घुस मागेको रेकर्ड गर्न खोज्दा सेवाग्राहीमाथि निर्घात कुटपिट – Nepal Press
नापी कार्यालय जनकपुर

घुस मागेको रेकर्ड गर्न खोज्दा सेवाग्राहीमाथि निर्घात कुटपिट

प्रहरीसँगको मिलेमतोमा जबरजस्त मिलापत्र

जनकपुरधाम । कर्मचारीले सेवाग्राहीसँग हाकाहाकी घुस माग्छन् । कर्मचारीले घुस मागेको सेवाग्राहीले मोबाइलमा रेकर्ड गर्न खोज्छन् । रेकर्ड गर्न खोजेको थाहा पाएपछि मोबाइल खोसेर कर्मचारीले सेवाग्राहीलाई निर्घात कुटपिट गर्छन् ।

यो घटना शुक्रबार जनकपुरको नापी कार्यालयमा भएको हो । धनुषाको सबैला नगरपालिका १२ का ४० वर्षीय अरुणप्रसाद गामीलाई नापी कार्यालयका सूचना अधिकारी दिलिप साहले कुटपिट गरेका हुन् ।

साहको कुटपिटबाट घाइते भएका गामी भागेर नजिकैको सशस्त्र प्रहरीको क्याम्पमा पुगे । प्रहरीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सुझायो । उनी जिल्ला प्रशासन कार्यालय गए ।

जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन सुझाव दिए । गामीले जिल्ला प्रहरी कार्यालयमा साहविरुद्ध उजुरी दिए ।

प्रहरीको मुद्दा शाखाले छलफलका लागि कर्मचारी साहलाई आइतबार हाजिर हुन पत्र काट्यो । पीडित सेवाग्राही गामीलाई पनि आउन भनियो ।

पीडित सेवाग्राही गामी आइतबार पुग्दा कर्मचारी साह दर्जनौं कर्मचारीलाई लिएर प्रहरी कार्यालय पुगे । प्रहरी अधिकारीले उल्टै पीडित गामीलाई थर्काए । प्रहरीको भनाइ थियो, ‘अनुमतिबिना कसैको आवाज मोबाइलमा रेकर्ड गर्न पाइँदैन ।’ उनलाई प्रहरी र कर्मचारीले थुन्नेसम्मको धम्की दिएर मिलापत्र गरायो ।

नेपाल प्रेससँग पीडित गामीले भने, ‘जबरजस्ती मिलापत्र गराइयो । साहलाई माफी माग्न लगाएर मेरो मोबाइल फिर्ता दिए ।’

गामीले साह र प्रहरीले मिलेमतोलाई आफूलाई जबरजस्त मिलापत्रमा हस्ताक्षर गर्न लगाएको गुनासो गरेका छन् । उनी भन्छन्, ‘आज मसँग घुस माग्यो । रेकर्ड गर्न खोज्दा कुटपिट गर्यो । तर कारबाही भएन भने भोलि अन्य सेवाग्राहीसँग पनि त्यस्तै व्यवहार गर्छन् । त्यसैले म न्यायका लागि प्रहरीमा पुगे । तर मेरो कुरै सुनिएन ।’

जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाले घटना लुकाउने प्रयास गरेको छ । प्रवक्ता तथा डिएसपी मकेन्द्र मिश्रसँग घटनाबारे बुझ्न खोज्दा घटनाबारे थाहा नभएको प्रतिक्रिया दिए । डिएसपी मिश्रले भने, ‘मलाई थाहा भएन यो विषयमा । तपाईहरु नै यर्थात के हो लेख्नुस् ।’

घटनाबारे बुझ्न नापी कार्यालय पुग्दा कर्मचारी साह भेटिएनन् । कार्यालय प्रमुख सुमन किशोर मिश्रको कार्यकक्ष पुग्दा उनी पनि थिएन ।
कर्मचारी साहलाई फोन गरेर बुझ्दा उनले शुक्रबार कुनै घटना नै नभएको दावी गरे । उनले कसैको मोवाइल पनि नखोसेको र घुस पनि नमागेको बताए । उनले भने– सेवाग्राहीले मोबाइलै फालेर चाहिँ हिँडेका हुन् ।

यसरी भयो घटना

गाउँ ब्लकको जग्गासम्बन्धी मुद्दामा गामी तीन वर्षदेखि तारिक लिन नापी कार्यालय धाइरहेका छन् । उनी शुक्रबार तारिक लिन पुग्दा कर्मचारीले आनाकानी गरे । उनलाई कर्मचारीले नापी प्रमुखसँग कुरा गर्न भने । तर प्रमुख कार्यालयमा थिएनन् । लगत्तै कर्मचारी साहले उनलाई भेटेर घुस मागेका थिए ।

२ लाख रुपैयाँ घुस मागेको रेकर्ड गर्न खोज्दा कर्मचारी साहले कुटपिट गर्नुका साथै मोबाइल खोसेको गामी बताउँछन् । उनले भने, ‘अन्य कर्मचारीलाई बोलाएर मलाई कुटपिट गर्न थाले । अनि नजिकैको सशस्त्र प्रहरीको क्याम्पमा पुगेर ज्यान जोगाएँ ।’

गामी विगत तीन वर्षदेखि नापी कार्यालय धाइरहेका छन् । गामीको घर भएको जग्गामाथि मुद्दा परेको छ । जिल्ला अदालतबाट नाप नक्सा र सर्जमिन भइसकेको उक्त जग्गाको विवाद नापी कार्यालयले सुल्झाएको छैन । तत्कालीन रघुनाथपुर गाविस र अहिलेको सबैला गाउँपालिकाले जग्गामा उनकै स्वामित्वका लागि सिफारिस गरिसकेको छ । तर नापी कार्यालयले मुद्दा फैसला गरेको छैन । गामी भन्छन्, ‘सबै प्रमाण पेश गर्दा पनि कर्मचारीहरु घुस माग्छन् ।’

उनले करिब २ कट्ठा जग्गाको स्वामित्वका लागि अदालत र नापीसँगै अन्य सरोकारवाला निकाय धाउँदा करिब १० लाख रुपैयाँ सकिसकेको बताए ।

उनले प्रमाणलाई समेत वास्ता नगरी कर्मचारीले मुद्दा लम्ब्याउँदा हैरान भएर गत माघ २६ गते नापी कार्यालयविरुद्ध उच्च अदालत जनकपुरमा रिट दायर गरेको बताए । उनले भने, ‘उच्च अदालतमा रिट हालेका कारण पनि नापीका कर्मचारी रिसाएका छन् । साहले मलाई रिट निवेदन फिर्ता लिन दवाव दिएका थिए ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर