जब आकाशमा उडेको छोरो फेवातालमा अस्तायो ! – Nepal Press

जब आकाशमा उडेको छोरो फेवातालमा अस्तायो !

पोखरा । ‘तपाईंको छोरोले उडाइरहेकोे प्याराग्लाइडिङ दुर्घटना भएछ,’ धादिङ नीलकण्ठका कुलबहादुर रानामगरलाई सोमबार साँझ ४ बजे आइपुगेको अप्रत्याशित खबर थियो त्यो । सैनिक जवानबाटै दुर्घटनाको खबर पुग्दा उनी घरायसी कामकाजमै व्यस्त थिए ।

प्याराग्लाइडिङ दुर्घटनाको खबर थियो, नेपाली सेनामा कार्यरत २३ वर्षीय राजाराम मगरको । कुलबहादुर स्वयं अवकाशप्राप्त सैनिक हुन् । २ भाइ छोरामध्ये कान्छा छोरालाई प्याराग्लाइडिङ दुर्घटनामा गुमाउनुपरेपछि केही सोच्नै सकेका छैनन् । ‘साँझ ४ बजेतिर खबर आयो । हामीलाई लिन पनि सैनिककै बस आएको थियो,’ निरस सुनिन्छन् ।

४ वर्षअघि सैन्य पेशामा जोडिएका राजाराम करिब एक महिनाअघि पोखरा आएका थिए । ‘एड्भेन्चर स्पोर्टस्’अन्तर्गत प्याराग्लाइडिङ खेलाडी उत्पादनका नेपाली सेनाले उनीसहित २३ जना टोलीलाई तालिम दिइरहेको थियो । रसुवाको कालीजङ गणमा कार्यरत राजाराम त्यही तालिम लिन पोखरा आएका हुन् ।

‘यसअघि पनि पटक पटक पोखरामा तालिम गर्न आउँथ्यो । २४ महिने तालिम भएकाले लकडाउन खुलेपछि यहाँ आएको हो,’ बुवा कुलबहादुर भन्छन्, ‘एकदमै व्यस्त हुने हुनाले २५ दिनअघिमात्रै उसँग कुरा भएको थियो ।’

राजारामको परिवारले अन्तिम पटक दशैंमा मात्रै उनीसँग धेरै समयमा बिताउन पाएका थिए । त्यतिबेला पनि पल्टनबाट खबर आएपछि पूरा छुट्टी नसकिँदै घरबाट हिँड्नुपरेको बुवा कुलबहादुर बताउँछन् । भन्छन्, ‘त्यतिबेला १०÷१२ दिनका लागि छुट्टी छ भन्थ्यो । तर, दशैं मनाइसक्ने बित्तिक्कै फोन आएपछि ऊ सींधै पोखरा आएको थियो । त्यसपछि घर आथेन ।’

उमेरैमा कान्छा छोरा राजारामलाई गुमाएपछि आमा राधाकुमारी रानामगरको आँखा ओभानो भएको छैन । उनको आँसुमात्रै झर्छ, बक्के फुट्दैन । बल्लबल्ल सम्हाल्छिन् । आँशु सुकिसक्यो तर, पीडा सकिएको छैन, रुवाइ सकिएको छैन ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम कक्षअघि परिवारजन राजारामको शव पर्खेर बसिरहेका थिए । आफूसँगै उडेको साथी नफर्किने गरी सुदूर हिँडेपछि सहपाठीहरुको अनुहारसमेत मलिन देखिन्थ्यो । उनीहरु घरि पीडाले मुर्छित राजारामको आमातिर हेर्थे, घरि शव गृहतिर ..।

उडिरहेको प्याराग्लाइडिङ दिउँसो करिब २ बजेको आसपासमा फेवातालमा खसेको थियो । तत्काल उद्धार गरेर पोखरा रानीपौवास्थित सैनिक अस्पतालमा त लगियो । तर, त्यतिञ्जेलसम्म धेरै ढिला भइसकेको थियो । उनले प्राण त्यागिसकेका थिए ।

राजारामका जेठा दाजु ऋषि रानामगर पनि नेपाली सेनामै कार्यरत छन् । उनी हाल अर्घाखाँचीमा कार्यरत छन् । भाइको दुर्घटना निधन भएपछि उनी पनि पोखरामा छन् । राजारामको मंगलबार सैनिक सम्मानका साथ अन्तिम दाहसंस्कार गरिएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर