नेकपा मर्दा मलामी जाने कोही भएनन्, नेता कार्यकर्ता नाचें, लड्डु खाएः नेता थापा (भिडियो) – Nepal Press

नेकपा मर्दा मलामी जाने कोही भएनन्, नेता कार्यकर्ता नाचें, लड्डु खाएः नेता थापा (भिडियो)

सुर्खेत । नेपाली काँग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले नेकपालाई मृत घोषणा गर्दा नेकपाको मलामी जाने नेपाली कम्युनिष्टमा कोही पनि नेता नभएको बताएका छन् । नेपाली काँग्रेस जिल्ला कार्य समिति सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेता थापाले यस्तो बताएका हुन् ।

आफु संसदमा भर्‍याङ चढदै गर्दा सर्वोच्चको फैसला आएको र त्यसबाट आफू दुखी भएको बताए । ‘मैले यसो वरिपरी हेरें । नेकपा पार्टीको मृत्यू भएको छ । म त शोक वक्तव्य पो प्रकट गर्दैछु । मैले शोक वक्तव्य प्रकट गर्दा गर्दै पनि नेकपाको मलामी जाने कोही भेटिएनन् ।’

उनले थप्दै भने ‘शोकगीत बजाउनुपर्नेमा लोकगीत बजाएको छ । कोही नाचेको छ, कोही लड्डु बाँडेको छ । नेकपा सकियो भनेको दिन कोही रोयो ? कोहि दंग परेको छ त कोहि खुशी भएको छ, कसैले माला लगाएको छ । काेहि नाचेको छ, बद्री पंगेनीको मै पनि एमाले सै पनि एमाले भन्ने गीत तछाड मछाड गरेर गाएर माधव नेपाल संसद छिर्नुभयो । त्यसपछि ओलीले एकपटक हकारेर पठाएपछि प्यालेस जानु भएको छ । उता आएको छ, यता आएको छ उनको बारेमा चिन्ता नगरौं ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगलाई खल्तीका रुपमा प्रयोग गरिरहेको आरोप लगाए । ‘निर्वाचन आयोगदेखि अन्य संवैधानिक आयोग ओलीका दाँया र बाँया खल्ती भएका छन् । सरकारी आयोगलाई, अड्डा अदालतलाई उनले सके मिलाउने नसके तर्साउने रणनीति लिइ अघि बढिरहनु भएको छ । यो गलत छ ।’ उनले भने,

‘अब काँग्रेसले सरकारको नेतृत्व गर्नुपर्छ । सरकारले कोरोनाबाट ग्रसित नागरिकलाई राहत दिन, संविधानमा ओलीले पारेका भ्वाङ्ग पुर्न र निष्पक्ष चुनाव गराउन काँग्रेस सरकारमा जानै पर्छ । यसका लागि काँग्रेसले केन्द्रीय समितिको बैठकबाटै आवश्यक निर्णय लिन आवश्यक छ ।’ उनले नेकपालाई जनताले दिएको म्याण्डेट पुरा नभएको बताउँदै अब देश सम्हाल्ने जिम्मा काँग्रेसको हातमा आएको दाबी गरे ।


प्रतिक्रिया

One thought on “नेकपा मर्दा मलामी जाने कोही भएनन्, नेता कार्यकर्ता नाचें, लड्डु खाएः नेता थापा (भिडियो)

  1. मेरो सोझो सुझाव छ:-पहिले आफ्ना खुट्टी दरो पार्नुस!बहुमत पुर्‍याउने हिम्मत छ? उखानै छ:-रोएर स्वास्नी पाइदैन!

Leave a Reply to सुशीलकुमार गौतम Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर