केपी ओलीसँग मेरो ४८ वर्ष पुरानो मायाप्रीति हो, एक रातमा तोडिँदैन : माधव नेपाल (भिडियोसहित) – Nepal Press

केपी ओलीसँग मेरो ४८ वर्ष पुरानो मायाप्रीति हो, एक रातमा तोडिँदैन : माधव नेपाल (भिडियोसहित)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टीका अध्यक्ष केपी ओलीसँग छुट्टिइहाल्ने पक्षमा नभएको बताएका छन् । आफूहरुको ‘मायाप्रीति’ ४८ वर्ष पुरानो भएको भन्दै सजिलै नतोडिने उनको भनाइ थियो ।

आज आयोजित आफ्ना गुटनिकट युवाहरुको भेलामा नेपालले लामो समय ओलीको आलोचनामा खर्चिएका थिए । त्यसका बाबजुद ओलीसँग नछुट्टिने बताए ।

नेपालले भने, ‘हामी केपी ओली विरुद्ध संघर्ष गछौं, तर उहाँसँग छुट्टिइहाल्ने पक्षमा छैनौं । केपी ओलीसँगको मेरो मायाप्रिती कहाँ एक रातमा टुट्छ ? हाम्रो मायाप्रीति ४८ वर्ष पुरानो हो । हामी एकताको हात बढाउन चाहन्छौं ।’

ओलीले वैठकका लागि फोन गरेको सन्दर्भ उनले पुन कोट्याए । आफू भएको भए फोन गर्नेभन्दा निवासमै पुगेर फकाउने उनको भनाइ थियो ।

‘म अध्यक्ष भएको भए घरमै पुगेर, ढोका खोलेर, बेड रुममा पसेर किन रिसाउनुभो भनेर गाला मुसार्ने थिएँ । फकाउन म जान्दछु नि । उहाँको काम होइन ? गार्जियनको काम नै हो फकाउने तर उहाँले त्यो गर्नुभएन’ नेपालले भने ।

अदालतको फैसलामा असन्तुष्टि

पार्टी एकताको वकालत गरेका नपालले सर्वोच्चले एमाले ब्यूँताउने गरी गरेको फैसलाको भने आलोचना गरे । सर्वोच्चले विचित्र फैसला गरेको भन्दै उनले यसलाई मान्नु आफूहरुको वाध्यता भएको उल्लेख गरे ।

नेपालले भने, ‘जन्मेको बच्चा मान्दैनौं, फेरि गर्भमा लिएर जाउ भन्नेजस्तै फैसला आयो । बच्चा जन्मिसकेको छ । नयाँ संगठन अस्तित्वमा आइसकेको छ । तर सर्वोच्चले मानेन । फैसला गलत भए पनि हामीले वाध्य भएर लागू गर्नुपर्ने भइरहेको छ ।

उनले थपे, ‘दुईवटा पार्टी मिलिसकेका छौं । निर्वाचन आयोगले वैधानिक मान्यता दिइसकेको छ । राजपत्रमा प्रकाशित भएको छ । चुनाव लडिएको छ । तर, सर्वोच्चले भन्छ पार्टीको एकता रद्द भयो । बडो विचित्रको फैसला । नाम जुध्यो भन्न सकिन्थ्यो । नाम फेरेर आउनुस भन्न सकिन्थ्यो । तर एकता नै भंग गरिदियो । हामी त्यसबारेमा बहस, छलफल गर्दै गरौंला । तर, अहिले निर्णय मान्न हामी बाध्य छौं ।’ पूर्वएमाले ब्यूँतिनुको अर्थ आफूहरु केपी ओलीमा जानु नभएको उनले अथ्र्याए।

‘यो फैसलाको अर्थ भनेको हामी ओलीमा जाने होइन, एमालमा फर्कने हो । ओली पनि एमालेमा फर्कने हो । एमालेको पुरानो संगठन ब्युँताउने हो । तर, ओलीले यसलाई मान्न तयार छैनन् । अहिले सबैभन्दा ठूलो विवादको विषय त्यही हो ।’

ओलीले पार्टीको वैठक बोलाउन पहिल्यैदेखि आनाकानी गर्दै आएको गुनासो नेपालले गरे । वैठकका लागि आफूहरुले अनुनय–विनय गर्दा पनि वैठक नडाकेको उनको भनाइ थियो ।

नेपालले सुनाए, ‘कस्तो बिडम्बना छ भने हामी वैठकका लागि अनुनय-विनय गछौंं । उहाँ उहुँ गर्नुहुन्छ । वैठक बस्दैन, तपाईंहरुले भनेर हुन्छ ? भन्नुहुन्छ । पार्टीमा पदाधिकारी नौजनामध्ये पाँच जनाले पाँच जनाले चिठी लेखेर पठाउनुपरो, म त्यसमा तोक लगाइदिन्छु रे । पार्टीमा तोक लाग्छ रु यो सरकारी अफिस हो

उनले पार्टीका सबै कमिटीहरुमा ओली अल्पमतमा रहेको दावी गरे । पदाधिकारी, पोलिटब्यूरो, स्थाइ कमिटी र केन्द्रीय समिति सबैमा आफूहरुको बहुमत रहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर