नेपाल पक्षको पर्खाइमा माओवादी केन्द्र अनिर्णयको बन्दी – Nepal Press

नेपाल पक्षको पर्खाइमा माओवादी केन्द्र अनिर्णयको बन्दी

काठमाडौं। सर्वोच्च अदालतले पुरानै पार्टीलाई ब्युँताइदिएपछि बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक दुई दिनसम्म चलेर स्थगन भयो। परिवर्तित सन्दर्भमा पार्टीको नयाँ संगठन संरचना, नाम परिर्वतन, सरकारलाई दिएको समर्थनमा फिर्ता लिने या नलिने, एमालेमा गएकालाई कारबाही गर्ने लगायतका विषयलाई एजेन्डा बनाएर आइतबादेखि शुरू भएको बैठक महत्वपूर्ण निर्णय लिएर सकिने अनुमान गरिएको थियो ।

तर, सोमबार अनिश्चित समयका लागि स्थगित भएको बैठकले त्यस्ता कुनै निर्णय गरेन । बरु नेकपामा रहँदा भएको संगठन संरचनालाई नै कायम राख्दै कार्यकर्तालाई संगठन निर्माणमा पठाउने निर्णय गर्यो । ‘अहिले नै कमरेडहरु प्रदेश र जिल्ला जिल्लामा जानुहुने छ,’ बैठकपछि संवाददाताहरुसँग कुराकानी गर्दै नेता नारायणकाजी श्रेष्ठले भने, ‘उहाँहरुले एकसरो तलसम्म संगठनात्मक काम गर्नुहुने छ। त्यसपछि फेरि हामी केन्द्रीय कमिटीको बैठक सुचारु गर्ने छौं । त्यसपछि राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गर्ने छौं।’

माओवादी केन्द्रको बैठक कुनै औपचारिक निर्णय नगरि स्थगन हुनुमा मुलतः दुई कारण देखिएको छ । पहिलो, सत्तासमीकरण प्रष्ट नहुनु र दोस्रो, एमालेको माधव नेपाल पक्षको कदमको पर्खाइ । बैठक स्थगनको कारण बताउँदै श्रेष्ठले पनि त्यस्तो संकेत गरे । ‘बैठकलाई निष्कर्षमा पुर्याउनको निम्ति अहिलेको राजनीतिक कार्यभारका बारेमा हामीले जुन तिब्रताका साथ वार्ता टुंगिएला भन्ने साचेका थियौं, त्यो टुंगिसकेको छैन्,’ उनले भने, ‘त्यो टुंगिएपछि नै निष्कर्षमा पुग्न सकिन्छ ।’

पूर्व माओवादी र अन्य केही पार्टीबाट समेत आउने तयारी गरिरहेकाले अहिले केही निर्णय नरिएको एक केन्द्रीय सदस्य बताउँछन्। ‘बैठक अहिले स्थगित भएको चाहिँ तत्कालीन राजनीतिक घटनाक्रम स्पष्ट नभइसकेको हुनाले हो,’ उनले भने, ‘सरकार निर्माण सम्बन्धि घटनाक्रम तिब्र भइरहेको अवस्थामा तीन/चार दिन अलि बढी त्यसमा केन्द्रित हुनु पर्ने हुनाले बैठकलाई अहिले स्थगन गरिएको हो ।’

उनले थपे, ‘कतिपय उता गएका पनि आउने तयारी भइरहेको स्थिति छ। त्यतिबेलासम्म फर्किने पनि फर्किइसक्छन् । राजनीतिक घटनाक्रम पनि अलि स्पष्ट हुन्छ ।’

अर्का एक केन्द्रीय सदस्य भने एमालेको माधव नेपाल पक्षको निर्णयलाई पर्खिएकाले अहिले केही पनि औपचारिक निर्णय नगरिएको बताए । ‘माधव नेपाल पक्षसँग पनि कुराकानी भइरहकोले उहाँहरुको अवस्था के हुन्छ, त्यसलाई पर्खेर मात्रै निर्णयहरु लिने कुरा भएको छ,’ उनले भने, ‘राजनीतिक घटनाक्रम हेर्दा माधवजीहरु पनि एमालेमै रहीराख्ने अवस्था छैन। उहाँहरुलाई समेत पर्खेर सबैलाई सहज हुने गरि निर्णय गरेर जानलाई बैठकमा राखिएका कुनै पनि एजेन्डामा निर्णय भएन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर