‘तपाईंहरूले बच्चालाई ढुंगामा बजारेजस्तै गर्नुभयो, अदालतले मेरो राजनीतिक जीवन जोगायो’ – Nepal Press
धुम्बाराहीमा ओलीको बोली

‘तपाईंहरूले बच्चालाई ढुंगामा बजारेजस्तै गर्नुभयो, अदालतले मेरो राजनीतिक जीवन जोगायो’

नेकपाको अवधिका सबै कुरा भुलौं भन्दै तीनै कुरा कोट्याएर उठे नेताहरू

काठमाडौं । आइतवार साँझ माधव नेपालसहित एमालेका ११ जना स्थायी कमिटी सदस्यहरूको संयुक्त वक्तव्य आएपछि अब केपी ओली र माधव नेपाल पक्ष तीन महिनाको बीचमा दोस्रोपटक विभाजित हुँदैछन् भन्ने धेरैको आँकलन थियो ।

जसरी असोज तेस्रो साता माधव नेपालहरूसहितको सहभागितामा प्रचण्डले ओलीविरुद्ध प्रस्तुत गरेको लिखित ‘अभियोगपत्र’ ले अन्ततः नेकपा फुटेको थियो, लगभग त्यही अवस्थातिर पुनःस्थापित एमाले पुग्न लागेको बेला अचानक दुवै पक्ष एकै ठाउँमा बस्ने वातावरण ओलीले नै तयार पारे ।

शुरूमा दुवै पक्षबाट चार-चारजना नेता बसेर छलफल गर्ने भनिएपनि धुम्बाराही पुग्दा त्यो संख्या बढेको थियो । झलनाथ खनालको अनुपस्थितिलाई अर्थपूर्णरूपमा लिइए पनि झलनाथसँग नजिक मानिने नेताहरूको समेत सहभागिताले एमाले फुट्न नदिने पहलको शुरूआतका रूपमा लिन सकिन्छ ।

वार्तामा सहभागी दुवै पक्षका नेताहरूले अनौपचारिक कुराकानीका क्रममा एउटै कुरा भने- हामी भौतिक रूपमा पुस ७ गते केपी ओलीलाई नेकपाका अध्यक्षबाट हटाएको घोषणा गरेकै दिनदेखि फुटिसकेका हौं । अदालतको फैसलाले कानुनी रुपमा एमाले बनाए पनि राजनीतिकरूपमा अहिलेपनि फुटकै अवस्थामा छौं भन्ने आजको वार्तामा पनि प्रकट भयो ।

एक नेताका अनुसार माधव नेपाल पक्षका अन्य नेताहरू विभाजनको बाटोमा जानु हुँदैन, केही न केही उपाय निकालेर एमाले एकढीक्का राख्नुपर्छ भन्नेमा सकारात्मक देखिए । बरु नेपाल आफैं चाहिँ धुम्बाराहीको वार्तामा आक्रामक रूपमै प्रस्तुत भएको वार्तामा सहभागी नेताले बताए ।

ती नेताले नेपाल प्रेससँग भने, ‘अरु साथीहरू मिल्ने ठाउँ खोजौं भन्नेमा सकारात्मक रूपमै आउनुभयो । तर माधव कमरेड चाहिँ एकदमै ‘इरिटेटिङ’ ढंगले प्रस्तुत हुनुभयो । उहाँमा कति पनि रियलाइजेशन देखिएन । बरु हार्डलाइनर भनिएका साथीहरूले सकारात्मक उपाय खोजौं भनेर चिन्तित रूपमा कुरा राख्नुभयो ।’

वार्तामा महासचिव ईश्वर पोखरेल माधव नेपाल पक्षलाई ‘ह्युमिलियट’ गर्ने ढंगले प्रस्तुत भएको अर्को पक्षको नेताले बताए । पोखरेलले आफ्नो अध्यक्ष र प्रधानमन्त्रीविरुद्ध फौजदारी अभियोग लगाइएकोमा माफी माग्नुपर्ने भन्दै अब एमालेमा बहुकेन्द्र बनाउने र फेरि नेकपाकै बेलाको ‘ल्याङल्याङ’ स्वीकार्य नहुने बताएका थिए ।

२ घण्टा १० मिटेको छलफलमा ओली र नेपालबीच पटक-पटक सवाल-जवाफ र घोचपेच चलेको थियो । ओलीले बोलिरहँदा नेपालले पटक-पटक आपत्ति जनाएका थिए ।

प्रधानमन्त्रीको मार्मिक मन्तव्य

वार्तामा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले केही समय लिएर लामै कुरा राखेका थिए । वार्तामा सहभागी नेताका अनुसार ओलीले मार्मिकरूपमा आफूमाथि प्रचण्डसँग मिलेर माधव नेपाल पक्षले सकेजति सबै ज्यादती गरेको भन्दै तर अब बिगत सम्झेर बदला लिने सोच आफूमा नरहेको बताएका थिए ।

ओलीको भनाइ उदृत गर्दै ती नेताले भने, ‘तपाईंहरूले त सक्ने भए मलाई के बाँकी राख्नुहुन्थ्यो । एउटा बच्चालाई लगेर ढुंगामा बजारेको जसरी तपाईंहरूले केही बाँकी राख्नुभएन । अदालतको फैसलापछि एउटा स्थितिले मेरो राजनीतिक जीवन जोगिएको हो नत्र सिध्याउनै लाग्नुभएको थियो । मैले तपाईंहरूबाट अपेक्षा गर्ने भनेको त्यो गल्तीको रियलाइजेशन हो । सबै कुरा कोट्याएर जान चाहान्न ।’

ओलीले अदालतको फैसलाबाट एमाले पुनःस्थापित नभएको भए आफ्नो राजनीतिक जीवन नै धरापमा परेको सुनाएका थिए । आफ्नै अध्यक्षलाई चार-चारपटक निष्कासनको घोषणा गरेको, फौजदारी अभियोग लगाइएकाजस्ता प्रसंग उठाउँदै ओलीले सक्नेजति गरेर पनि नसकेपछि अदालतको फैसलाबाट नयाँ ठाउँमा पुगिएको बताए ।

वार्तामा सहभागी एमाले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले प्रधानमन्त्रीले हिजो आफूमाथि गरिएका भद्दा कारबाहीहरूको प्रसंग उठाएपनि ती कुरा बिर्सेर पार्टीलाई एकताबद्धरूपमा अघि बढाउन तयार रहेको बताए । नेपाल प्रेससँग कुरा गर्दै नेम्वाङले हिजो अर्को पक्षसँग मिलेर गरिएका त्यस्ता कुराप्रति आत्मालोचित हुनु राम्रो हुने बताए ।

नेम्वाङले भने, ‘साथीभाइहरूले सक्नेजति त गरेकै हुन् । हिजो गल्ती भयो भनेर आउनु धेरै राम्रो हुन्छ । तरपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्षले हिजोका कुरा बिर्सेर अघि बढौं भन्नुभएको छ । सर्वोच्च अदालतले एमाले पार्टी फिर्ता आएको छ, यसलाई एकताबद्ध बनाउँ भन्नुभयो । तर, उहाँहरू सहमत भइसक्नुभएको छैन ।’

वार्तामा सहभागी एमाले उपाध्यक्ष भीम रावलले भने तीन महिनापछि एकै ठाउँमा बसेर वार्ता गर्ने बाहेक ठोस कुनै प्रगति नभएको प्रतिक्रिया दिए । नेपाल प्रेससँग कुरा गर्दै रावलले अध्यक्ष ओली फागुन २८ को निर्णयबाट पछि नहट्ने देखिएकाले आफूहरू राष्ट्रिय भेलासहितका गतिविधिमै रहने बताए ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले वार्ता हुनु आफैंमा सकारात्मक रहेको र यसले पार्टीलाई एकताबद्ध राख्नुपर्छ भन्ने पंक्तिलाई बल पुगेको बताए । तर, फागुन २८ गतेको विशेष केन्द्रीय कमिटीको निर्णय भने कार्यन्वयनमा गइसकेको ज्ञवालीको भनाइ छ ।

फागुन २८ को निर्णयबाट आफू पछि नहट्ने ओलीले प्रष्ट पारेपछि नेपाल पक्ष अब एकताको सम्भावना नरहेको निष्कर्षमा पुगेको छ । यद्यपि छलफल जारी राखिने रावलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर