हिमाल खिच्ने हुटहुटीले आरोही – Nepal Press

हिमाल खिच्ने हुटहुटीले आरोही

अन्नपूर्ण हिमाल चढेर कीर्तिमान राख्दै पत्रकार श्रेष्ठ

पोखरा ।  फोटो पत्रकारिता थालेको थुप्रै वर्ष भइसकेका थिए । उनको क्यामेराले सबै प्रकारको फोटो पनि कैद गरिसकेको थियो । तर, उनी सन्तुष्ट भइनन् । के छुट्यो, छुट्यो लागिरहन्थ्यो ।

सन् ०१७ तिर गोरखा आरुघाटकी पूर्णिमा श्रेष्ठलाई एउटा अवसर जुर्‍यो, सगरमाथा बेस क्याम्पसम्म पुग्ने । ‘एभरेष्ट म्याराथन’को अवसरमा पहिलो पटक सगरमाथा आधार क्षेत्र पुगेकी उनले त्यहीं आफ्नो अभाव पत्ता लगाइन्, ‘अहो ! हिमालको देशको मान्छे, मसँग हिमालकै फोटो पो रहेनछ ।’

शीरै अगाडि सेताम्मे उभिएको हिमाललाई आँखा र क्यामेराले ‘पोजपोज’मा फोटो खिचिन्, कार्यथलो फर्किइन् । उनी पो फर्किइन्, मन उतै हिमालतिरै बस्यो- सगरमाथा आसपास, तिनै सेता हिमशृंखला वरिपरि…।

०००
क्यामेरामा अभाव भएको हिमालको फोटो अब श्रेष्ठको ग्यालरीमा अटाइसकेको थियो । सर्वोच्च शिखर सगरमाथाको फोटो आधार शिविरमै पुगेर पाउनु चानचुन कुरा थिएन । र, पनि उनी खुसी भइनन् ।

फेरि अर्को सपना बुनिन्, ‘सगरमाथा चढ्ने !’

जीवनमा कहिल्यै कुनै हिमाल नचढेकी श्रेष्ठलाई सगरमाथा ताक्नु आफैंमा हास्यास्पद थियो । त्यसमाथि आफ्नै नजिकका साथीहरूले पनि पत्याइदिएनन् । ‘त्यताबाट फर्किएपछि सगरमाथाचैं चढ्नैपर्छ भन्ने आँट आयो, साथीहरूलाई सुनाएको सबै हाँसिदिए,’ २०१७ को समयमा फर्किन्छिन्, ‘जानीजानी मर्न किन जान्छस् पनि भनेका थिए ।’

चिसा हिउँ छिचोल्दै हिमाल चढ्न गाह्रो, त्यसमाथि आरुघाटमा हुर्केकी श्रेष्ठलाई कुन कुराले गाह्रो भन्नेसमेत थाहा थिएन । तर, शिखर चुम्ने अभिलाषामा चुर्लुम्म डुबेकी उनले कुनै कुरामा ‘मतलब’ राखिनन् ।

मात्र उनलाई सगरमाथाकै चुचुरोमा पुगेर फोटो खिच्नु थियो ।

सगरमाथा बेसक्याम्पबाट काठमाडौं फर्किएपछि उनले त्यसअघि हिमाल चढेका चिनेजानेकासँग सल्लाहसुझाव लिन थालिन् । गाइड, व्यवसायी सबैलाई भेट्न थालिन् । सबैबाट अर्को सुझाव पाइन्, ‘सगरमाथा पहिले ६ हजार मिटरसम्मको हिमाल चढ्नुपर्छ । बल्ल सगरमाथा चढ्न पाइन्छ ।’

‘सबैले ६ हजार मिटरसम्मको हिमाल चढ्नुपर्छ भन्नुभो । त्यसबेला मैले आफ्नै जिल्लाको हिमाल चुनें, मनास्लु,’ भन्छिन्, ‘तर, मनास्लु पनि ८ मिटर माथिकै थियो । मैले चढ्ने भए आफ्नै गाउँठाउँको हिमाल किन नचढ्ने भनेर आँटे ।’

पूर्णिमाको सपना त्यही वर्ष पूरा भयो, अर्थात् सन् २०१७ मै उनी मनास्लुको शिखर चुमिन् ।

मनास्लु टेकिसकिन् । तर, मनबाट सगरमाथाको भूत हटेन । अर्को अठोट गरिन्, ‘…बरु सगरमाथा चढिसकेपछि अरु कुनै हिमाल चढ्दिनँ ।’
मनास्लुको सफल आरोहणपछि जब सगरमाथाको प्रत्येक उचाई उक्लिन्थिन्, पूर्णिमाका आँखा नजिकैको आमादब्लम हिमालतिरै ठोकिन्थ्यो ।

‘आमादब्लम सगरमाथाभन्दा होचो हो तर, उचाईबाट हेर्दा साह्रै सुन्दर देखिने । सगरमाथा शिखरमा पुगिनसक्दै आमादब्लम हिमाल पनि चढ्ने त्यहीबेला सोचें,’ सगरमाथा आरोहणको कथा सुनाउँछिन् ।

सन् २०१८ मा पूर्णिमाले सगरमाथाको सफल आरोहण गरिन् र २०१९ मा सुन्दर हिमाल आमादब्लमको शीर टेकिन् । ‘सुरुमा हिमाल चढ्दा एकदमै गाह्रो भएको थियो । आर्थिक र शारीरिक रुपमा म सक्षम थिइनँ,’ भन्छिन्, ‘हिमाल चढ्ने कुरा साहसमात्रै भएर पनि नहुने रैछ । धेरै कुरा मिल्नुपर्ने रै‘छ ।’

अब कीर्तिमानी बाटोमा…
एक/एक वर्षको अन्तरालमा ३ वटा हिमालको सफल आरोहण गरिसकेपछि अहिले पूर्णिमा श्रेष्ठ अन्नपूर्ण पहिलो हिमाल चढ्ने सुरसार गर्दैछिन् । आइतबारबाट उनको हिमाली यात्रा सुरु हुनेछ ।

फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई म्याकेननले २००७ साल जेठ २१ गते पहिलो पटक ‘अन्नपूर्ण पहिलो’ मा पाइला टेकेका थिए । अन्य हिमालभन्दा अप्ठेरो र असहज भएकाले पनि त्यहाँ सफल आरोहण गर्नेको संख्या न्यून छ ।

तस्बिर : पूर्णिमाको फेसबुकबाट

तर, पूर्णिमा अन्नपूर्ण पहिलो हिमालको सफल आरोहण गरिछाड्ने अठोटमा छिन् । पूर्णिमाले ‘अन्नपूर्ण पहिलो’को सफल आरोहण गरेमा त्यहाँ चढ्ने पहिलो महिला पनि बन्नेछिन् । उनको यो कीर्तिमानी आरोहण बन्नेछ ।

‘त्यो अरु हिमालभन्दा एकदमै गाह्रो हिमाल रै‘छ । पहिलो कुरा त त्यहाँ अहिलेसम्म कुनै महिलाले पाइला टेकेका रहेछन् । त्यसमाथि आफ्नै प्रदेशको,’ पूर्णिमाले भनिन्, ‘त्यहाँ चढेर फर्किएँ भने कीर्तिमान पनि बन्नेछ । आफ्नो प्रदेशलाई चिनाउन पनि पाउनेछु ।’

पूर्णिमासँग सेभेन समिट ट्रेकसँग अन्नपूर्ण हिमाल आरोहण गर्न लागेकी हुन् । आरोहणका क्रममा उनीसँग गाइड पेम्बा शेर्पासहितको १७ जनाको टोली हुनेछ । करिब १ महिनामा अन्नपूर्ण चढिसक्ने उनीहरूको लक्ष्य छ ।

‘हिमाल चढ्ने भन्ने कुरा मौसमले पनि धेरै फरक पार्छ । त्यसमाथि अन्नपूर्ण पहिलो हिमाल अरुभन्दा बढी खतरायुक्त हिमाल हो,’ गाइड पेम्बा शेर्पा भन्छन्, ‘एभरेस्टलगायत अन्य हिमालमा धेरै सुविधा पुगिसकेको छ । तर, यहाँ केही छैन ।’

८ लाख रुपैयाँसहित गण्डकी प्रदेश सरकारको विदाइ
गण्डकी प्रदेश सरकारले आरोही श्रेष्ठलाई ८ लाख रुपैयाँ आर्थिक सहयोगसहित शुक्रबार पोखराबाट विदाइ गरेको छ । प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, भौतिक विकासमन्त्री रामशरण बस्नेत, पर्यटनमन्त्री विकास लम्साल लगायतले सहयोग रकम हस्तान्तरण गर्दैै विदाइ गरेका हुन् ।

विदाइ कार्यक्रममा मुख्यमन्त्री गुरुङले गण्डकीकी चेलीलाई गण्डकीकै हिमालका लागि गण्डकीकै मुख्यमन्त्रीले विदाइ गर्न पाउनु गौरवको विषय रहेको बताए । ‘पत्रकार भएर पनि हिमाल चढ्नु गौरवको कुरा हो । त्यसमाथि अन्नपूर्ण फस्ट हिमाल चढ्नु झनै गौरवको कुरा,’ उनले भने, ‘सफलता पाएर आउनुस् । पोखरामा रथयात्रा गर्न पाइयोस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर