गाउँभरिका बच्चा सेक्ने रामकुमारी काकी – Nepal Press

गाउँभरिका बच्चा सेक्ने रामकुमारी काकी

नाम रामकुमारी थारु । तर, गाउँमा सबैले उनलाई ‘काकी’ भनेर चिन्छन् । कसै–कसैले ‘रामकुमारी काकी’ फुर्को जोड्छन् ।

कोहलपुर चोकबाट दक्षिण–पश्चिमतर्फ छ, उनको गाउँ । थारुहरूको बाहुल्य रहेको गाउँमा रामकुमारी काकी नेपाली बोल्दिनन्, जान्दिनन् । बस्न त पहाडी मूलका मानिस पनि बस्छन्, गाउँमा । तर उनीहरू काकीकै भाषा सजिलै बुझ्छन्, र उनकै भाषामा संवाद गर्न सक्छन् ।

गर्मी चढिरहेको कोहलपुरमा पसिनाले निथ्रुक्क भिजेकी ‘रामकुमारी काकी’सँग संयोगले भेट भयो । मध्यान्नको टन्टलापुर घाममा उनी छिमेकीको आँगनमा ओर्लिइन् ।

‘टोहारिक बच्चाहे सेकके अइलक पैसासे मै सइकिल लेलुँ (तपाईंको बच्चा र आमा सेकेर आएको पैसाले मैले साइकल किनेँ,’ आँगनमा ओर्लनेबित्तिकै पहाडी मूलका ती छिमेकीसँग रामकुमारी काकी सुनाउँछिन् ।

उनका मगर छिमेकी रोइरहेका ३ महिने शिशु फुल्याउने प्रयास गरिरहेका थिए । रामकुमारी काकीले आगो र पानी छोइन्, अनि ती शिशुलाई काखमा लिँदै भनिन्, ‘बच्चनहे एकफाले पकरबो टे नै मन्ठ, तारेसे असिक पक्रे परठ । (बच्चालाई घुचुक्क पारेर समात्यो भने मान्दैन । तलबाट यसरी समात्नुपर्छ ।)’

उनको हातमा लुट्पुटिएको शिशु एकैछिनमा शान्त हुन्छ । उनी मुसुक्क मुस्कुराउँछिन र शिशुसँग आफ्नै भाषामा कुरा गर्न थाल्छिन् ।

रामकुमारी काकीको यो अनौठो स्वभावले हामीलाई आकर्षित गर्‍यो । ‘उहाँ शिशु फुल्याउन र नानीहरूसँग संवाद गर्न अभ्यस्त हुनुहुन्छ,’ उनका मगर छिमेकीले हामीतर्फ हेर्दै भने, ‘भर्खरै बच्चा जन्मिएको आमालाई शिशु कसरी स्याहार गर्ने भनेर थाहा हुँदैन । यो गाउँमा त उहाँबाटै सिक्छन् धेरैले ।’

उनको पेसा रहेछ– सुत्केरी आमा र शिशुलाई सेक्नु, स्याहार गर्नु ।

हुन त यो नौलो पेसा होइन । गाउँ वा सहरमा सुत्केरी आमा र शिशुलाई स्याहारेर आयआर्जन गर्नेहरू थुप्रै भेटिन्छन् । रामकुमारी काकी त्यही पेशाकर्मी हुन् ।

रामकुमारी काकीले अक्षर छिचोलेकी छैनन् । ‘नाही, कुछ नइ जन्ठु एक अक्षर,’ उनी लजाउँदै भन्छिन् । तर, आफ्नो सीपमा उनको राम्रो पकड छ । जसलाई २० वर्षदेखि कायम राख्दै आएकी छन् । ‘कोइलाको रापमा बच्चा र आमा सेकाउँदा उनीहरू स्वस्थ हुन्छन् । यो काममा मलाई रमाइलो लाग्छ,’ थारु भाषामै उनी भन्छिन् ।

यही सीपका कारण रामकुमारी काकीलाई आफ्नो सिंगो गाउँले सम्झिन्छ । कहिलेकाहीँ वल्लोपल्लो गाउँले पनि सम्झिन्छन् । यसरी सम्झँदा उनीलाई खुसी लाग्छ ।

यतिका वर्षदेखि उनले कति बच्चाहरू सेकी होलान् त ? यकिन छैन रामकुमारीलाई । भन्छिन्, ‘बहुट हुइगिल् । लर्का बरे बरे हुरख्लाँ ।’

कति त जागिरे भइसके । जो बेलाबेलामा उनका मुस्कानसँग ठोकिन्छन्, र हाँस्दै भन्छन्, ‘तपाईंले सेकेर हुर्किएका हामी ठूला भगयौं ।’

एउटा सानो बालकले भनेको कुरा रामकुमारीलाई सम्झना छ । ‘ममी यी काकीले मलाई तेल लगाइदिनुभएको हो । मेरो तर्फबाट धोती किनेर उपहार दिनुस् न,’ ती बालकले आमालाई भन्छन् । मुसुमुसु हाँसिरहेकी रामकुमारीको सामु आमाले जिस्कँदै भन्छिन् ‘तँ ठूलो भएर कमाउनू, अनि आफैं दिनू ।’

‘त्यतिन्जेल त काकी बुढो भएर मरिजानुहुन्छ । अनि कसरी दिने ?’ रामकुमारी बालकको प्रसंग उदृत गर्दै हाँस्छिन् ।

वर्षमा २० जनाभन्दा बढी बच्चा र आमालाई तेल लगाएर कोइलाको रापमा सेक्छिन्, रामकुमारी काकी । यसरी सेकेबापत एक घरबाट १५ हजार रुपैयाँसम्म लिन्छिन् ।

काम गर्ने क्रममा केही कुरामा भने रामकुमारीको असन्तुष्टि हुन्छ । एउटा काम भनेर अरु काम थुपारिँदा कहिलेकाहीँ दुःख पाउनुपर्छ उनले । एक घरमा त्यस्तै भयो । घरबेटीले आमा र बच्चाको कपडा धुन भने । तर, पछि घरभरिको लुगा ल्याएर थुपारिदिए । र, पनि कुनै गुनासो पोखिनन् ।

आजसम्म रामकुमारीले कतैबाट विभेद भने खेप्नुपरेको छैन । उनको स्वाभिमानले भन्छ– ‘हेपिनुपरे कामै गर्दिनँ ।’ त्यही स्भाविमानका कारण होला, उनी जुनसुकै जातको घरहरूमा, जुनसुकै वर्गका घरहरूमा पुगे पनि राम्रो सत्कार पाउँछिन् । ‘कोरोनाको बेला पनि कोही भित्र पस्न पाउँदैन थियो, म भने हातखुट्टा धुन्थें र सजिलै पसिहाल्थें,’ उनी सुनाउँछिन् ।

बिहे गरेर टाढा टाढा गएकाहरू पनि सुत्केरी भएर माइत आउँछन् । अनि, सेक्ने जिम्मा रामकुमारीकै हुन्छ ।

थारु समुदायमा भने बच्चा सेकेबापत् उनी पैसा लिँदिनन् । त्यहाँ सुप्पामा चामल दिने चलन छ । ‘हमार थारुन्मे पैसा नइदेथाँ। चाउर देथाँ,’ उनी सुनाउँछिन् ।

०००

यो पेसामा संयोगले लागेकी हुन् रामकुमारी । तिलकपुरमा बाख्रा चराउँदै बितेको थियो बाल्यकाल । विवाहपछि ‘ससुराल’ कोहलपुर आएकी उनी त्यता पनि खेती किसानी नै गर्थिन् । आफ्नो बच्चा जन्मँदा आफूलाई र बच्चा सेक्ने कोही थिएनन् । ‘मे त अपने अकेली रहनु, अकेली कैनु,’ उनी सुनाउँछिन् ।

पहिलो बच्चा सेक्दा त्यति ज्ञान पनि थिएन रामकुमारीलाई । १० दिन सुत्केरी आराम गरेपछि ११ दिनको दिनबाट काममा जानुपर्थ्यो । उनी सम्झिन्छिन्, ‘मै टे अकेली रहुँ, सक्कुचिज अप्नेही कैलु १० दिनतक हम्रे काम नइ कर्थी। १० दिन पाछे सक्कु काम कर्थी।’

राम्रोसँग स्याहार पाउने अवस्था थिएन, त्यसरी सेक्न पनि कहाँ पाइन् र ! त्यतिबेला उनलाई यो काम गर्छु भन्ने रत्तिभर थिएन ।

एकदिन गाउँका प्रधानले उनलाई एउटा तालिममा जान पठाए । के तालिम थाहा थिएन । अहिले पनि थाहा छैन त्यो तालिम कुन संस्थाले दियो ?

‘२ वटा पुरुष र ३ जना महिलाले सिकाएका थिए । काठमाडौ पनि लगेका थिए,’ आफ्नै भाषामा भन्छिन् ।

त्यतिबेला काठमाडौंमा पहिलो पटक पुगिन् उनी । उनीसँगै ३ जना गएका थिए । उनलाई अनौठो लाग्यो काठमाडौं । निःशुल्क काठमाडौं घुम्दा, नयाँ कुरा सिक्दा, दिनको हजारका दरले पैसा पाउँदा उनमा खुसीको सीमा थिएन ।

काठमाडौंमा सुत्केरी महिला र बच्चा सेक्नेबारे तालिम दिइरहँदा उनले चित्र बुझ्थिन्, अक्षर बुझ्दिन थिइन् ।

त्यहाँबाट सिकेर आएपछि उनले आफ्नै गाउँबाट सुरु गरिन् काम । विस्तारै बानी पर्दै गयो, अनि रमाइलो मान्दै गर्न थालिन् ।

यतिका वर्ष भयो यो काम गरेको । कामबाट उनले अलिकति गर–गहना जोडिन् । सन्तानहरूको लागि घर खर्च टारिन् । र अलिअलि जुगाड पनि गरिन् ।

उनलाई कमाइ हुनुमा मात्र खुसी छैन, लाग्दैन पनि । खुसी त त्यसमा छ, जब कसैले आफ्नो घरमा नयाँ शिशु जन्मनेबित्तिकै सम्झन्छन्- रामकुमारी काकी !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर