएका हुन् ।

वागमतीको भने टिम नै परिवर्तन भएको छ । इन्चार्ज रामवहादुर थापा बादल छन् भने अध्यक्षमा आनन्द पोखरेल र सचिव खेम लोहनी बनेका छन् । पोखरेल साबिक नेकपामा सचिव थिए ।

गण्डकीमा इन्चार्ज पृथ्वीसुब्बा गुरुङ र सचिव गोविन्द नेपाली यथावत रहेका छन् भने अध्यक्षमा जगत विश्वकर्मा चयन भएका छन् ।

त्यस्तै लुम्बिनीमा इन्चार्ज शंकर पोखरेल, अध्यक्ष लिला गिरी र सचिव खेममान खड्का छन् । गिरी पुस ५ मा नेकपा फुटेपछि तत्कालिन ओली पक्षले अध्यक्ष चयन गरिसकेको थियो । उनलाई नै एमालेको अध्यक्ष बनाइएको छ भने राष्ट्रियसभा सदस्य खेममान खड्का सचिव बनेका छन् ।

कर्णालीमा इन्चार्ज यमलाल कँडेल बनेका छन् । अध्यक्ष भने केपी ओली पक्षकै रहे पनि गोरख बोगटीलाई सहइन्चार्ज बनाएर उनको ठाउँमा गुलावजंग शाहलाई अध्यक्ष बनाइएको छ । सचिवमा माओवादीका प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई बनाइएको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशको इन्चार्ज माओवादीबाट एमाले बनेका लेखराज भट्ट छन् भने अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्रसिंह रावल चयन भएका छन् । अब यी प्रदेश कमिटीहरूले जिल्लाको बाँकी पुनर्गठन गर्ने भएका छन् ।

एमाले माओवादी एकीकरण हुनुअघि प्रदेश १ को संयोजक भीम आचार्य थिए । प्रदेश २ मा सत्यनारायण मण्डल, वागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा किरण गुरुङ, लुम्विनीमा विष्णु पौडेल, कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशको संयोजक भीम रावल थिए ।


प्रतिक्रिया

One thought on “सातै प्रदेशमा एमालेको नयाँ टिम, डढेलोपछि पलाएका पालुवा नमास्ने ओलीको उद्घोष

Leave a Reply to Chiran jibi Cancel reply

Your email address will not be published. Required fields are marked *