भोलिको भेला पार्टी एकताका लागि हो : सुरेन्द्र पाण्डे – Nepal Press

भोलिको भेला पार्टी एकताका लागि हो : सुरेन्द्र पाण्डे

काठमाडौं । सत्तारुढ नेकपा एमालेको असन्तुष्ट समूहले भोलि र पर्सि आयोजना गरिएको गुट भेला पार्टी एकताकै लागि भएको दाबी गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा नेताहरूले केपी ओली समूह पार्टी फुटाउन अग्रसर रहेको प्रत्यारोप लगाए ।

नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले पत्रकार सम्मेलनमा बोल्दै भने, ‘पार्टी विभाजनको आरम्भ ओलीजीले गर्नुभएको हो । २८ गतेको बालुवाटार वैठकले विभाजनको बिजारोपण गरेको हो । ती सबै निर्णय फिर्ता नभएसम्म पार्टी एकता सम्भव छैन ।’

आफूहरुले गरेको गुट भेला भने विधानसम्मत रहेको उनले प्रष्ट पारे ।

‘पार्टीको विधानले यस्ता भेला तथा राजनीतिक गतिविधि गर्ने छुट दिएको छ । भोलि र पर्सिको भेला पार्टी एकताको सुदृढीकरणका लागि हो ’, पाण्डेले भने ।

अध्यक्ष ओलीले भोलिको भेलामा उपस्थित हुनेहरुलाई कारबाहीको चेतावनी दिनुभएको छ नि ? भन्ने पत्रकारको प्रश्नमा पाण्डेले ओलीमाथि नै कारबाही हुन सक्ने बताए ।

उनले भने, ‘आफैं गलत आधारमा खडा भएको अध्यक्ष कारबाहीको भागीदार हुन्छ कि हुँदैन ? त्यो अस्तिको कदम नै गलत र कारबाहीयोग्य थियो । यसप्रकारको कारबाहीको कुरा गर्नु कार्यकर्तालाई अनावश्यक तर्साउन खोजिएको मात्र हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर