भारत लैजाँदै गरेका दुई किशोरीको सीमा क्षेत्रबाट उद्दार – Nepal Press

भारत लैजाँदै गरेका दुई किशोरीको सीमा क्षेत्रबाट उद्दार

रुपन्देही । रोजगारीको प्रलोभन देखाएर भारत लैजाँदै गरेका दुई किशोरीको कपिलवस्तुको कृष्णनगर सीमा क्षेत्रबाट उद्दार भएको छ । कपिलवस्तु र दाङका १७ र १८ वर्षका दुइ जना किशोरीलाई आफन्त नेपाल र नेपाल प्रहरीको टोलीले उद्दार गरेको हो ।

नेपालबाट भारत लैजान खोज्दा सोधपुछ गरिएको र उनीहरुले मासु लिन जान लागेको बहाना बनाई सीमा क्षेत्र पार गर्न खोज्दा शंका लागेपछि उनीहरुलाई उद्दार गरिएको आफन्त नेपालका क्षेत्रीय संयोजक केशर विश्वकर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

‘सीमा क्षेत्रमा हाम्रा साथीले शंकास्पद अवस्थाका किशोरीलाई देखेपछि सोधखोज गरेको र सुरुमा भारतीय बजारमा मासु लिन जान लागेको भनेपछि उनीहरुलाई शंकाको घेरामा राख्नुभयो, पछि उनीहरुलाई लिएर जाँदै गरेका महिलाको मोबाइलमा बारम्बार भारतीय नम्बरबाट कल आएपछि अझ बढी शङ्कास्पद देखिँदै गएकोले अनुसन्धान गर्दै जाँदा उनीहरु बेचिन लागेकाले उद्दार गरेका हौं ।’ विश्वकर्माले भने ।

कपिलवस्तुको बिजयनगर गाउँपालिका पाँच डालपुर बस्ने रेनु सुनारले ती किशोरीलाई भारतको बैंङलोरमा डान्स गराउने उद्देश्यले लैजान लागेको खुल्न आएको छ । सुनारलाई भारतीय नागरिकले बारम्बार फोन सम्पर्क गरी गोरखपुरसम्म लिन आएको पाइएको विश्वकर्माले बताए । उद्दार गरिएका ती किशोरीलाई आफन्त नेपालको सुरक्षित आवास गृहमा राखिएको छ । किशोरीलाई सोधपुछ र अनुसन्धानपछि डान्स बारका लागि दिनको दुइ हजार भारतीय रकम दिने प्रलोभनमा पारी लिन खोजेको देखिएको छ ।

महिलालाई मानव बेचबिखन तथा ओसारपसार ऐन अन्तरगत मुद्दा दर्ता गरी जिल्ला अदालत कपिलवस्तुवाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक (इन्सपेक्टर) सुकदेव पौडेलले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार सीमा क्षेत्रमा विभिन्न संस्थाको सहकार्यमा मानव बेचबिखन हुने कामलाई रोक्न अनुसन्धानलाई कडाई गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर