धरान फुटबल क्लब चरम आर्थिक संकटमा, यो वर्ष बुढासुब्बा गोल्डकप नहुने – Nepal Press

धरान फुटबल क्लब चरम आर्थिक संकटमा, यो वर्ष बुढासुब्बा गोल्डकप नहुने

अघिल्लो वर्षका विजेताले समेत पाएनन् पुरस्कार रकम

विराटनगर । मोफसलकै बहुप्रतिष्ठित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको २३औं संस्करण यो वर्ष नहुने भएको छ । धरान फुटवल क्लवको आयोजनामा २०५५ सालदेखि बुढासुब्बा गोल्डकप प्रतियोगिता धरानको एन्फा टेक्निकल सेन्छरको मैदानमा हुँदै आएको थियो । तर पहिलो पटक आर्थिक संकटका कारण चैत महिनमा सञ्चालन हुदै आएको प्रतियोगिता रोकिन पुगेको हो ।

कोरोना महामारीको कारण आर्थिक सहयोग जुट्न नसक्ने भएपछि गोल्डकप रोक्नु परेको आयोजक धरान फुटबल क्लबले जनाएको छ । क्लबका अध्यक्ष किशोर राईले प्रतियोगिता सञ्चालनका लागि आर्थिक पाटो बलियो नहुदा प्रतियोगिता रोक्नु परेको बताए ।

‘बुढासुब्बा गोल्डकप प्रतियोगिताका लागि आवश्य कुल बजेटमध्ये ७५ प्रतिशत दाताहरुबाट प्राप्त हुने गरेको छ’ अध्यक्ष राईले भने, तर यो वर्ष अबस्था फरक रह्यो, कोरोनाका कारण सबै क्षेत्र संकटग्रस्त छ । दाताको सहयोग लिन क्लब असमर्थ भएकाले प्रतियोगिता रोक्ने निर्णयमा पुग्यौं ।’

उनले बाँकी २५ प्रतिशत प्रायोजक, सह–प्रायोजकबाट पाउँदै आएको बताए । तर, यसपाली कोरोना महामारीले गर्दा सबैको आर्थिक अवस्था जर्जर रहेकोले गोल्डकपलाई पनि असर पुगेको बताए । द्वन्द्वकाल, मधेश आन्दोलनजस्ता विषम परिस्थितिमा पनि विगतमा यो प्रतियोगिता निरन्तर आयोजना भएको थियो ।

आयोजक क्लबले गत बर्षको २२औं सँस्करणको विजेता र उपविजेताको पुरस्कार राशी पनि सबै दिन नसकेकोबारे पनि प्रष्ट पारेको छ । प्रदेश १ सरकारबाट आउने भनिएको १० लाख र राष्ट्रिय खेलकुद परिषदबाट आउने ५ लाख बजेट पहिलो र दोस्रो हुने टिमलाई उपलब्ध गराउने भनिएको थियो । तर, ती दुवै निकायबाट बजेट अहिलेसम्म प्राप्त नभएकोले विजेता मनाङ मर्स्याङ्दीलाई २ लाख ५० हजार मात्र दिइएको अध्यक्ष राईले बताए ।

पविजेता नेपाल पुलिस क्लबलाई पनि पुरस्कार राशी ५ लाख हालसम्म उपलब्ध गराउन नसकेको उनले बताए । ‘हामीले अनेक प्रयास गर्दा पनि प्रदेश सरकार र राखेपबाट बजेट पाएनौं, त्यसैले २२ वर्षको इतिहासमा पहिलो पटक समयमा पुरस्कार राशी उपलब्ध गराउन नसकेकोमा दुःखित छौं,’ उनले भने ।

अध्यक्ष राईले धरान उपमहानगरपालिकाले गोल्डकपको अभिभावकत्व ग्रहण गर्न नसकेको र आवश्यक सहयोग, बजेट उपलब्ध नगराएकोप्रति पनि गुनासो गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *