५ करोडको लागतमा खुल्यो बहुउद्देश्यीय कम्पनी, नेपालका उत्पादन विश्वभर पुर्‍याउने दाबी – Nepal Press

५ करोडको लागतमा खुल्यो बहुउद्देश्यीय कम्पनी, नेपालका उत्पादन विश्वभर पुर्‍याउने दाबी

काठमाडौं । रोजगारीका लागि विदेश बसेर पसिना बगाइरहेका नेपालीसहित विभिन्न देशका नागरिक मिलेर दुबइमा सन् २०१९ मा ओरेन्टो मल्टिट्रेड प्राली कम्पनी सञ्चालनमा ल्याएका थिए । त्यही कम्पनी नेपालमा पनि स्थापना भएको छ ।

एक गाउँ–एक उत्पादन, एक टोल–एक बिक्री कक्ष र एक घर–एक रोजगारीको उद्देश्य लिएर यो कम्पनी नेपालमा स्थापना भएको हो । दुबइमा सो कम्पनीले दैनिक उपभोग्य बस्तुको उत्पादन गरी बजारीकरणसमेत गर्छ ।

कम्पनीका संस्थापक अशोक विष्टले नेपालको हावापानीमा उत्पादन भएका जडिबुटीको प्रयोग गरेर अर्गानिक बस्तु उत्पादन गरि बजारमा बिक्री गरिने बताए ।

उनले भने, ‘हामीले विदेशमा श्रम गरिरहेका र नेपाल फर्कका नेपालीलाई जोडेर ओरेन्टो मल्टिट्रेड प्रालि स्थापना भएको हौं ।’

विदेशबाट आयात कम गरी स्वदेशी अर्गानिक बस्तुको उपभोग वृद्धि गर्ने र प्रत्यक घरलाई रोजगारीसँग जोड्ने उद्देश्य लिइएको विष्टले बताए ।

यो कम्पनी ५ करोड लागतमा स्थापना भएको हो । कम्पनीले कस्मेटिक र दैनिक उपभोग्य बस्तु उत्पादन गर्ने उद्योग नेपालमा नै स्थापना गरेको छ । यो कम्पनीमा विश्वभरका १५ हजार नागरिक जोडिएका छन् ।

नेपालको ७७ वटै जिल्लाका साना, घरेलु तथ मझौला व्यवसायीहरुलाई जोडेर नेपालको उत्पादन विश्व बजारमा पुर्याउने उद्देश्य पनि कम्पनीले लिएको छ । कम्पनीले नेपालको प्राकृतिक स्रोतको प्रयोगमा वस्तु उत्पादन गरेर नेपालमै खपत र अन्य देशमा समेत निर्यात गर्ने छ ।

ओरेन्टोड मल्टिट्रेड प्रालिका अर्का स्थापक राकेश पन्तले नेपालीले गरेको उत्पादन विश्व बजारमा पुर्याउने उद्देश्यले सन् २०१९ मा कम्पनी स्थापना भएको बताए ।

उनले भने, ‘नेपालीहरु थोरै तलबमा नै आफ्नो श्रम बेच्न बाध्य छन् । अब त्यसरी श्रम बेच्ने नेपालीहरुले नेपालको माटोमा नै अर्गानिक उत्पादन गरेर नेपाल र विश्व बजारलाई नै उपलब्ध गराउन सक्ने छन् ।’

यस वर्ष देशका विभिन्न ठाउँमा १०० वटा उद्योग स्थापना गर्ने कम्पनीको लक्ष्य रहेको छ । कम्पनीले ७ वटै प्रदेशमा कार्यालय स्थापना गरी सबै प्रदेशलाई स्थानीय उत्पादनसँग जोड्ने बताएको छ ।

कम्पनी स्थापनाको कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले भने, ‘रामदेबको नाम जोडेर कुनै बस्तु बजारमा ल्याउदा सजिलै बिक्री हुने अवस्था छ । तर, नेपाली उत्पादनले बजार पाएका छैनन् । अब यो कम्पनीको स्थापनाले उत्पादन र बजार व्यवस्थापनको कामसमेत गर्ने छ ।’

उद्योग स्थापना, मेसिनरी आयात, साना लगानीकर्ताका लागि सहुलियतपूर्ण कर्जा र बस्तु निर्यातमा समस्या आएमा सरकारसँग सहजीकरण गर्न सहयोग गर्ने कटुवालले बताए ।

नेपालमा हाल ४ लाख लघु, घरेलु तथा साना उद्योग रहेका छन् । त्यसमा २६ लाखले रोजगारी भएका छन् ।


प्रतिक्रिया

3 thoughts on “५ करोडको लागतमा खुल्यो बहुउद्देश्यीय कम्पनी, नेपालका उत्पादन विश्वभर पुर्‍याउने दाबी

Leave a Reply to Hom sitaula Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर