पूर्वमा लागुऔषध कारोबार अत्यधिक, २ वर्षमा साढे ५ किलो ब्राउन सुगर बरामद – Nepal Press

पूर्वमा लागुऔषध कारोबार अत्यधिक, २ वर्षमा साढे ५ किलो ब्राउन सुगर बरामद

विराटनगर । भारत दार्जिलिङका ३१ वर्षीय विशन घले र उनकी श्रीमती २२ वर्षीया पुन्या तामाङ मंगलबार सुनसरीको धरानबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित पक्राउ परे । उनीहरुको साथबाट झण्डै ७ ग्राम प्रतिबन्धित लागुऔषध बरामद भयो ।

झापा मेचीनगर नगरपालिका–१५ फडानीको काँसघारीबाट दार्जिलिङ बस्ने २७ वर्षीया सुनिता हेमरम र ३२ वर्षीया अनिता हेमरमलाई १५० ग्राम ब्राउन सुगरसहित प्रहरीले पक्रियो ।

चैत २ गते सुनसरीको इटहरी नगरपालिका ४ बस्ने २४ वर्षीय आशिष चौलागाईं र इटहरी ७ बस्ने २४ वर्षीय लोकनाथ भण्डारीलाई ४० ग्राम ब्राउन सुगरसहित मेचीनगर ६ बाट प्रहरीले नियन्त्रणमा लियो ।

यी प्रतिनिधि घटना हुन् । प्रदेश–१ का मुख्य शहर तथा तराईका जिल्लाहरुमा दिनहुँजसो प्रतिबन्धित लागुऔषधसहित प्रयोगकर्ता र कारोबारीहरु पक्राउ पर्ने गरेका छन् । प्रदेश–१ प्रहरी कार्यालयको अभिलेख अनुसार तराईका जिल्लामा दिनहुँजसो ब्राउन सुगरसहित मानिसहरु नियन्त्रणमा लिने सुची बढिरहेको छ ।

प्रदेश १ प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिपिन रेग्मी भन्छन्, ‘प्रहरी जुनसुकै प्रकारको लागुऔषध नियन्त्रणमा लागि सक्रिय हुदाँ हुँदै अप्रत्याशितरुपमा ब्राउन सुगरको कारोवार ह्वातै बढेको छ ।’ कारोबारी तथा प्रयोगकर्ताहरु दिनहुँ पक्राउ परिरहे पनि नियन्त्रणमा लिन चुनौति थपिँदै गएको डीएसपी रेग्मीले बताए ।

उनका अनुसार प्रदेश प्रहरीको अभिलेखमा सबै भन्दा बढी ब्राउनको कारोवारमा संलग्न पक्राउ पर्ने र मुद्दा चलाइएको देखिन्छ । कारोबारीले सुनसरी, मोरङ र झापालाई नै केन्द्र बनाइरहेका छन् ।

मुलकभर फैलँदौ जालो

विदेशबाट ब्राउन सुगर गैह्रकानूनी रुपमा नेपाल ल्याइपु¥याउँदा सुनको भन्दा महंगो मूल्यमा कारोबार हुने भएकोले यसको तस्करी बढेको पाइएको छ । खुला सीमानाको फाइदा उठाउँदै सुनभन्दा बढी मूल्यमा ब्राउनसुगरको कारोबारी हुने भएकोले तस्करी नियन्त्रण गर्न कठिन भएको छ ।

ब्राउनसुगरको तस्करीमा लागेका गिरोहले सहरमा ल्याएपछि ‘डोज’ को हिसाबले बिक्री गर्दछन् । एक ग्राम ब्राउनसुगरको ४० डोज बनाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

भारतबाट पूर्वको सहरहरूमा ल्याएपछि प्रतिडोज ३ हजारदेखि ५ हजार रूपैयाँसम्म बिक्री हुने गरेको बताइन्छ । गिरोहले भारतमा प्रतिग्राम ४ देखि पाँच हजार रुपैयाँसम्म ल्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरूले ल्याएको ब्राउनसुगर धरान, इटहरीको पूर्वी सहरदेखि काठमाडौ हुदै पश्चिम नेपालसम्म पुग्ने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

तेस्रो मुलुक थाइल्याण्ड र म्यानमारबाट भारत हुँदै अवैध रूपमा ब्राउन सुगरका तस्करीमा संलग्न गिरोहले यो लागूऔषध भित्र्याउने गरेको पाइएको छ । विषेश गरी तस्करी गर्ने गिरोहले झापाको काँकडभिट्टा नाकालाई सुरक्षित नाकाका रुपमा प्रयोग गर्ने गरेको सुरक्षा निकायका अधिकारीको भनाई छ ।

दुई वर्षमा प्रदेश–१ बाट ५ केजी ६ सय ग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ । चालु आर्थिक वर्षको फागुन महिनासम्म ७ सय २९ ग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको छ । प्रहरीले बरामद गरेको ब्राउनसुगर अधिकांश काँकडभिट्टा नाकाबाट ल्याएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अभिलेखमा उल्लेख छ ।

लागुऔषध ब्यूरोको टोली परिचालन

ब्राउन सुगरको कारोबार बढेसँगै युवाहरु जोखिममा पर्न थालेपछि त्यसको नियन्त्रण र रोकथामका लागि लागूऔषध ब्यूरोको टोलीलाई छुट्टै परिचालन गर्ने गरिएको छ ।

लागूऔषध तस्कर गिरोहलाई पक्राउ गर्न सीमा नाकामा प्रहरी र सशस्त्र बाहेक लागूऔषध ब्यूरोको टोली छुट्टै परिचालन हुने गरेको छ । टोली परिचालन भएसँगै दिनहँुजसो ब्राउन सुगरका कारोवारीहरु पक्राउ पर्ने क्रम पनि बढेको छ ।

लागूऔषध ब्यूरोका एक प्रहरी अधिकारीका अनुसार ब्राउनसुगरको ‘कनेक्सन’ पूर्वका केही व्यक्तिसँग रहेको पाइएको छ । प्राप्त सूचना र उनीहरुको ‘कनेक्सन’का आधारमा नेपालमा रहेर ब्राउन सुगरको कारोबार गर्ने गिरोहको खोजीमा पूर्वका विभिन्न शहरमा अहिले प्रहरीको भिन्दाभिन्दै टोली परिचाल गरिएका छन् ।

प्रहरीको अनुसार लागूऔषधको कारोबार र प्रयोगकर्तामा धेरैजसो युवाहरु छन् । १८ देखि ३० वर्ष उमेर समूहका लागूऔषधको कारोबार र प्रयोगकर्ता रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर