पौडेल पक्ष छलफलमा बसिरहँदा देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक – Nepal Press

पौडेल पक्ष छलफलमा बसिरहँदा देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै भेला राखेर दबाब बढाएपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । पौडेल निवास बोहराटारमा उनीनिकट नेताहरूको छलफल भइरहँदा सभापति देउवाले सोमबार २ बजे बस्नेगरी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक आह्वान गरेका छन् ।

पौडेल पक्षको बैठकमा पछिल्लो राजनीतिक परिवेशमा कांग्रेसले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल भएको थियो । वरिष्ठ नेता पौडेलले कांग्रेस अनिर्णित भएका कारण सरकारको स्वेच्छाचारिता बढ्दै जाने खतरा रहेको बताए ।

नेता पौडेलले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा पार्टीले अन्य दलसंग परामर्श थाल्नुपर्ने धारणा राखेका थिए । सभापति देउवाले कुनै कदम नचाल्दा कांग्रेसपनि ओली सरकारकै सहयोगीजस्तो देखिएको भन्दै पौडेलले आलोचना गर्दै आएका छन् ।

‘राजनीतिक विषयमा पार्टीलाई अनिर्णित राख्न मिल्दैन । सरकारबारे कांग्रेसको धारणा प्रष्ट गरेर जानुपर्छ भन्ने कुरा उठेको छ । पदाधिकारी बैठक बोलाइएको छ । अब त्यही छलफल गर्छौ’, बोहराटार बैठकमा सहभागी एक नेताले भने ।

बैठकमा माओवादी र जसपासँग मिलेर कांग्रेसले नयाँ सरकार गठनको पहल गर्नुपर्ने विषयमा छलफल भएको थियो । ‘हाम्रो नेतृत्वमा सम्भव भए हाम्रै नेतृत्वमा नभएपनि ओली सरकारको विकल्पमा नयाँ सरकार बनाउनुपर्छ भन्नेसम्मको कुरा उठेको छ’, ती नेताले नेपाल प्रेससँग भने ।

कांग्रेसमा सभापति देउवा वैकल्पिक सरकार गठनका लागि हतारिने मनस्थितिमा छैनन् । नेकपा एमालेको विवादको परिणाम नआइसकेको र जसपाभित्र विवाद रहेकोले वैकल्पिक सरकार बनाउन बहुमत नपुग्ने देउवाको आँकलन छ ।

पौडेल पक्षले भने ओलीको विकल्पमा उभिने निर्णय गरेर बहुमतका लागि प्रयत्नसमेत नगरेको भन्दै नेतृत्वको आलोचना गर्दै आएको छ ।

बोहराटार बैठकमा पार्टीको महाधिवेशन कार्यतालिका पूर्ण कार्यान्वयन, क्रियाशील सदस्यता र समायोजन विवाद लगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर