निर्णायक खेलमा ३६ रनको जितसहित इंग्ल्याण्डबिरुद्धको शृंखला भारतलाई – Nepal Press

निर्णायक खेलमा ३६ रनको जितसहित इंग्ल्याण्डबिरुद्धको शृंखला भारतलाई

एजेन्सी । पाँचौं तथा अन्तिम खेलमा ३६ रनको जितसँगै इंग्ल्याण्डबिरुद्धको ट्वान्टी–२० क्रिकेटको शृंखला भारतले ३–२ ले जितेको छ ।

शनिबार नरेन्द्र मोदी रंगशाला मोटेरामा भएको खेलमा २ सय २५ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा १ सय ८८ रनमात्र बनाउन सक्यो । इनिङ्सको दोस्रो बलमै ओपनर जेसन रोयलाई गुमाएको इंग्ल्याण्डका लागि डेभिड मलान र लस बटलरले दोस्रो विकेटका लागि १ सय ४० रनको साझेदारी गरी भारतलाई दवावको स्थितिमा पु¥याएका थिए ।

तर मध्य र पुच्छारक्रमका ब्याट्सम्यानहरु चल्न नसक्दा इंग्ल्याण्डको रन गति रोकिन पुग्यो भने लगाता विकेट झर्न सुरु भयो । भारतका लागि भुवनेश्वर कुमारले २ तथा सार्दुल ठाकुरले ३ विकेट लिए । हर्दिक पण्ड्या र थांगारासु नटराजनले १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको भारतले शीर्ष क्रमका ब्याट्सम्यानहरु रोहित शर्मा र विराट कोहलीको सानदार अर्धशतक सहयोगमा २ विकेटको क्षतिमा २ सय २४ रनको योगफल खडा गरेको थियो । इंग्ल्याण्डबिरुद्ध ट्वान्टी–२० मा भारतले बनाएको सबैभन्दा उच्च योगफल हो ।

ओपनर रोहितले ३४ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ६४ रनको स्कोर बनाए । उनले कोहलीसँग मिलेर ९४ रनको सुरुआती साझेदारी गरेका थिए । त्यसपछि आएका सूर्यकुमार यादवसँग मिलेर कोहलीले दोस्रो विकेटका लागि ४९ रनको साझेदारी गरे ।

सूर्यकुमार १७ बलमा ३२ रन बनाएर आउट भएपछि आएका हार्दिक पण्ड्यासँग मिलेर कोहलीले ८१ रनको अविजित साझेदारी गरे । ५२ बलमा ७ चौका र २ छक्का प्रहार गरेका कोहली ८० रनमा अविजित रहे, हार्दिकले पनि १७ बलमा अविजित ३९ रन जोडे ।

शृंखलाको सुरुआती खेल गुमाएको भारत दोस्रो खेल जितेको थियो । तेस्रो खेल पुनः पराजित रही २–१ ले पछि परेको थियो । त्यसयता दुवै खेलमा शानदार जितका साथ शृंखला जितेको हो । पाँच खेलमध्ये तीन खेलमा अर्धशतकीय इनिङ्स खेलेका भारतीय कप्तान कोहली म्यान अफ द सिरिज चुनिए ।

चार टेष्ट, पाँच ट्वान्टी–२० र तीन एकदिवशीयका लागि भारत भ्रमणमा रहेको इंल्ग्याण्डले टेष्ट र ट्वान्टी–२० मा शृंखला गुमाएको छ । एकदिवशीय शृंखला मंगलबारदेखि सुरु हुनेछ । एकदिवशीय शृंखलाका खेलहरु पुनेमा खेलाइनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *