फ्रान्समा देशव्यापी लकडाउनको घोषणा, भारतका विभिन्न राज्यमा पनि लकडाउन – Nepal Press

फ्रान्समा देशव्यापी लकडाउनको घोषणा, भारतका विभिन्न राज्यमा पनि लकडाउन

पेरिस । कोरोनाभाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि ‘लकडाउन’ लागु गर्ने घोषणा फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले घोषणा गरेका छन् ।

उनले बिहीबार पत्रकार सम्मेलन गरेर फ्रान्समा पछिल्लो समयमा कोरोनाभाइरसको प्रकोप पहिले भन्दा पनि झन् बढेका स्थानहरुमा सो लकडाउनको घोषणा गरेका हुन् ।

बढी प्रभाावित विभिन्न १६ ओटा राज्यमा यस्तो नियमको घोषणा प्रधानमन्त्रीले गरेका हुन् । भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले करिब चार महिनाअघि मात्र पनि दोस्रोपटक लकडाउनको घोषणा गरेका थिए ।

तर, प्रधानमन्त्री क्यास्टेकले यो अहिलेको लकडाउन पहिलेको जस्तो कडा नरहेको र त्यहाँका नागरिकले आफ्नो घरमा भने बस्नुपर्ने बताएका छन् ।

पहिलेका लकडाउनमा यहाँ एक किसीमले कफ्र्यु नै लगाएजस्तो हुने गरेकोमा अहिले त्यस्तो नभएर नागरिकहरुले घरमा बस्नुपर्ने मात्र रहेको बताइएको छ ।

कोरोना भाइरसको महामारीको सुरुमा युरोपमा अति प्रभावित मध्येको फ्रान्समा गत मार्चमा पहिलोपटक लकडाउन गरिएको थियो । त्यसबेला २ महिना लकडाउन गरेर खुला गरिएको थियो ।

पछिल्लो समय महामारीको दोस्रो लहर तीव्र गतिमा बढेपछि प्रधानमन्त्रीले शुक्रबारदेखि नै लागू हुने गरी पुनः लकडाउनको घोषणा गरेका हुन् । यो लकडाउनका समयमा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्रै घर बाहिर निस्कने अनुमति दिइने छ । तर एक राज्यबाट अर्कोमा जान यात्रा प्रतिबन्ध गरिएको छ ।

विद्यालयहरु भने खुला राखिएको छ तर यहाँको सरकारले तय गरेका मापदण्डहरु पूर्ण रुपमा लागू गरेर मात्र विद्यालय खोल्न सकिने बताइएको छ ।

उता काममा जानुपर्ने मानिसले पनि आफ्नो घरबाट बढीमा १० किलोमीटर परसम्मको कामका लागि मात्र जान सक्ने बनाइएको छ ।

प्रधानन्त्रीले बिहीबार पत्रकार सम्मेनलमा भनेका छन् –रेस्टुरेन्ट, बारसहितका अत्यावश्यक भन्दा बाहिरका सेवा बन्द रहने छन्, तर विद्यालय र उद्योगहरु भने खुला हुनेछन् ।

फ्रान्समा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ भने दैनिक ३० हजार भन्दा बढी संक्रमित थपिदै गएका छन् ।

गएको २४ घन्टायताको अर्थात् बिहीबार मात्रको तथ्यांकमा त्यहाँका ३५ हजार जनामा यो संक्रमण देखिएको छ । यो समयमा मात्र २६८ जनाको यो संक्रमणबाट निधन नै भएको छ ।
यसरी पछिल्लो समयमा फ्रान्समा कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेहरुको संख्या पनि प्रतिदिन बढ्दै गएको देखिएको छ ।

फ्रान्समा अहिलेसम्ममा करिब ४२ लाख जनालाई यो संक्रमण देखिएको छ । त्यसैगरी यहाँ यस महामारीबाट मृत्यु हुनेको संख्या पनि ९१ हजार भन्दा बढी पुगेको बताइएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब ४० हजार जना संक्रमित भएका छन् ।

गत बुधबार एक दिनमा ३६ हजार जना संक्रमित भएका थिए भने बिहीबार ३९ हजार ७२६ पुगेको छ । गत २४ घण्टाको कोरोना संक्रमितको यो सङ्ख्या यस वर्ष शुरु भएयताको नै सब भन्दा बढी हो ।

भारतमा अहिलेसम्म कूल संक्रमितको सङ्ख्या एक करोड १५ लाख १४ हजार ३३१ पुगेको सो मन्त्रालयले जनाइएको छ । कूल संक्रमितमध्ये दुई लाख ७१ हजार २८२ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड १० लाख ८३ हजार ६७९ जना संक्रमणमुक्त भएका छन् ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट १५४ जनाको मृत्यु भएपछि यहाँ कोरोना संक्रमणको कारण मृतकको सङ्ख्या एक लाख ५९ हजार ३७० पुगेको शुक्रबार जनाइएको छ । भारतमा जनवरीबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म करिब तीन करोड ८० लाखले खोप लगाइसकेका छन् ।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार मङ्गलबारसम्म भारतमा २३ करोड भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर