कैलालीमा पुन: फैलँदै कोरोना संक्रमण, भारतबाट फर्कनेको संख्या बढ्यो – Nepal Press

कैलालीमा पुन: फैलँदै कोरोना संक्रमण, भारतबाट फर्कनेको संख्या बढ्यो

कैलाली । धनगढीको कोरोना अस्पतालमा फेरि बिरामीको चाप बढ्न थालेको छ । सोमबार एक जना र मंगलबार थप दुई जना बिरामी सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा भर्ना भएका छन् ।

भारतबाट आएका कञ्चनपुर पुनर्वास नगरपालिका-५ का ५४ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका-१ का ५० वर्षीय पुरुष, धनगढी उपमहानगर-३ का ४४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कञ्चनपुरका पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो भने धनगढीका-२ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरू तीनै जनालाई हाल आइसियुमा राखिएको छ ।

परीक्षणको मात्रा बढ्यो
अहिले सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षणको मात्रा पनि बढेको छ ।  मंगलबार  ३१ जनाको कोरोना परीक्षण  गरिएको छ ।

‘केही दिनअघिसम्म दैनिक १५ देखि २० जनासम्म परीक्षण भइरहेको थियो । तर, मंगलबारबाट परीक्षणको संख्या बढेको छ,’ सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले भने, ‘अहिले हामी पनि पूर्व तयारीमा छौं ।’

अस्पतालमा अहिले तीन जनाको उपचार भइरहेको छ । जहाँ १० शय्याको आइसियु र ५ भेन्टिलेटर रहेका छन् ।

भारतबाट फर्किनेहरू बढे
धनगढी उपमहानगरपालिका-३ की भावना ऐर भारतको मुम्बईबाट मंगलबार स-परिवार नेपाल आइन् । मुम्बईमा कोरोनाको दोस्रो लहर शुरु भएपछि उनी नेपाल फर्किएकी हुन् ।

‘मुम्बईमा धेरै त्रास छ । बाहिर निस्कन पनि हामीलाई डर लाग्छ । यसकारण सुरक्षित भइन्छ भनेर हामी घर आएका हौँ,’ उनले भनिन् ।
नेपालबाट रोजगारीका लागि भारत पलायन भएकाहरू कोरोनाका संक्रमण र लकडाउनका कारण पुन नेपाल फर्किन थालेका हुन् ।

‘माघमा गएको थिएँ । फागुनमा काम गरेँ । चैत्रमा लकडाउन शुरु भयो,’ अछामका राजेन्द्र साउदले भने, ‘कोरोनाको त्रास बढेपछि काम पनि बन्द भयो त्यसैले घर फर्किएँ ।’

पछिल्लो २४ घण्टामा भारतमा थप ४७ हजार २ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ भने थप २ सय ७७ जनाको मृत्यु भएको छ । भारतमा दोस्रो चरणको कोरोना फैलिएसँगै कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट अहिले प्रत्येक दिन सयौं नेपालीहरू घर फर्किरहेका छन् ।

गौरीफन्टा नाकामा स्थापना गरिएको कोभिड-१९ परामर्श तथा परीक्षणमा खटिएका गणेश साउद पछिल्लो केही दिनयता नेपाल फर्किनेहरूको संख्या ह्वात्तै बढेको बताउँछन् ।

‘अहिले भारतबाट आउने क्रम दिन प्रतिदिन बढिरहेको छ । प्रत्येक दिन अहिले ४ सयको हाराहारीमा नेपाल आइरहेका छन्,’ उनी भन्छन् ।
अहिले भारतको महाराष्ट्र र उत्तर प्रदेशबाट आउनेहरू बढिरहेको उनी बताउँछन् ।

महाराष्ट्र र उत्तर प्रदेशमा कोरोना संक्रमित बढिरहेका छन् । त्यही डरले नेपाल फर्किनेहरू बढेका हुनसक्ने साउदको अनुमान छ ।
अहिले सीमा क्षेत्रमा सामान्य परीक्षणको व्यवस्था गरिएको छ । त्यसमा लक्षण देखिएको वा शंका लागेकाहरूलाई पिसीआर परीक्षण गर्ने बताइएको छ । तर, त्यो पनि प्रभावकारी हुन सकेको छैन ।

भारतको संक्रमित क्षेत्रबाट आएकाहरूलाई सोझै घर पठाउँदा समस्या हुन सक्ने देखिएको छ । धनगढी उपमहानगरपालिकाले भने उनीहरूलाई १० दिन सम्म क्वारेन्टिनमा राखेर घर पठाउने विषयमा छलफल थालेको छ ।

‘हामीले १० दिन सम्म यहाँ राखेर पठाउने विषयमा छलफल थालेका छौं,’ स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले भने, ‘तर अहिले सम्म त्यसो गरेका भने छैनौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर