‘म गुटसँग कुनै डिल गर्दिन, प्रचण्डसँगै जान कानुनी समस्या भए निवेदन लिएर आए हुन्छ’ – Nepal Press
प्रधानमन्त्रीसँग विशेष वार्ता

‘म गुटसँग कुनै डिल गर्दिन, प्रचण्डसँगै जान कानुनी समस्या भए निवेदन लिएर आए हुन्छ’

एमालेको नाममा गुटको भेला अपराध हो, मुख्य व्यक्तिबाट कारवाही शुरु हुन्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अब माधव नेपालसँग गुटको नेताका रुपमा कुनै पनि डिल नहुने प्रष्ट पारेका छन् । एमालेको नाममा गुटको भेला गरेबापत मुख्य व्यक्तिबाट कारवाही शुरु हुने समेत ओलीले चेतावनी दिएका छन् ।

नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेलसँगको विशेष अन्तर्वार्ताका क्रममा अध्यक्ष ओलीले माधव नेपाल–झलनाथ खनालहरु अहिले एमाले नरहेको समेत बताएका छन् । ओलीले भेला गरेबापत र विगतमा आफूलाई कारवाही गरेबापत माफी मागेर आएको खण्डमा स्थान दिन सकिने बताए ।

ओलीले भने– सबैले सुने हुन्छ, गुटसँग म डिल गर्दिन,पार्टीका कार्यकर्ता आ-आफ्ना ठाउँमा बस्नुपर्छ । गुटको दलबल लिएर आउन पाइदैन । पार्टीका नाममा जुन भेला गरिएको हो, कारवाही योग्य विषय हो, अब कारवाही पनि गुटलाई होइन व्यक्तिलाई हुन्छ, जो मुख्य दोषी हो त्यहाँबाट शुरु हुन्छ ।

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षलाई फुटेर प्रचण्डसँग जान कानुनी समस्या परेको हो भने अध्यादेश वा विधेयक ल्याइदिएर सहयोग गर्ने समेत बताए ।

ओलीले भने- फुटेर जान समस्या परेको हो भने मसँग निवेदन हाले हुन्छ, अध्यादेश विधेयक केही गरेर जान दिउँला । पार्टी भनेको स्वेच्छाले बस्ने हो, करकाप गरेर बस्ने होइन । म लोकतान्त्रिक मान्छे हुँ, बँधुवा बनाएर राख्दिन ।
ओलीले माधव नेपाल पक्षको भेलामा गएका सबैमाथि कारवाही नहुने भन्दै २५ प्रतिशत कार्यकर्ता आफूले त्यहाँ पठाएको समेत दावी गरे ।

(विस्तृत अन्तर्वार्ता  बिहीबार प्रकाशन हुनेछ)


प्रतिक्रिया

2 thoughts on “‘म गुटसँग कुनै डिल गर्दिन, प्रचण्डसँगै जान कानुनी समस्या भए निवेदन लिएर आए हुन्छ’

Leave a Reply to Suresh Khadayat Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर