७ सचिवले यही आर्थिक वर्षमा अवकाश पाउँदै, २१ सह-सचिव बढुवाको दौडमा – Nepal Press

७ सचिवले यही आर्थिक वर्षमा अवकाश पाउँदै, २१ सह-सचिव बढुवाको दौडमा

काठमाडौ । चालु आर्थिक वर्षको समाप्ति अर्थात आगामी असार मसान्तसम्ममा ६ जना नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारीले अवकास पाउँदै छन् । सोमबार मात्रै गण्डकी प्रदेशका प्रमुख सचिव बिष्णुप्रसाद नेपालले अनिवार्य अवकास पाएपछि रिक्त रहेको पदका लागि ५ जना सह-सचिव दौडमा छन् ।

भावी सचिवका लागि सह-सचिवहरु कृष्णबहादुर रावत, दामोदर रेग्मी, गणेश प्रसाद पाण्डे, मधुसुदन बुर्लाकोटी र कृष्णहरी पुस्कर आकांक्षी हुन् । हाल रावत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, रेग्मी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा, पाण्डे उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयमा, बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालयमा र पुष्कर गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा छन् ।

सचिवको पद रिक्त भएको दोस्रो दिन मंगलबार लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा रहेको बढुवा समितिको बैठक बस्न लागेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव बसन्त अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए । अधिकारीका अनुसार बढुवा समितिले ३ जनाको नाम मन्त्रिपरिषद्को बैठकमा सिफारिस गरेपछि मन्त्रिपरिषद् बैठकले एक जनालाई सचिवमा बढुवा गर्नेछ ।

बढुवा समितिले यीबाहेक अरु सहसचिवको नाम पनि सिफारिस गर्न सक्ने उनले बताए । बढुवा समितिले एक सहसचिवलाई सचिवमा बढुवा गर्दा ३ सह-सचिवको नाम मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने कानूनी व्यवस्था छ । तीनमध्ये बरिष्ठता र कार्य सम्पादन मूल्यांकनका आधारमा एक जनाको नाम मन्त्रिपरिषद्को बैठकले अनुमोदन गर्छ ।

यसै वर्ष अवकाश पाउनेमा २०७८ बैशाख ६ गते बाग्मती प्रदेशका प्रमुख सचिव डा. मानबहादुर विके, बैशाख ७ गते वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ वली, वैशाख २४ गते उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सिंचाइ सचिव मधुसुधन अधिकारी छन् । यस्तै जेठ ६ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. सञ्जय शर्मा, जेठ १५ गते कर्णाली प्रदेशका प्रमुख सचिव चन्द्रमान श्रेष्ठ र जेठ २४ गते उपराष्ट्रपति कार्यालयका सचिव गोपिनाथ मैनालीले अवकाश पाउने छन् । विशिष्ट श्रेणी अर्थात सचिवमा अहिले ६७ जनाको दरबन्दी छ ।

चालु आर्थिक वर्षको ४ महिनामा २० जना सह-सचिवले पनि अनिवार्य अवकाश पाउदैछन् । अवकाश पाउनेमा यादव सुवेदी, तेजराज पाण्डे, भक्तबहादुर ढकाल, यज्ञराज बोहोरा, शम्भुबहादुर खड्का, नारायण अधिकारी, केदारप्रसाद पनेरु, टिकाराम ज्ञवाली, नरेन्द्र खड्का छन् ।

यस्तै नरेन्द्रसिंह भण्डारी, द्रोण पोखरेल, यज्ञबहादुर हमाल, दिगम्बर ठाकुर, जिवन प्रकाश श्रेष्ठ, किशोरी जोशी, हरी बखती, रुपनारायण भराई, दिर्घनारायण पौडेल, राजेश पौडेल, कञ्चनराज पाण्डे र मुरारी महत पनि रहेका छन् ।

चालु आर्थिक वर्ष ०७७/७८ को बाँकी ४ महिनाको अवधिमा ६० जना उपसचिवले पनि अवकाश पाउदैछन् । राष्ट्रिय किताबखाना (निजामती) ले आर्थिक वर्ष ०७७/७८ मा अनिवार्य अवकाश हुने कर्मचारीको सूचना नै प्रकाशित गरेको थियो ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म १५ सय १० जना विभिन्न श्रेणी तथा तह र श्रेणीविहिन कर्मचारीले अवकास पाइसकेका छन् । बाँकी ४ महिनाको अवधिमा ७ सय ८३ कर्मचारीले अनिवार्य अवकाश पाउदै छन् । यसरी हिसाव गर्दा नेपाल सरकारको मूख्य सचिवदेखि श्रेणीबिहिन कर्मचारी गरेर चालु आर्थिक वर्षभरीमा २ हजार ४ सय ८० जना कर्मचारीले अवकाश पाउने भएका छन् ।

किताबखानाले हरेक आर्थिक वर्षको सुरुमा अनिवार्य अवकाश हुने कर्मचारीको नामावली सार्वजनिक गर्ने गरेको छ । जसमा कार्यालय सहयोगीदेखि सचिवसम्मका कर्मचारीको अनिवार्य अवकाशको सुचिमा छन् । किताबखानाले सूचनामा उमेर हदका कारण वा सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने कर्मचारीले अवकाश हुने मितिभन्दा ६ महिनाअगावै निजामती सेवा नियमावली २०५० बमोजिमको फाराम भरी आफू बहाल कार्यालयमार्फत पठाउन अनुरोध गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर