प्रधानमन्त्री नबन्न देउवालाई कसले दिँदैछ दवाव ? – Nepal Press

प्रधानमन्त्री नबन्न देउवालाई कसले दिँदैछ दवाव ?

आफ्नै नेताहरुसँग भने– कुरा बुझ्नुस् न मलाई दवाव छ क्या, दवाव

काठमाडौं । संसदीय राजनीतिका माहिर खेलाडी मानिने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भावी प्रधानमन्त्रीका रुपमा चर्चामा छन् । तर मिडियामा वैकल्पिक प्रधानमन्त्रीको रुपमा आफ्नो चर्चा भए पनि प्रधानमन्त्री बन्न देउवाले कुनैपनि विकल्पमा प्रयत्न गरिरहेका छैनन् ।

नेकपा एकता भङ्ग हुनुअघि नै प्रधानमन्त्री बन्न दाहाल–नेपाल पक्षले अफर गर्दा देउवाले पार्टीभित्र छलफल गरेर निर्णय दिने बताएका थिए । सर्वोच्च अदालतको आदेशपछि नेकपा एकता भंग भइसकेको छ ।

नेकपा माओवादी केन्द्रको अध्यक्षका रुपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारको विकल्पमा कांग्रेसको नेतृत्व स्वीकार्न अप्ठ्यारो नहुने बताइसकेका छैनन् । यो बीचमा जनता समाजवादी पार्टीले पनि सभापति देउवासहित कांग्रेस नेताहरुसंग छलफल समेत गरेको थियो । यद्यपि कांग्रेसले सत्ताको नेतृत्व लिन अग्रसरता नदेखाउनु र देउवाले मौनता साँध्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

देउवालाई कसको दवाव ?

कांग्रेस सभापति देउवाका हरेक राजनीतिक कदममा फरक मत राख्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले माओवादी र जसपा मिलाएर सरकारको नेतृत्व गर्न देउवालाई सुझाव दिइसकेका छन् । पार्टीभित्र प्रष्ट म्याण्डेट पाए पनि देउवाले सरकारको नेतृत्व गर्न अग्रसरता देखाएका छैनन् ।

हालै पार्टीका केही नेतासंगको भेटमा देउवाले आफू दवावमा रहेको बताएका थिए । दवाव कसले दिएको भन्ने नखुलाए पनि देउवाले प्रधानमन्त्री बन्न ईच्छा भएपनि परिस्थिति नबनेको बताएका थिए ।

‘प्रधानमन्त्री त म टाउकोले टेकेरपनि बन्छु तर दवाव छ । कुरा बुझ्नुस न’, देउवालाई उधृत गर्दै स्रोतले भन्यो । देउवाले संकेत गरेको दवाव दक्षिणतिरको हुनसक्ने आँकलन कांग्रेस नेताहरुले गरेका छन् । ‘अहिले नै ओली सरकारको विकल्प नखोज्न उहाँलाई कसैले सुझाव दिएको हुनसक्छ । त्यसलाई उहाँले दवावकै रुपमा ग्रहण गर्नुभएको छ’, एक कांग्रेस नेताले भने ।

माओवादी र जसपासहितको बैठक बोलाएर सरकारको नेतृत्वका लागि अग्रसरता लिन सुझाव दिएका निकट नेताहरुसंग देउवाले ‘दवाव’बारे बताएका छन् । त्यही ‘दवाव’का कारण देउवा वैकल्पिक सरकार बनाउने भन्दा संवैधानिक प्रक्रिया पुर्याएर मध्यावधि निर्वाचनमा जाने पक्षमा छन् ।

‘प्रधानमन्त्री बन्न उहाँको ईच्छा नभएको होइन । विश्वासको मत लिन नसके पार्टीको महाधिवेशनमा पनि प्रभाव गुम्ने डर उहाँमा देखेको छु’, निरन्तर सम्पर्कमा रहेका एक नेताले भने । सभापति देउवाले केहीदिन अघि आफ्नो ध्यान प्रधानमन्त्री बन्ने भन्दा पार्टीको महाधिवेशन गरेर पुनः सभापति बन्नेतर्फ केन्द्रीत रहेको बताएका थिए ।

बैठक बस्नै इन्कार

जनता समाजवादी पार्टीका शीर्ष नेताहरुले सोमबार माओवादी र कांग्रेससंग संयुक्त छलफल हुने संकेत गरेका थिए । केही सञ्चार माध्यममा सोमबार कांग्रेस, माओवादी र जसपाबीच छलफल हुने समाचार पनि संप्रेषण भएका थिए । तीन दलको बैठक बस्ने सम्भावनाकै कारण माओवादीले केन्द्रीय कमिटी बैठक छोट्याएर अनिश्चितकालका लागि स्थगित गरेको थियो । तर कांग्रेस सभापति देउवाले नै समय उपलब्ध नगराउँदा तीन दलको औपचारिक बैठक बस्न सकेन ।

‘आइतबार नै तीन दलको बैठक बस्ने कुरा हो । माओवादी नेताहरु तयार थिए तर कांग्रेसले कन्फर्म नगरेकोले अहिलेसम्म बैठक बसेन’, जसपाका एक नेताले नेपाल प्रेससंग भने । ती नेताले कांग्रेसको भूमिका रहस्यमय देखिएको शंका पनि व्यक्त गरे ।

‘प्रधानमन्त्री नै बन्ने मौका आउँदा देउवाले समेत जाँगर नचलाउनु भनेको रहस्यमय होइन र ?’, ती नेताको भनाइ थियो । यसअघि शुक्रबार देउवानिवास बूढानीलकण्ठमा कांग्रेस–जसपा छलफल भएको थियो । सोही छलफलमा शनिबार जसपाले माओवादीसंग छलफल गर्ने र आइतबार तीन दलबीच बैठक बस्ने तय भएको थियो । यद्यपी आइतबार देउवा बारामा कुस्ती प्रतियोगिता उद्घाटन गर्न गएका कारण बैठक बस्न सकेन ।

ओलीकै निरन्तरताको पक्षमा देउवा

कम्युनिष्ट पार्टी विभाजन नभएसम्म कांग्रेसले हतार नगर्ने बताउँदै आएका कांग्रेस सभापति देउवा नेकपा फुटेर एमालेसमेत फुटको संघारमा पुगिसक्दा पनि हतारमा छैनन् । प्रतिनिधिसभा पुनःस्थापना हुनुभन्दा मध्यावधि निर्वाचन नै उपयुक्त हुने देउवाको बुझाईमा सर्वोच्चको आदेशले अवरोध गरेको थियो । यद्यपि संसद पुनःस्थापना पछि पनि निर्वाचन नै उपयुक्त विकल्प हुनेमा देउवा विश्वस्त छन् । आफ्ना निकटस्थहरुसंग देउवाले ओलीलाई नै चुनाव गराउन दिएर भएपनि ‘अर्ली इलेक्सन’मा जानु उपयुक्त हुने बताउने गरेका छन् । यही कारण देउवा निकट नेताहरु कांग्रेस निर्वाचनबाटै सरकारमा जाने बताउन थालेका छन् ।

अर्कोतिर माओवादी र जसपा समेतले वैकल्पिक सरकार गठन गर्ने औपचारीक निर्णय गरिसकेका छैनन् । ‘माओवादीले समर्थन फिर्ता लिएको छैन । जसपामा पनि एउटै विचार देखिएको छैन । यस्तो बेला प्रधानमन्त्री बन्न हतार गर्दा असफल हुनसकिन्छ ।’, देउवानिकट एक नेताले भने । ती नेताले माओवादी र जसपाले औपचारीक प्रस्ताव नल्याएसम्म देउवाले प्रधानमन्त्री बन्न अग्रसरता लिने सम्भावना छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर