भारत तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरा बरामद – Nepal Press

भारत तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरा बरामद

विराटनगर । मोरङ प्रहरीले सोमबार बिहान जहदाबाट भारत लान तयारी अबस्थामा राखिएको ठूलो परिमाणमा मदिरा नियन्त्रणमा लिएपछि मोरङ सीमाक्षेत्रबाट मदिरा भारत तस्करी हुने गरेको खुलसा भएको छ ।

प्रहरीले सात लाख मूल्य बरावरको विभिन्न ब्राण्डका मदिारसहित तस्करीमा संलग्न एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतको विहार राज्यले मदिरा विक्री वितरणमा रोक लगाएपछि विहारमा नेपालमा उत्पादित मदिराको माग ह्वातै बढेको थियो । विहारमा मदिराको उच्च मागसँगै सीमा क्षेत्रबाट नेपाली मदिराको भारत तस्करी हुन थालेको हो ।

जहदा गाउँपालिका–१ स्थित लंका टोलबाट विभिन्न ब्राण्डका तीन सय ५० कार्टुन मदिरासहित भारत मटियारीका ३२ वर्षीय शिवलाल रायलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए।

उनका अनुसार मदिरा अवैध रुपमा भारत लैजान लागेको विशेष सूचनाका आधारमा जहदा –१ का रमेश यादवको घरमा छापा हान्न प्रहरीको विशेष टोली बिहान १ः३० बजेतिर पुगेको थियो ।

प्रहरीलाई देख्नसाथ उनी यादव भागेका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । डीएसपी राईका अनुसार यादवले रायसँग मिलेर विभिन्न सवारी साधनको प्रयोग गर्दै नेपालमा उत्पादन हुने महँगो मदिरा भारततिर तस्करी गर्ने गरेको पुष्टि भएको छ ।

प्रहरीले मदिरा तस्करीमा प्रयोग गर्दै आएको भारतीय नम्बर प्लेटको एउटा कार र चारवटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

नेपालमा उत्पादन हुने चर्चित ब्राण्डका ‘सिलप्याक’ मदिरा भारत तस्करी हुने गरेको पाइएपछि सीमा क्षेत्रमा निगरानी बढाएको प्रहरीको दाबी छ ।

यादवको घरबाट प्रहरीले सिग्नेचर, गोर्खा स्ट्रङ बियर, सोफी, उमङ्ग, ब्ल्याक ओक लगायतका चर्चित ब्राण्डका मदिरा बरामद गरेको हो । विभिन्न ब्राण्डका तीन सय ५० कार्टुन मदिरा सात लाख मूल्य बराबरको रहेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दिए।

नियन्त्रणमा लिइएको तस्करीको मदिरा र सवारी साधन तथा पक्राउ परेका रायलाई प्रहरीले आवश्यक कारबाहीका लागि सोमबार आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाउने भएको छ ।

यादवले मदिरा बेचबिखनका लागि कुनै पनि इजाजत लिएको नपाइएको प्रहरीले जनाएको छ । बिना इजाजत ठूलो परिणाममा ब्राण्डेड मदिरा खरिद गरेर उनले तस्करीमार्फत भारत लैजाने गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले बताए ।

भारतको बिहारमा मदिरा उत्पादन, बेचबिखन र सेवनमा प्रतिबन्ध लगाइएसँगै नेपालबाट भारततिर मदिराको तस्करी फस्टाएको प्रहरीकोपनि अनुमान छ ।

भारतीय सुरक्षाकर्मीले पनि नेपालबाट मदिराको तस्करी भइरहेको भन्दै नियन्त्रणमा लिन र तस्करी रोक्न नेपाली सुरक्षाकर्मीलाई आग्रह गरिरहेका छन् ।

त्यसयता मदिरा तस्करी नियन्त्रण गर्न नेपाल-भारत सीमा क्षेत्रलाई उच्च निगरानीमा राखेर कडाई गरिएको एसपी खड्काको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *