‘अर्को सरकार बन्ने अवस्था भइसकेको छैन, कांग्रेस फुर्सदमा पछुताउने काम गर्दैन’ – Nepal Press
नेपाल टक

‘अर्को सरकार बन्ने अवस्था भइसकेको छैन, कांग्रेस फुर्सदमा पछुताउने काम गर्दैन’

कांग्रेसको नेतृत्वमा माओवादी र जसपा आउन तयार भए हामी अघि बढ्छौं

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिन्छन्, कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत । संसद पुनःस्थापना सक्दै नयाँ सत्ता समीकरणका लागि अग्रसर हुन सभापति देउवालाई पार्टीभित्र ‘ग्रीन सिग्नल’ प्राप्त भइसकेको छ । यद्यपि सभापति देउवा स्वयंले सत्ता समीकरणका लागि पर्याप्त पहल गरिसकेका छैनन् । सम्भावित सत्ता समीकरण, कांग्रेस र सभापति देउवाको रणनीतिबारे सहमहामन्त्री महतसँग नेपाल प्रेसका लागि भानुभक्त आचार्यले गरेको कुराकानी प्रस्तुत छ, नेपाल टकमा–

वर्तमान सरकारको विकल्प खोजेर सरकारको नेतृत्व गर्ने अवस्थामा कांग्रेस पुगिसकेको हो ?

नेपाली कांग्रेस एक जिम्मेवार राजनीतिक दल हो । सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आइपर्‍यो भने कांग्रेस जिम्मेवारीबाट भाग्दैन । सबै दलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प र कांग्रेसको नेतृत्व आवश्यक महसुस गरे भने कांग्रेसले सरकारको नेतृत्व गरेर मुलुकलाई निकास दिने छ । तर, अहिले त्यस्तो अवस्था बनिसकेको छैन । अर्को कुरा नेपाली कांग्रेस सरकारमा जानकै लागि धेरै चलखेल गर्ने पक्षमा छैन । संसद भनेको अंकगणितले चल्छ । कांग्रेससंग सरकार ढाल्ने र बनाउने अंकगणित छैन । त्यसैले हामी जोड घटाउमा छैनौं ।

माओवादी र जसपासँग गठबन्धन भयो भने त कांग्रेसको पक्षमा बहुमत पुग्न सक्छ नि ?

पुग्छ तर त्यसका लागि कुरा मिल्नुपर्‍यो । माओवादी केन्द्रले मान्नुपर्‍यो । सिंगो जसपा सहमत हुनुपर्‍यो । त्यतिबेला बल्ल कांग्रेसले संसदको अंकगणितमा ध्यान दिन्छ । अहिले त्यस्तो अवस्था बनिसकेको छैन । त्यस्तो अवस्था बन्नैपर्छ भन्नेमा पनि कांग्रेस छैन । जेसुकै गरेरपनि सरकारमा जाने कांग्रेसको लक्ष्य होइन । हामी त आम निर्वाचनबाट बहुमत ल्याएर सरकार चलाउन चाहन्छौं ।

हाम्रो लक्ष्य अल्पकालीनभन्दा पूर्णकालीन सरकार चलाउने हो । हुन त अहिले पनि विकल्प दिनुपर्ने अवस्था छ । विकल्पबारे छलफल भइरहेको छ तर निष्कर्षमा पुगिसकेको छैन ।

माओवादी केन्द्र कांग्रेसको नेतृत्वमा सरकार बनाउन तयार देखिएको छ । जसपाले पनि बूढानीलकण्ठ पुगेर छलफल गरिसकेको छ । यति हुँदा पनि कांग्रेसले किन हिम्मत गर्न नसकेको ?

माओवादीले भन्दैमा, जसपाले वार्ता गर्दैमा सबै कुरा हुदैन नि । छलफलमा म पनि थिएँ । उहाँहरुले कांग्रेसको नेतृत्वमा सरकार बनाउने भन्नुभएको छैन । आफ्ना राजनीतिक एजेण्डा राख्नुभएको छ । वर्तमान सरकारको अराजकताबाट मुलुकले निकास पाउनु राम्रो कुरा हो ।

सहज रुपमा कांग्रेस नेतृत्वमा सरकार बन्छ भने स्वागतयोग्य कुरा हो । तर हतारमा निर्णय लिएर फुर्सदमा पछुताउने अवस्था छैन । राजनीतिमा परिपक्व निर्णय गर्नुपर्छ । कांग्रेसले यसमा परिपक्वता प्रस्तुत गर्छ, हतार गर्दैन ।

जसपा र कांग्रेसको बैठकमा तपाई पनि सहभागी हुनुहुन्थ्यो । जसपाकै नेताहरुमा पनि दुई धार देखिएको महसुस गर्नुभएको त हैन ?

जसपाको कुरा जसपाले नै जान्ने हो । उहाँहरूमा कति धार हुने भन्नेमा कांग्रेसले आँकलन गर्दैन । तर, कुरा बुझ्दा केही न केही अन्तर भएजस्तो देखिन्छ । ओलीको विकल्प खोज्ने संस्थागत निर्णय जसपाले गरिसकेको छैन । त्यसैले अहिले नै सबैकुरा प्रष्ट भइसकेको मान्न सकिदैन ।

जसपा र माओवादी मिल्दा पनि किन कांग्रेसले किन खुट्टा कमाउँदै छ ?

जसपा पूरै कहाँ आएको छ र ? उनीहरू त सबैसँग गइरहेका छन् । ओली जी कहाँ पनि त गइरहेका छन् । भेट्दैमा समर्थन गर्न आएको र समर्थन प्राप्त भइसक्यो भन्ने त छैन नि । मैले भने स्वभाविक रूपमा नेपाली काँग्रेसको नेतृत्वमा माओवादी र जसपा दुवैले सहज रूपमा समर्थन गर्ने अवस्था आयो भने वैकल्पिक सरकार बन्छ । अहिलेसम्म त्यो अवस्था आइसकेको छैन । त्यो परिस्थिति बनिसकेको छैन । त्यो समझदारी बनिसकेको छैन । अहिलेसम्म विकल्पमा सुनिश्चित अङ्कगणित बनिसकेको छैन ।

सुनिश्चित अङ्कगणित बन्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?

ओली सरकारबाट लोकतन्त्र र संविधान सुरक्षित छैन भन्ने महसुस सबैले गरिरहेका छन् । तर, संसदमा भएका अन्य दलहरुले ओलीको विकल्पमा उपयुक्त प्रस्ताव ल्याइसकेको अवस्था छैन । कांग्रेस एक्लैले संसदको अंकगणित मिलाउन सक्दैन । यदि माओवादी र जसपा तयार हो भने मूर्त रुपमा कुरा आउनुपर्‍यो । अहिले राजनीतिक भेटघाट भएपनि सत्ता समीकरणबारे ठोस प्रस्ताव आएको छैन । त्यसैले यही हुन्छ भन्ने अवस्था बनिसकेको छैन ।

सबैले कांग्रेसको नेतृत्व स्वीकार गरेर भूमिका खेल्ने हो भने मात्रै हामी तयार छौं । कांग्रेस आफ्नै नेतृत्वको सरकारमा मात्रै जान्छ, अरु सरकारमा जाँदैन ।

कांग्रेस त अनिर्णयको बन्दी भयो भन्छन् नि ?

अहिले कांग्रेस अनिर्णयको बन्दी बनेको होइन । मैले भने अङ्कगणितले निर्धारण गर्छ सत्ता कसको हुने भन्ने । नेपाली कांग्रेसले निर्णय गर्दैमा त्यो प्राप्त हुने हो र ? निर्णय गर्नु ठूलो कुरा होइन परिणाम ल्याउनु पो ठूलो कुरा हो । उपयुक्त बेलामा कांग्रेसले उचित निर्णय लिने नै छ ।

विगतमा केन्द्रीय समितिको बैठकले ‘ओली सरकार असफल भएको र शासन गर्ने अधिकार नभएको’ ठहर गरेको थियो । यता संवैधानिक नियुक्तिमा भागबन्डा गरेकाले देउवाले केपी ओलीलाई नै साथ दिने मूडमा छन् पनि भनिन्छ । यही कारणले कांग्रेस अहिलेसम्म द्विविधामा हो ?

यो नियुक्तिमा पार्टी सभापति सहभागी नै हुनुभएको छैन । हामीले विरोध गरेका छौँ । सबै बसेको बैठकमा त सहजरूपमा निर्णय गर्ने भनेर नै बसेको हो । त्यो नहुँदा अध्यादेशको बाटोमा ओली जाँदा त्यसमा भाग नलिएर यो स्वीकार्य छैन भनेर हामीले विरोध गरेका छौँ । त्यस कारण हामीलाई त्योसँग जोड्नुको कुनै अर्थ नै छैन ।

वैकल्पिक सरकारको चर्चा चुलिएको छ तर वैकल्पिक सरकार चै कसको नेतृत्वमा बन्ला त ?

नेपाली कांग्रेस आफ्नो नेतृत्व बाहेक सरकारमा जाँदैन । हामीले कम्युनिस्ट पार्टीको ३ वर्षको अवस्थाको विरोध गरेका छौँ । त्यसैले अर्काे कुनै कम्युनिष्ट घटकको नेतृत्वमा सरकारमा जाने कुरा छैन । अरूको नेतृत्वमा पनि सायद अहिले जाने कुरा छैन । सबैले कांग्रेसको नेतृत्व स्वीकार गरेर भूमिका खेल्ने हो भने मात्रै हामी तयार छौं । कांग्रेस आफ्नै नेतृत्वको सरकारमा मात्रै जान्छ, अरु सरकारमा जाँदैन ।

एमालेको समर्थनमा देउवा प्रधानमन्त्री बन्ने प्रस्ताव आएमा कांग्रेसले के गर्छ ?

प्रस्ताव नै नआउँदा यस्तो होला भन्न सकिने अवस्था छैन । पहिले भनेका थिए । तर, प्रधानमन्त्री ओलीले सहजरुपमा सत्ता छोड्नुहोला जस्तो मलाई लाग्दैन । त्यस कारण हामीलाई त्यो अपेक्षा पनि छैन । त्यसैले सरकारको विकल्प नै आवश्यक छ अहिले ।

त्यसो भए जसपाभित्र एक मत नभएसम्म देउवा प्रधानमन्त्री बन्न हतार गर्नुहुन्न ?

नेपाली काँग्रेसको नेतृत्वमा सहज रूपले सरकार बन्नुपर्छ । ओलीले धेरै क्षति पुर्‍याए देशलाई, लोकतन्त्रलाई भन्ने कुरा महसुस गरेर नेपाली काँग्रेसको नेतृत्वमा बैकल्पिक सरकार बनाऊ भन्ने निष्कर्षमा उहाँहरू पुग्नु भयो भने त्यो सम्भव हुन्छ । अन्यथा मैले अघि पनि भने कांग्रेसलाई यत्तिकै नपुग्दै सरकारमा जान हतार छैन ।

ओली नेतृत्वको सरकारलाई माओवादीले लिएको समर्थन अहिले सम्म कायम छ । माओवादीले यही सरकारलाई समर्थन गर्ने अवस्था आउन सक्छ भनेर कांग्रेसले अहिले पर्ख र हेर को रणनीति अपनाएको हो ?

(हाँस्दै) प्राविधिक रूपमा पनि धेरै नभनेका कुरा पछि हुन सक्छन् । जे भएपनि तीन दलको बिचमा आम सहमति नबनाई बैकल्पिक सरकार बन्ने अवस्था छैन । एमाले भित्र पनि विद्रोह छ । असन्तुष्टि छ । त्यहाँबाट पनि केही निस्कन सम्भव छ कि छैन त्यो पनि थाहा छैन । त्यसो हुँदा पनि तीन दल एक ठाउँमा आउन आवश्यक हुन्छ ।

प्रसङ्ग बदलौँ । नेपाली कांग्रेसको महाधिवेशनको नयाँ तिथि घोषणा भएको छ । तर, यो पनि फेरि सर्ने नै त होला नि ?

सर्ने कुरा कसले गरेको छ र ?

फागुनबाट पनि तपाईंहरू सर्दै सर्दैन भन्नुहुन्थ्यो ?

त्यो बेलाको फरक कुरा हो । तपाईंलाई थाहा छ एक वर्षसम्म कोभिडबाट पुरै देश आक्रान्त भयो । ५ महिना सम्म त लकडाउन नै थियो । घरबाट कोही पनि निस्किन नपाउने अवस्थामा पार्टीका नेता कार्यकर्ताहरू निस्केर अधिवेशनको तयारी गर्न सक्ने अवस्था थिएन । ५ महिना जुन हामीले गुमायौँ त्यो कारणले यो फागुनमा हुन नसकेको हो । त्यस कारणले यो भाद्रमा हुने सुनिश्चित छ । त्यसको तयारी अगाडी बढिरहेको छ । त्यसमा कुनै द्विविधा छैन ।

नेतृत्वको लागि गुटबन्दी शुरू भइसकेको छ । पुरानै नेतृत्वले कांग्रेस हाँक्छ कि नयाँले अवसर पाउँछन् ?

यति ठूलो पार्टीमा आकांक्षीहरू धेरै हुनु अस्वाभाविक होइन । वैधानिक प्रक्रिया छ । लोकतान्त्रिक प्रक्रिया छ । प्रक्रियाले जसलाई नेतृत्व ल्याउँछ त्यही हुन्छ । अहिले उठ्छु भन्नेहरू पछि नउठ्न सक्छन् । अहिले घोषणा नगर्नेहरू पछि आउन सक्छन् । समय अझै बाँकी छ । अधिवेशनको छेउमा पुग्दा धेरै कुरा हुन्छ । हेरौँ ।

युवाले नेतृत्व पाउने सम्भावना यसपटक पनि देखिएन है ?

यहाँ युवा बुढा को कुरा छैन । कुरा पार्टीको आवश्यकताको कुरा हो । युवा हुँदैमा त्यसले पार्टी हाँक्ने भन्ने कुरा पनि छैन । हामीलाई अघिल्लो पुस्ताको अनुभवको पनि आवश्यकता छ । युवाको जाँगरको पनि आवश्यकता छ । युवा देखि बुढा सम्म सबै केन्द्रीय समितिमा छन् । त्यसैले अहिले युवा भर्सेस बुढा, बुढा भर्सेस युवा भन्ने बहस नै गलत बहस हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर