एउटै वडामा एकैदिन नौवटा कार्यक्रम उद्घाटन – Nepal Press

एउटै वडामा एकैदिन नौवटा कार्यक्रम उद्घाटन

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा नौवटा कार्यक्रम एकैसाथ उद्घाटन गरिएको छ ।

वडा कार्यालय, स्वास्थ्यचौकी, चम्पावती मावि र महिला समूहको भवन तथा कम्प्युटर ल्याब, सरस्वती मन्दिर, विद्यार्थीका लागि नियमित वितरण गरिने दिवाखाजा तथा टिफिन क्यारी र छात्राका लागि स्यानिटरी प्याडसहित नौ कार्यक्रम उद्घाटन गरिएको हो ।

विजयखर्कस्थित वडा कार्यालयको प्राङ्गणमा सोमबार आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले संयुक्तरूपमा नौवटा कार्यक्रमको उद्घाटन गरेका छन् ।

नगरपालिकाको ७० लाखको लागतमा सञ्जीव निर्माण सेवा प्रालिले वडा कार्यालय भवन निर्माणको काम सम्पन्न गरेर निर्माण कम्पनीका प्रतिनिधि लालबहादुर विश्वकर्माले वडाध्यक्ष वीरेन्द्रप्रसाद ढकाललाई उक्त भवनको चाबी हस्तान्तरण गरेका छन् ।

नगरपालिकाको एक करोड ७० लाख लागतमा पुष्पाञ्जली कन्स्ट्रक्सन प्रालि काठमाडौँले निर्माण गरेको स्वास्थ्यचौकी भवनको चाबी पनि सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ ।

यता राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको ७२ लाख र नगरपालिकाको २८ लाखमा निर्माण गरिएको चम्पावती माविमा निर्माण गरिएको भवनको चाबी पनि सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

नवनिर्मित विद्यालय भवनभित्र स्थापना गरिएको कम्प्युटर ल्याब र साइन्स ल्याब स्थापना गरिएको छ भने विद्यालयको प्राङ्गणमा सरस्वती मन्दिर स्थापना गरिएको छ । महिला सामुदायिक भवन निर्माणका लागि विभिन्न निकायबाट विभिन्न समयमा गरी पाँच लाख प्राप्त भएको वडा सदस्य मनिषा खनालले बताए।

संयुक्तरूपमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा भवन निर्माणका लागि निःशुल्क जग्गादान गर्ने सात जग्गादातालाई समेत सम्मान गरिएको छ । वडा कार्यालय तथा स्वास्थ्यचौकी भवन निर्माणका लागि जग्गा उपलब्ध गराउनुहुने सबै जग्गादातालाई नगरप्रमुख रिजाल र उपप्रमुख राईले सम्मान गरे।

वडा कार्यालय भवन निर्माणका लागि वडाध्यक्ष ढकालले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । यस्तै स्वास्थ्यचौकी भवन निर्माणका लागि चन्द्रकुमारी पोखरेलले पनि पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको वडा कार्यालयले जनाएको छ ।

नगरपालिकाले विजयखर्कमा एकैसाथ आयोजना गरेको नौवटा कार्यक्रमको उद्घाटनमा स्थानीय बासिन्दाको समेत उल्लेख्य उपस्थिति थियो । जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकारलगायत सहभागी कार्यक्रममा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुतिसमेत रहेको थियो ।

भौतिक पूर्वााधार निर्माणमा सबैभन्दा अगाडि देखिएको उक्त वडामा सम्पूर्ण सुविधासहितका नयाँ भवन निर्माण सम्पन्न गरेर सञ्चालनमा आएपछि स्थानीय सरकारको अनुभूति भएको स्थानीय बासिन्दाले बताएका छन् । पन्ध्र वडा रहेको यस नगरपालिकामा यस वर्ष भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिइएको छ ।

जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा ठूलो यो नगरपालिकामा यस वर्ष १५ मध्ये ११ वटा वडामा एउटै किसिमको भवन निर्माण भइरहेको छ ।

एउटा वडाका लागि रु ७० लाखका दरले बजेट विनियोजन गरिएको छ । एउटै किसिमको सबै वडा कार्यालय भवन यही चैत मसान्तभित्र सम्पन्न हुने नगरप्रमुख रिजालले बताए । नगरपालिकामा निर्माणाधीन वडा कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर