नेपालमा पहिलोपटक सेयर विभाजनको प्रयास, नेपाल लाइफ इन्स्योरेन्सलाई कानूनले देला ? – Nepal Press

नेपालमा पहिलोपटक सेयर विभाजनको प्रयास, नेपाल लाइफ इन्स्योरेन्सलाई कानूनले देला ?

काठमाडौं । जीवन बीमाको क्षेत्रमा नेपालको एक अग्रणी कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेयर स्प्लिट अर्थात सेयर विभाजन गर्ने प्रकृया अगाडी बढाएको छ । सेयर विभाजनका लागि धितोपत्र बोर्डसँग पर्याप्त कानुनी व्यवस्था नभए पनि कम्पनीले घुमाउरो बाटोबाट सेयर विभाजनको प्रयास सुरु गरेको हो ।

गत माघ २८ गते विरगञ्जमा भएको कम्पनीको २० औ वार्षिक साधारणसभामा १ बराबर २ सेयर बिभाजनका लागि प्रस्ताव प्रस्तुत भएको थियो । यही मार्च महिनामा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयर विभाजनका लागि अनुमति दिएपछि चैत्र ३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रवन्धपत्र तथा नियमावली संसोधनका लागि पठाएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले आफुहरुले सेयर स्प्लिटका लागि सम्पुर्ण तयारी पुरा गर्न लागेको बताए ।

उनले भने, ‘हाम्रो आशय भनेको कम्पनीमा लगानी गर्न चाहने सर्वसाधारण लगानीकर्ताले सहजरुपमा सेयर पाउन् भन्ने हो । सेयर बिभाजन भएपछी अरु कुरा केही फरक पर्दैन, एउटा सेयर दुईवटामा परिणत हुन्छ । अर्थात् १ सय रुपैयाँको सेयरको ५० रुपैयाँ मुल्य कायम हुन्छ ।’

कम्पनीको विनियमावली संशोधनका लागि कम्पनी रजिष्ट्रार कार्यालयमा पठाइसकेको उनले जानकारी दिए ।

‘त्यहाँबाट स्वीकृत भएपछि नियामक निकाय बीमा समितिमा जानेछ र बीमा समितिले स्वीकृति दियो भने हामी सेयर स्प्लिटको चाहाना पुरा हुन्छ,’ उनले भने ।

स्प्लिट भएमा के हुन्छ ?

यस कम्पनीको सेयर विभाजन भएमा १ सय रुपैयाँ अंकित मूल्य भएको सेयर ५० रुपैयाँमा झर्नेछ । कम्पनीले १ बराबर २ सेयर बिभाजन गर्दा कम्पनीको सेयर संख्या दोब्वर हुन्छ भने सेयर मुल्य आधाले घट्छ । मुल्य घट्ने भएकाले कम्पनीको सेयर खरिद गर्न थप लगानीकर्ताको आकर्षण बढ्ने कम्पनीको बुझाइ छ ।

हाल यस कम्पनीको सेयर प्रतिकित्ता २,०८६ रुपैयाँका दरले कारोबार भइरहेको छ । पछिल्लो सेयर समायोजनपछि यस कम्पनीको नेप्सेमा ७ करोड १९ लाख ९९ हजार ७ सय ४ कित्ता सुचिकृत भएको छ । यस कम्पनीको चाहनाअनुरुप १ बराबर दुईका दरले सेयर स्प्लिट भएमा समायोजन हुँदा सेयर संख्या दोव्बर अर्थात् १४ करोड ३९ लाख ९९ हजार ४ सय ८ कित्ता पुग्ने छ । उक्त समयमा कारोबार भइरहेको मुल्य आधाले घट्ने छ । अंकित मुल्य ५० रुपैयाँ कायम हुने भएकाले सबै लगानीकर्ताको डिम्याट खातामा सेयर समायोजनपछि दोब्वर सेयर संख्या हुनेछ भने मुल्यमा आधाले गिरावट आउने कम्पनीले जनाएको छ ।

घुमाउराे बाटो

विश्वमा सेयर बिभाजन नौलो बिषय नभए पनि नेपालमा भने नयाँ प्रयोग हो । सेयर स्प्लिटका लागि कम्पनी तयार भए पनि यसका लागि धितोपत्र कारोबार सम्वन्धि नियामक नेपाल धितोवोर्डसँग भने कानुनको अभाव देखिन्छ । कानुनी अभाबका कारण नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घुमाउरो बाटो प्रयोग गर्दै ‘कम्पनी ऐन २०६३’ को साहारा लिएको छ ।

‘कम्पनी ऐन २०६३’ को परिच्छेद ४ को मा ‘सेयर र डिबेन्चेर’ अंकित मुल्य सम्वन्धी ब्यवस्था रहेको छ । उक्त ऐनको दफा २७ (२) मा ‘पब्लिक कम्पनीको सेयरको अंकित मूल्य प्रतिसेयर ५० रुपैयाँ वा १० अंकले भाग जाने सोभन्दा बढी अंकले हुन आउनेगरि प्रवन्धपत्र तथा नियमावलीमा व्यवस्था भए बमोजिमको रकम हुने’ उल्लेख छ ।

यही ब्यवस्थालाई टेकर कम्पनीले आफ्नो प्रवन्धपत्र तथा नियमावली परिवर्तन मार्फत सेयर संख्या, अंकित मुल्य, सेयरधनीको बिवरण, मुनाफा बाडफाँडका आधार परिवर्तन गर्न लागेको हो ।

धितोपत्र बोर्डलाई नैतिक दबाब

कम्पनी रजिष्टारको कार्यालय र बीमा समितिले कम्पनीले राखेको प्रस्तावलाई स्वीकृति गरिदिएमा नेपाल धितोपत्र बोर्डलाई सेयर स्प्लिट सम्वन्धि कानुन निर्माणका लागि नैतिक दवाव पर्ने देखिन्छ ।

सेयर स्प्लिटका लागि आफुहरुसँग कानुनको अभाव रहेको बताउँछ बोर्ड । बोर्डका प्रवक्ता नीरज गिरी कम्पनीले स्टक स्प्लिटसम्वन्धी प्रस्ताव लिएर आएमा कानून निर्माणबारे सोच्ने बताउँछन् ।

‘हामीसँग स्टक स्प्लिट सम्वन्धि कुनै पनि कानून अहिलेसम्म निर्माण भएको छैन । उहाँहरुले यसका लागि तयारी गरिरहनु भएको छ भन्ने मैले सुनेको छु तर उहाँहरुको प्रस्ताव धितोपत्र बोर्डसम्म आइपुगेको छैन । सेयर विभाजनका लागि उहाँहरु आउनु भयो भने हामीले कानुन निर्माण गर्नुपर्ने हुनसक्छ,’ उनले भने ।

नेपालका लागि नौलो अभ्यास

कम्पनीका स्वतन्त्र सञ्चालक कमलेशकुमार अग्रवाल सेयर स्प्लिट हुनु नेपालका लागि नौलो अभ्यास भएको बताउँछन् । एक सय रुपैयाँको नोटलाई दुईवटा ५० रुपैयाँको नोटमा साटेर खर्च गर्दा जति सजिलो हुन्छ, सेयर स्प्लिट गर्दा पनि त्यस्तै सजिलो हुने उनको भनाइ छ ।

‘संसारभरका राम्रा कम्पनीहरु जसले राम्रो मुनाफा कमाएर उच्च प्रतिफल दिन्छन्, तिनीहरुको सेयर मूल्य छिटो बढ्छ । त्यस्ता कम्पनीहरुले सेयरको मुल्य घटाएर सर्वसाधारण लगानीकर्ताको पहुँचमा पुर्‍याउनका लागि यो विधिको प्रयोग गर्छन् । नेपालमा मात्रै यसको प्रयोग नभएको हो,’ उनले भने ।

विश्व सेयर बजारमा सेयर स्प्लिटलाई सामान्यरुपमा लिने गरिन्छ । कुनै पनि कम्पनीको सेयर मूल्य बढ्दै जाँदा सेयरको मूल्य वाञ्छित सीमाभित्र राखी लगानीकर्ताको पहुँच बृद्धि गर्नका लागि सेयर स्प्लिट अर्थात सेयर विभाजन गरेको पाइन्छ ।

सन् २०२० मा विश्व सेयर बजारमा टेसला कम्पनीको सयेर मुल्य ६६५ % ले बढेपछि उसले आफ्नो एक सेयरलाई ५ टुक्रामा विभाजन (१ः५) गरेको थियो । सेयर स्प्लिटपछि पनि यस कम्पनीको प्रतिसेयर ६७६ डलरमा करोबार भइरहेको छ । त्यस्तै एप्पल कम्पनीले आफ्नो सेयरलाई पटकपटक गरेर ७ टुक्रामा बिभाजन गरिसकेको छ ।

यसरी विश्वमा राम्रा कम्पनहरुले सर्वसाधारणमा सेयरको पहुँच कायम राखिराख्न यस विधिको प्रयोग गर्दै आएका छन् ।

कम्पनीको वित्तीय अवस्था

यस कम्पनीको स्थापना बीमा ऐन २०४९ अनुसार २०५८ साल वैशाख २१ गते भएको हो । स्थापनाकालदेखि नै कम्पनीले लगानीकर्ताहरुलाई उच्चदरमा लांभास बितरण गर्दै आएको छ ।

यस कम्पनीले जर्मनीस्थित ह्यानओभर रिइन्स्योरेन्स कम्पनीमार्फत आफ्नो पूर्नबीमा गराएको छ । नेपालभरि २०० वटा शाखा रहेको यस कम्पनीले बीमाबाट संकलित ९४ अर्ब रुपैयाँ लगानी गरेको छ । देशभरमा १ लाख ७० हजार भन्दा बढी बीमा एजेटहरु मार्फत यस कम्पनीमा २७ लाख मानिसहरुले जीवन बीमा गराएका छन् ।

गत आर्थिक वर्षको कम्पनीको वार्षिक प्रतिवेदननुसार यस कम्पनीको कुल चुक्ता पुँजी ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ रहेको छ भने सञ्चित जगेडाकोषमा ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको जीवन बीमा कोषमा ८७ अर्ब २ करोड रुपैयाँ तथा महाविपत्ती कोषमा ५५ करोड ४९ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक बर्ष यस कम्पनीले ५३ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको चालू आर्थिक बर्षको दोस्रो क्वाटरको प्रतिवेदनअनुसार चुक्ता पुँजी ७ अर्ब १९ करोड ९९ लाख रुपैयाँ पुगेको छ भने सञ्चित जगेडा काेषमा १ अर्ब ५ कराेड रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको जीवन बीमा कोषमा १ खर्ब १ अर्ब रुपैयाँ तथा महाविपत्ति कोषमा ५९ करोड ८९ लाख रुपैयाँ रहेको छ । त्यस्तै चालू आर्थिक बर्षको दोस्रो क्वाटरमा ४२ करोड ९८ लाख रुपैयाँ कमाएको छ ।

लाभांसको इतिहास

यस कम्पनीले हाससम्म नगद र बोनस सेयरसहित ८ पटक लांभाश बितरण गरेको छ । आर्थिक वर्ष २०६८-६९ मा १२६.३१ प्रतिशत, २०६९-७० मा ९८.५ प्रतिशत, २०७०-७१ मा ६८ प्रतिशत, २०७१-७२ मा २६.३१ प्रतिशत, २०७२-७३ मा २६.३१ प्रतिशत, २०७३-७४ मा ७०.५ प्रतिशत, २०७४-७५ मा ७८.५ प्रतिशत र २०७५-७६ का लागि ५१ प्रतिशत लांभास बितरण गरेको छ । यसरी नियमितरुपमा उच्च प्रतिफल दिने भएकाले यस कम्पनीको सेयरप्रति लगानीकर्ता निकै आकर्षित देखिन्छन् ।

आर्थिक बर्ष २०७५-७६ का लागि ५१ प्रतिशत लांभास घोषणा गरेपछि यस कम्पनीको सेयर मुल्य नेप्सेमा २९०८ रुपैयाँसम्म पुगेको थियो । लाभांसपछि मूल्य समायोजन भएको यस कम्पनीको सेयर २,०८६ रुपैयाँ प्रतिकित्ताका दरले नेप्सेमा कारोबार भइरहेको छ ।

अन्य कम्पनीलाई पनि बाटो खुल्ने

यस कम्पनीको सेयर स्प्लिट सम्भव भएमा अन्य उच्च सेयर मुल्य भएका कम्पनीलाई पनि बाटो खुल्नेछ । नेपालमा सबैभन्दा धेरै १९,००० रुपैयाँ प्रतिकित्ता सेयर मूल्य रहेको युनिलिभर नेपाल, १५ हजार ९८५ प्रतिकित्ता सेयर मूल्य रहेको राष्ट्रिय बिमा कम्पनी, प्रतिकित्ता सेयर १० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको साल्ट ट्रेडिङ कम्पनी, ४४०० प्रतिसेयर रुपैयाँमा कारोबार भइरहेको नागरिक लगानी कोष जस्ता कम्पनीलाई सेयर स्प्लिट गरी धेरै लगानीकर्तामा कम्पनीको पहुँच पु¥याउन बाटो खुल्ने तथा नैतिक दबाव सृजना गर्ने जानकार बताउँछन् ।


प्रतिक्रिया

One thought on “नेपालमा पहिलोपटक सेयर विभाजनको प्रयास, नेपाल लाइफ इन्स्योरेन्सलाई कानूनले देला ?

  1. जगेडाकोषमा 10 अर्ब हो कि एक अर्ब हो । कन्फर्म गर्नुस त

Leave a Reply

Your email address will not be published. Required fields are marked *