बिजुली गतिमा बढ्दै मोबाइल बैंकिङका प्रयोगकर्ता, शुल्कमा मनोमानी

काठमाडौ । नेपालमा मोबाइल र इन्टरनेटको व्यापकतासँगै मोबाइल बैंकिङका प्रयोगकर्ता दिनदिनै बढिरहेका छन् । यसले उपभोक्तालाई बैंकसम्म पुगेर लामो लाइन बस्नुपर्ने झण्झटबाट उन्मुक्ती मिलेको छ । तर, सेवा प्रवाह र चर्को शुल्कलाई लिएर भने असन्तुष्टि बढ्दो छ ।

एउटै बैंकको नेटवर्कभित्र रकम ट्रान्सफर गर्दा शुल्क नलाग्ने भए पनि एउटा बैंकबाट अर्को बैंकमा पैसा पठाउँदा उपभोक्ताको खाताबाट पैसा काटिन्छ । यसरी काट्ने शुल्क निकै महंगो भएको उपभोक्ताको गुनासो छ । बैकिङ सेवामा सबैभन्दा धेरै प्रयोगकर्ता, दोस्रो धेरै कारोवार संख्या र तेस्रो ठूलो भुक्तानी प्रणाली भएको मोबाइल बैंकिङको व्यापकतासँगै सुपथ पनि बनाउनेतर्फ बैंक सञ्चालकको ध्यान गएको छैन ।

राष्ट्र बैंकको नियमनका आधारमा दैनिक १ लाख रुपैयाँसम्म रकम मोबाइलमार्फत ट्रान्सफर गर्न सकिन्छ । नेपालका प्रायः बाणिज्य बैंकहरूले मोवाइल बैंकिङमार्फत पैसा ट्रान्सफर गर्दा १० रुपैयाँदेखि ७५ रुपैयाँसम्म शुल्क असुल गर्ने गरेका छन् । ५ हजारभन्दा कम रकम ट्रान्सफर गर्दा १० रुपैयाँ र सोभन्दा बढी रकम पठाउँदा २० रूपैयाँदेखि ७५ रुपैयाँसम्म लिने गरेको पाइन्न्छ ।

मोवाइल बैंकिङमार्फत बाणिज्य बैंक तथा अन्य कम्पनीले कति कमाउँछन् भन्ने यकिन तथ्यांक कतै पाइदैन । यस वर्षको मंसिर र पुस महिनाबीच मात्रै मोबाइल बैंकिङबाट हुने कारोवार संख्या २ लाख ९४ हजार ८९९ अर्थात ३.५२ प्रतिशले वृद्धि भएको देखिन्छ । मंसिरमा ८३ लाख ८६ हजार ४७० पटक कारोवार भएकोमा पुस महिनामा ८६ लाख ८१ हजार ३६९ पटक कारोवार भएको छ । प्रत्येक महिना औसत ८० लाखपटक कारोवार भएको मान्ने हो र त्यसमध्ये ५० प्रतिशत अन्तरबैकिङ कारोवार हुन्छ भने पनि मासिक ४० लाख सशुल्क कारोवार हुन्छ ।

मोबाइल बैंकिङको शूल्क १० देखि ७५ रुपैयाँ रहेकाले औषत ४० रुपैयाँले हिसाब निकाल्दा मासिक १ अर्ब ६० करोड रुपैयाँ उपभोक्ताले खर्चिरहेका छन् । वार्षिकरुपमा यो रकम १९ अर्ब २० करोड रुपैयाँ पुग्छ । यसमध्ये नविल बैंकको राफासाफ गर्ने प्रणालीसहित ५५ प्रतिशत अर्थात् १० अर्ब ५६ करोड रुपैयाँ बैंकहरुले लिने गर्छन् भने मध्यस्थकर्ताका रुपमा रहेको ‘फोन पे’ ले ८ अर्ब ६४ करोड रुपैयाँ लिन्छ । प्रतिमहिनाको हिसाबमा बैंकहरुले ८८ करोड मोवाइल बैंकिङ शुल्क असुल गर्छन् भने फोन पेले प्रतिमहिना ७२ करोड रुपैयाँ रकम उठाउने गरेको देखिन्छ ।

यसको तुलनामा कनेक्ट आईपीएस र अन्य डिजिटल प्लेटफर्मबाट हुने कारोवार तुलनात्मकरुपमा सस्तो छ । कनेक्ट आईपीएसबाट प्रतिमहिना औषतरुपमा १२ लाख कारोवार संख्या अनुमान गर्ने हो र प्रतिकारोवार औसत १० रुपैयाँ शुल्क राख्ने हो भने प्रति महिना १ करोड २० लाख रुपैयाँ र वर्षको १४ करोड ४० लाख रुपैयाँ वरावरको आम्दानी गर्ने देखिन्छ ।

अन्य डिजिटल वालेटबाट कारोवार गर्दा उक्त शुल्क कम हुँदै गएको र विभिन्न ‘क्यास व्याक’को अफरसमेत सञ्चालनमा ल्याइएको देखिन्छ । ‘क्यूआर कोड’मार्फतको भुक्तानी चाहिँ अहिले सुरुवाती अवस्थामा रहेकाले नि:शुल्क छ भने एटीएमबाट हुने कारोवारमा त्यति ठूलो आम्दानी देखिँदैन ।

त्यसो त मोवाइल बैंकिङ सञ्चालनमा ल्याउनलाई नै २५० देखि ३०० सम्म खर्चिनुपर्छ उपभोक्ताले । प्रत्येक वर्ष सेवा नवीकरणका लागि त्यति नै शुल्क लाग्छ । बैंकहरुले प्रत्येक बर्ष न्यूनतम २५० का दरले १ करोड २६ लाख ८९ हजार ४४५ जना प्रयोगकर्ताको नवीकरण शुल्क मात्रै ३ अर्ब १७ करोड रुपैयाँ उठाउँछन् । आगामी दिनमा मोबाइल बैंकिङका प्रयोगकर्ता बढ्दै जाँदा यस्तो आम्दानी चुलिँदै जानेछ ।

विजुली गतिमा थपिँदाे प्रयोगकर्ता

केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले सार्वजनिक गरेको भुक्तानी प्रणाली ओभरसाइट प्रतिवेदन २०७६/७७ ले मोबाइल बैंकिङका प्रयोगकर्ता द्रुत गतिमा बढिरहेको देखाउँछ । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७२/७३ मा १७ लाख ५४ हजार ५६६ जनाले मोवाइल बैंकिङको सेवा लिएका थिए । अर्को आर्थिक वर्ष २०७३/७४ मा यो संख्या ५१.१६ प्रतिशतले बढेर २६ लाख ६९ हजार ७३२ पुग्यो ।

त्यसपछि आव २०७४/७५ मा ९०.५१ प्रतिशतले बढ्दै ५० लाख ८६ हजार ६९ जनाले उक्त सुविधा लिए । आर्थिक वर्ष २०७५/७६ मा पनि प्रयोगकर्ता ६४ .१२ प्रतिशतले थपिएर ८३ लाख ४७ हजार पुगेका छन् । गत आर्थिक वर्ष बृद्धिदर ३५.४६ प्रतिशतले बढेर १ करोड १३ लाख ६ हजार ७९७ जना मोवाइल बैकिङको प्रयोगकर्ता पुगेका छन् ।

चालु आर्थिक वर्षको पुस महिनाको प्रतिवेदनअनुसार नेपालमा मोवाइल बैकिङका प्रयोगकर्ता १ करोड २६ लाख ८९ हजार ४४५ जना छन् । अघिल्लो आर्थिक बर्षको ६ महिनाको अवधिको तुलनामा १३ लाख ८२ हजार ६४८ र मंसिर महिनाको तुलनामा २ लाख ४६ हजार ६४४ जना प्रयोगकर्ता थपिएका छन् । मोबाइल बैंकिङबाट भुक्तानी प्रणालीका सेवाग्राहीभन्दा अन्य डिजिटल भुक्तानी प्रणाली सेवाको प्रयोगकर्ता बढी देखिन्छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्टरनेट बैंकिङका प्रयोगकर्ता १० लाख ९० हजार ३२२, इसेवासहित विभिन्न वालेट मार्फत कारोवार गर्ने प्रयोगकर्ता ७० लाख ६४ हजार ८५३, कनेक्ट आईपीएसका प्रयोगकर्ता २८ लाख ८० हजार ९६ र डेभिड कार्डका प्रयोगकर्ता ८० लाख ४९ हजार ५९ पुगेका छन् ।

मोवाइल बैंकिङबाट पुस मसान्तमा मात्रै ८६ लाख ८१ हजार ३ सय ६९ कोरोवार संख्याबाट ३० अर्ब ५१ अर्ब ५३ लाख रुपैया बराबरको फण्ड ट्रान्सफर भएको छ । यसको तुलनामा कनेक्ट आईपीएसका करोवार संख्या १४ लाख ३ हजार ८७३ मात्र भए पनि यसबाट धेरै रकम कम शुल्कमा पठाउन सकिने र सेयर खरिद–विक्रीको भुक्तानी पनि हुने भएकाले करिव १ खर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।

वालेटबाट पुस मसान्तसम्ममा ९८ लाख ९० हजारभन्दा बढी कारोवार संख्याबाट करिव ९ अर्ब ६५ करोड ५६ लाख रुपैयाँ बरावरको कारोवार भएको छ । त्यस्तै क्यूआर भुक्तानी सेवामार्फत ३ लाख ७२ हजार १ सय ७६ कारोवारबाट १ अर्ब २४ करोड रुपैयाँ भुक्तानी भएको छ भने एटीएम मेसिनबाट ७४ लाख ७८ कारोवारबाट ६१ अर्ब ६० लाख रुपैयाँ बराबरको कारोवार भएको देखिन्छ ।

मोवाइल बैंकिङको नेटवर्क

मोवाइल बैंकिङका लागि आवश्यक पर्ने एप्स, प्रविधि, नेटवर्क, स्वीच र सेटेलमेन्टमा मुख्य ४ कम्पनीको संलग्नता छ । केही बैंक तथा वित्तीय संस्थाले भारतलगायत मुलुकबाट मोवाइल बैंकिङसम्वन्धी प्रविधि र नेटवर्क प्रयोग गरे पनि अधिकांश बैंकहरुले नेपालकै एफवान सफ्ट र यस अन्तर्गतको कम्पनी ‘फोन पे’ मार्फत एप्स नेटवर्क र स्वीच लिने गरेका छन् । कारोवारको सेटलमेन्ट चाहीँ नविल बैंकले गर्ने गरेको छ ।

कसरी हुन्छ कारोवार ?

फोन पेको नेटवर्क भएका सम्पूर्ण बैंकहरुले कारोवारका लागि नविलमा रहेको नोस्ट्रो एकाउन्ट खोली रकम जम्मा गर्छन् । फोन पेले स्वीचको काम गर्छ । अर्थात्, एउटै बैंकका फरक खाता नम्वर वा अन्तर बैंकिङ कारोवार गर्न गर्दा उसले रकम डेविट र क्रेडिटका लागि अनुमति माग्छ । सम्वन्धित बैंकहरुले अनुमति दिएपछि उक्त सन्देश नविल बैंकलाई पठाउँछ र नविल बैंकले राफसाफ गरिदिएपछी कारोवार हुन्छ । अर्थात फोन पेले डिजिटल रुपमा रकम पठाउन वा पाउनका लागि सहजकर्ताको भुमिका निर्वाह गर्दछ ।

शुल्कको बाडफाँड

ग्राहकले मोवाइल बैंकिङमार्फत रकम ट्रान्सफर गर्दा प्राप्त हुने शुल्कमध्ये फोन पेले ४५ प्रतिशत, सेटेलमेन्ट गरेबापत नविल बैंकले ५ प्रतिशत र अन्तर बैंकिङ कारोवार गर्ने दुई बैंकले बाँकी ५० प्रतिशत रकममध्ये २५/२५ प्रतिशत बाँडेर लिने गरेका छन् ।

बैंकको खर्च

मोवाइल बैंकिङका लागि आवश्यक पर्ने सिस्टम नेपालका बैंकहरुले भारत वा एफवान सफ्टमार्फत लिने गरेका छन् । एफवान सफ्टबाट प्रणाली जडान तथा एप्स निर्माणको काम गर्न करिब ८० लाखदेखी १ करोडको लाग्ने गर्छ ।

बैंकहरुले मोवाइल बैंकिङका लागि अतिरिक्त कर्मचारीको व्यवस्था गर्नुपर्ने हुन्छ भने मर्मत-सम्भारका लागि थप रकम छुट्याउनुपर्ने बैंकर्स वताउँछन् ।

शुल्कमा मनाेमानी

वित्तशास्त्री अनलराज भट्टराई एउटा कारोवारमा ७५ रुपैयाँसम्म शुल्क असुल्नु जायज नभएको बताउँछन् । यसले उपभोक्तामाथि अन्याय भएको उनको टिप्पणी छ ।

‘कनेक्ट आईपीएसले लिने शुल्कको हाराहारीमा बैकहरुले मोवाइल बैंकिङको शुल्क लिएको भए त्यसलाई ठिकै मान्नुपर्छ । तर यदि तपाईले भने जस्तै ७५ रुपैयाँसम्म लिन्छन् भने त्यो चाहीँ गलत हो,’ उनले भने, ‘एटीएमलगायत अन्य सेवामा नेपाल राष्ट्र बैकले शुल्क नलिनु भनेकाले बैंकहरु समस्यामा पनि छन् ।’

बैंकहरुले प्रयोग गर्ने सुचना-प्रविधिको विश्वसनियता माथिसमेत उनले प्रश्न उठाए ।

‘बैकहरुले प्रयोग गर्ने साइवर सेक्युरिटीको कुरा गर्नुहुन्छ भने त्यो अत्यन्तै कमजोर छ । सरकारले राष्ट्रिय स्वीच निर्माण गर्नुपर्नेमा त्यो पनि गर्न सकेको छैन । सरकार तथा नियमकका पनि थुप्रै कमजाेरी छन्,’ उनले भने ।

यसरी बैंकहरुले चर्कोमा शुल्क असुल गरिरहेको विषयमा केन्द्रीय बैंक बेखवरजस्तै छ । नविल एफवान सफ्ट र बैंकहरुले मिलेर मोवाइल बैंकिङसम्वन्धी कारोवार गरिरहेको विषयमा समेत राष्ट्र बैंकका अधिकारी अनभिज्ञ देखिए ।

नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले ७५ रुपैयाँसम्मको शुल्क लिएको हो भने त्यो गलत भएको बताए ।

‘हामी कुनै पनि उत्पादनको मुल्य बजारले निर्धारण गर्छ भन्ने मान्यता राख्छौँ, तर मनोमानी ढंबाट शुल्क असुल गरिरहेका रहेछन् भने कुरा तपाईबाट थाहा पाएँ,’ उनले भने, ‘यो सत्य हो भने त निकै महंगो भयो । हामी यसबारेमा बुझ्छौ र यो महँगो भएमा अन्य डिजिटल प्लाटफर्म प्रयोग हाम्रो आग्रह छ ।’

मोवाइल बैंकिङका फाइदा

मोबाइल बैकिङको प्रयोग बैंकका ग्राहक तथा बैंक दुवैका लागि फाइदाजनक छ । यसले नेपालको बैंकिङ प्रणालीलाई ‘पेपरलेस’ तथा ‘फेसलेस’ मात्रै होइन दीर्घकालमा शाखारहित नै बनाउन सक्ने विज्ञहरु वताउँछन् । ग्राहक बैंकका शाखासम्म पुग्ने समय र लागत वचत हुन्छ भने बैंक सञ्चालन खर्चमा कमी आएको केन्द्रीय बैंक वताउँछ ।

मोबाइल बैकिङले सानोभन्दा सानो कारोबारका लागि बैंकको शाखा पुग्नपर्ने अवस्थाको अन्त्य भएको छ । बैंकभित्र भीडभाडमा कम भएको छ भने कारोबारका लागि भौचर भर्नुपर्ने, लाइन बस्नुपर्ने, टोकन लिनुपर्ने लगायतका झन्झटबाट उपभोक्तालाई मुक्त गरिदिएको छ ।

यता बैंकको हकमा भौचर छपाई, कलम लगायतका मसलन्द खर्च पनि ह्वात्तै घटेको छ । अटोमेसिनले कमर्चारीको लागत कम गरिदिएको छ भने कोभिडको सतर्कताका लागि प्रयोग हुने सेनिटाइजरको उपभोग पनि घटाएको छ । यसरी बैंकहरूले मोबाइल बैंकिङबाट कारोबार गर्दा कुनै पनि शुल्क नलिए पनि दीर्घकालमा फाइदा हुने केन्द्रीय बैंकको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *