कांग्रेसलाई सत्ताको रहर- तर जसपा फुट्ने, एमाले नफुट्ने डर – Nepal Press

कांग्रेसलाई सत्ताको रहर- तर जसपा फुट्ने, एमाले नफुट्ने डर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सम्भावित सत्ता समीकरणबारे आफ्नो प्रष्ट धारणा बनाइसकेको छैन । कांग्रेसभित्र सभापति शेरबहादुर देउवा नयाँ समीकरणका लागि परिस्थिति परिपक्व हुने प्रतीक्षामा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल वैकल्पिक सरकार निर्माणका लागि अग्रसरता लिनुपर्ने पक्षमा छन् । कांग्रेसको औपचारीक बैठक नबसेकोले नेताहरुले पार्टीको संस्थागत धारणा बोल्न सकिरहेका छैनन् ।

सभापति देउवालाई विपक्षी गठबन्धन बनाएर सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याउन पार्टीभित्र र बाहिर दवाव बढ्दो छ । तर संसदमा बहुमत सुनिश्चत नदेख्दासम्म अविश्वास प्रस्तावको अगुवाई गर्न देउवा तयार छैनन् । देउवा निकट नेताहरु अविश्वास प्रस्तावमा बहुमत जुट्ने निश्चित भइनसकेको बताउँछन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा कांग्रेसले ‘उचित समयमा उपयुक्त निर्णय’ लिने बताउँछन् । नयाँ सरकार गठनको विषय कांग्रेसको ईच्छा शक्तिबाट मात्रै पूरा नहुने भएकोले उपयुक्त समयको पर्खाई रहेको बताउँछन् ।

‘बाहिर भनिएजस्तो कांग्रेस न अनिर्णित छ न अलमलमा छ । सरकार गठनको विषय जति गम्भीर हो हामी त्योभन्दा गम्भीर छौं । उपयुक्त समयमा कदम चाल्नेछौं’, शर्माले नेपाल प्रेससँग भने । उनले संसदमा रहेको दलीय अंकगणित नबुझी कांग्रेसलाई लाञ्छना लगाउनु उपयुक्त नहुने बताए ।

प्रतिनिधिसभामा कांग्रेसको ६३ सांसद छन् । जसमध्ये २ जना सांसद निलम्बित अवस्थामा छन् । कांग्रेस एक्लैले अविश्वासको प्रस्ताव ल्याउने अवस्था छैन । प्रधानमन्त्री ओलीको विकल्प खोजेपनि नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छैन ।

संविधान संशोधन लगायतका माग अघि सारेको जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि प्रधानमन्त्री ओलीसंग सहकार्य गर्ने वा विरोध गठबन्धन बनाउने भन्ने निर्णय लिएको छैन । नेकपा एमालेमा पनि ओली र असन्तुष्ट पक्षबीचको विवादको परिणाम आइसकेको छैन । यस्तो अवस्थामा कांग्रेस सभापति देउवा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन तयार छैनन् ।

‘एमालेको विवादले कुन रुप लिने हो ? जसपा फुटेर पो ओलीसंग जान्छ कि ? यस्ता धेरै प्रश्नहरुको निधो हुन बाँकी छ । त्यसैले कांग्रेसले हतार नगरेको हो’, कांग्रेस नेता डा. नारायण खड्काले नेपाल प्रेससँग भने ।

खड्काका अनुसार प्रधानमन्त्री ओलीको विकल्प खोज्न संसदको बहुमत सुनिश्चित हुनासाथ कांग्रेसले कदम चाल्नेछ । ‘माओवादीको समर्थन कायमै छ । एमाले र जसपा फुट्नसक्ने हल्ला छ । यस्तो बेला देउवाजी होइन जो भएको भएपनि धैर्य गर्ने हो’, खड्काले भने ।

पछिल्लो समय कांग्रेस नेतृत्वलाई जसपाको भूमिकाले संशकित बनाएको छ । जसपाभित्र ओलीसँग सहकार्य गर्ने वा नगर्ने भन्नेमा विवाद छ । जसपाको संसदीय दल एकीकरण भइनसकेको अवस्थामा एक पक्षले ओलीसँग रहने निर्णय गरेमा अप्ठ्यारो पर्ने दावी कांग्रेस नेताहरुको छ ।

जसपाको बहुप्रतिक्षित भनिएको विहीबारको बैठक समेत बस्न सकेन । यसले कांग्रेसको शंका बढोत्तरी गरेको छ । जसपाका नेता केशव झा भने कांग्रेसले आफ्नो कमजोरी ढाकछोप गर्न अनावश्यक शकां गरेको बताउँछन् ।

‘कांग्रेसले कुनै निर्णय लिन सकेको छैन । आफ्नो अलमल छोप्न हामीलाई दोष देखाउँदैछ’, जसपा नेता केशव झाले भने । कांग्रेसले अविश्वास प्रस्ताव ल्याए जसपाले समर्थन गर्ने झाको भनाई छ ।

‘मुख्य विपक्षी त कांग्रेस हो नि । उसले अविश्वास प्रस्ताव ल्याउने हिम्मत गरोस् । जसपाले त्यसमा समर्थन गर्छ’, झाले भने । जसपाले राखेका एजेण्डाबारे कांग्रेसले छलफलसम्म नगर्नुले कांग्रेस के चाहन्छ भन्ने प्रष्ट देखिएको झाले बताए ।

तर जसपाकै एक शीर्ष नेताले भने जसपा नफुट्ने र उपेन्द्र बाबुरामको लाइन पनि पारित नहुने दावी गरे । एमालेका सांसदले फ्लोर क्रस गरेर केपी ओलीलाई मत नदिने अवस्था आउन सक्ने डर जसपाका नेताहरुलाई छ । यदि ओलीले एमालेका १२० जना सांसदलाई एक ठाउँमा राख्न सके भने जसपा अ‍ोलीको पक्षमा उभिने ती नेताको भनाइ छ ।

यसकै लागि जसपाको बैठक स्थगित भएको छ भने पूर्व राजपा पक्षको विहीवार साँझ बसेको बैठकले पार्टीमा अब महन्थ ठाकुरको प्रस्ताव अनुसार अघि बढ्ने निश्कर्ष निकालेको छ । दलहरुबीचको किचलोका कारण पुनःस्थापित प्रतिनिधिसभा एकातिर पंगु बन्ने प्रक्रियामा छ भने केपी ओलाई सत्ताच्युत गर्ने प्रचण्ड माधव नेपाल तथा कांग्रेस जसपाको प्रयासले समेत मूर्त रुप लिन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर