कर्णालीका शाहीले गरे जापानी विश्वविद्यालयबाट उर्जामा पहिलो विद्यावारिधी – Nepal Press

कर्णालीका शाहीले गरे जापानी विश्वविद्यालयबाट उर्जामा पहिलो विद्यावारिधी

काठमाडौं । कर्णाली प्रदेशबाट पहिलो व्यक्तिका रुपमा दिनेश कुमार शाहीले उर्जामा विद्यावारिधी गरेका छन् । विश्वकै उत्कृष्ट विश्वविद्यालयमध्येकाे एक जापानको टोक्यो सिटी युनिभर्सिटीबाट शाहीले विद्यावारिधी गरेका हुन् ।

टोक्यो सिटी विश्वविद्यालयले शुक्रबार एक विशेष समारोह आयोजना गरेर शाहीलाई विद्यावारिधीको उपाधी प्रदान गरेको छ । नेपालको त्रिभुवन विश्वविद्यालयबाट गणितमा स्नातकोत्तर समेत गरेका शाहीले विकासोन्मुख देशले उर्जामा कस्तो नीति बनाउने भन्ने विषयमा गहन अनुसन्धान गरेका छन् ।

रास्कोट–५, कालिकोटको एक सामान्य परिवारका शाहीले विद्यावारिधी प्राप्त गरेपछि भने, ‘मलाई सधैं केही नयाँ गरौं र केही नयाँ सिकौ भन्ने कुरामा अलि बढी ध्यान हुन्छ । कर्णाली जस्तो अत्यन्त न्यून गुणस्तरको प्रारम्भिक शिक्षा लिएर अत्यन्त उच्च प्रविधिको प्रयोग गरी गुणस्तरीय शिक्षा हासिल गरेका अन्तराष्ट्रिय क्षेत्रका व्यक्ति तथा अनुसन्धान कर्तासँग प्रतिस्पर्धा गरी शिक्षा हासिल गर्न त्यति सहज भने पक्कै छैन । तर, निरन्तरको प्रयास, असफलता बहन गर्न सक्ने अठोट र सबैको सपोर्टले मेरो यो यात्रा पूरा भएको छ । एक अनुसन्धान कर्ताका लागि सधैं ज्ञान अपूर्ण नै रहन्छ । म निरन्तर अध्ययन अनुसन्धान मै रहनेछु ।’

विद्यावारिधीको क्रममा शाहीका अनुसन्धानमूलक दुइ वटा सामग्री विश्वकै नम्बर एक जर्नल एल्सेभिरद्वारा प्रकाशित ‘इनर्जी एण्ड विल्डिङ’ र ‘विल्डिङ एण्ड इन्भारोमेन्ट’ मा प्रकाशित छन् । साथै उनी विश्वविद्यालयबाट विश्वका धेरै गोष्ठी, सेमिनारमा सहभागी भएर आफ्ना प्रस्तुति दिइसकेका छन् । उनले टोक्यो युनिभर्सिटीबाट वेस्ट प्रिजेन्टेशन अवार्ड र हाइ इम्प्याक्ट जर्नलमा प्रकाशन गर्न सफल भएकोमा अवार्ड प्राप्त गरेका हुन् ।

एल्सेभिरमा जर्नलमा प्रकाशित शाहीका आलेखमा घरमा प्रयोग हुने ऊर्जा र समग्र ऊर्जाको तर्कसंगत प्रयोगका बारेमा उल्लेख गरिएको छ । उनको यो अध्ययन उर्जा क्षेत्रको बहसमा नयाँ अवधारणा मानिएको छ । विकसित देशहरुले गर्ने अत्यधिक ऊर्जाको प्रयोगले वातावररणमा अत्यन्त नकारात्मक असर परिरहेको बेला दिगो विकासको अवधारणा अनुसार ऊर्जा खपत र वातावरणीय सन्तुलन कसरी कायम गर्न सकिन्छ भन्ने विषय पनि उनले अनुसन्धान गरेका छन् । साथै नेपाल जस्ता विकासिल देशहरुले विकशित देशले गरेको भूलबाट पाठ सिकेर नयाँ विधिबाट अघि बढ्नुपर्नेमा उनको निष्कर्ष छ । त्यसका लागि उनले तर्कसंगत अवधारणा पनि अघि सारेका छन् ।

विश्वमा सबैभन्दा बढी उर्जा घरायसी प्रयोजनमा खपत गरेको पाइन्छ । भविष्यमा नेपालमा पनि घरायसी प्रयोगजनमा ऊर्जाको खपत बढ्न सक्ने अनुमान गर्दै उनले कसरी यसमा के गर्न सकिन्छ भन्ने कुरामा नयाँ अवधारणा अघि सारेका छन् । नेपालका धेरै जाडो हुने र अत्यधिक गर्मी हुने ठाउँमाम घरहरुलाई सुधारेर घरभित्रको तापक्रम प्राकृतिक तरिकाले वृद्धि गरी २० प्रतिशतसम्म उर्जा बचत गर्न सकिने विधि पनि उनले अध्ययनमा देखाएका छन् । यो विषय पनि उनको अनुसन्धानको महत्वपूर्ण पक्ष हो ।

उनी भन्छन्, ‘नेपाल विश्वको सबैभन्दा कम प्रतिव्यक्ति उर्जा खपत गर्ने देश हो । उत्पादित उर्जाले मानिसका सामान्य आवश्यकता पनि परिपूर्ती गर्न सकिएको देखिदैन । त्यसैले उर्जाको विकास गर्न त जरुरी छ नै । त्यसका लागि दिगो विकास र तर्कसंगत तरिकाले राष्ट्रिय उर्जा रणनीति बनाउनु जरुरी छ । यसमा गहिरो अनुसन्धान र तथ्यको विश्लेषण गरेर निष्कर्षमा पुग्नु जरुरी छ । नत्र हामी पनि अन्य देश जस्तै हतारमा निर्णय गरी पछि पछुताउने अवस्थामा हुन सक्छौं ।’

भौगोलिक जटिलताका कारण कर्णालीलाई अझै पनि नेशनल ग्रिडमा जोड्न नसकिएको भएपनि प्रसस्त नविकरणीय उर्जाका श्रोतको उपयोग गरी विकेन्द्रीकृत ऊर्जा प्रयोगको अवधारणा जाँदा बढी उपयोगी हुने उनको भनाई छ । उनले भने, ‘नेपाल जस्तो ‘रन अफ रिभर’ भएको देशले वातावरणीय अनुकूलतालाई ध्यानमा राखी नविकरणीय ऊर्जाको उत्पादनमा जोड दिएर विश्वमै उदाहरणीय काम गरेर देखाउने महत्वपूर्ण अवसर छ । यो मौकालाई कर्णाली र नेपालले गुमाउनु हुँदैन ।’

शाही अध्ययन अनुसन्धानका साथै जापानका बिभिन्न कम्पनीमा काम गरी जापानी कम्पनी व्यवस्थापनमा पनि अनुभव हासिल गरेका छन् । हस्पिटालिटि, समय व्यवस्थापन, सानो सानो कुराको पनि ख्याल राख्ने हुनाले उत्कृष्ट मानिने जापानी व्यवस्थापनमा समेत उनले दख्खल राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *