दोस्रो बिग मर्जरको सुरसारः हिमालयन र इन्भेष्टमेन्ट गाभिन ‘तयार’ – Nepal Press

दोस्रो बिग मर्जरको सुरसारः हिमालयन र इन्भेष्टमेन्ट गाभिन ‘तयार’

काठमाडौं । नेपालका दुई ठूला वाणिज्य बैंकहरु हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक आपसमा गाभिने लगभग तय भएको छ । प्रारम्भिक सम्पत्ति तथा दायित्वको मुल्यांकन ‘डीडीए’ रिपोर्टप्रति दुबै बैंकका लगानीकर्ताहरु सकारात्मक देखिएका छन् ।

डीडीए रिपोर्ट आइसकेकाले दुबै बैंकका सञ्चालक समिति सहमत भएमा चाँडै नै एमओयु हुन सक्ने नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले बताए ।

‘हामी डीडीए सकिसकेर एमओयु गर्ने चरणमा पुगेका छौं,’ उनले भने, ‘दुवै बैंकका लागानीकर्ताहरु सहमत भए भने तपाईहरुले चाँडै नै गुड न्युज पाउनुहुनेछ ।’

मर्जरमा जाँदा स्वाप रेसियो अर्थात सेयर बाँडफाड अनुपात १ बराबर १ राख्ने कुरामा दुबै बैंक सहमत भएका छन् । अर्थात इन्भेष्टमेन्ट र हिमालय बैंकका लगानीकर्ताले मर्जर पछि पनि साविक बराबरको नै सेयर प्राप्त गर्नेछन् । दुईमध्ये एक बैंकमा कसैको १०० कित्ता सेयर भएमा उसले मर्जरपछि पनि १ सय कित्ता नै सेयर प्राप्त गर्न सक्नेछ । यदि कसैको दुबै बैंकमा १००/१०० कित्ता सेयर भएमा मर्जरपछि उसको २०० कित्ता हुनेछ ।

सेयर बजार परिसुचक नेप्सेमा हिमालयन बैंकको सेयर ५५० रुपैयाँ प्रतिकित्ताका दरले कारोवार भएको छ भने इन्भेष्टमेन्ट बैंकको ४४८ रुपैयाँ प्रतिकित्ता छ ।

बित्तीय अवस्था

दुबै बैंकको बित्तीय स्थिति निकै मजवुत देखिन्छ । चालु आर्थिक बर्षको दोस्रो क्वाटरमा हिमालयन बैंकले ६ करोड ६० लाख रुपैयाँ मुनाफा कमाएको छ भने इन्भेष्टमेन्ट बैंकले २३ करोड ७८ लाख रुपैयाँ मुनाफा कमाएको छ ।

बैंकहरुको दोस्रो क्वाटरको रिपोर्टनुसार हिमालय बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १४ अर्ब २४ करोड रुपैयाँ रहेको छ । यि दुई बैंकहरु आपसमा गाभिएमा कुल २४ अर्ब ९२ करोडको चुक्ता पुँजी पुग्ने छ ।

त्यस्तै दुवै बैंकको निक्षेप संकलन करिव ३ खर्बको हाराहारीमा रहेको छ भने कर्जा लगानी २ खर्ब ५० अर्बको हाराहारीमा रहेको छ ।

नेपालको सबैभन्दा ठुलो बैंक बन्ने

राष्ट्र बैंकका भूतपूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकहरुको संख्या घटाउने रणनीतिस्वरुप आफ्नो अन्तिम मौद्रिक नीतिमार्फत ठुला बैंकहरुबीच बिग मर्जरको नीति अघि सारेका थिए । सोही नीतिनुसार गत बर्षको मंसिर २० गते दुई ठुला बैंकहरु ग्लोबल आईएमई र जनता बैंक बिचमा मर्जर भएको थियो ।

दुई बैंक मर्जरपश्चात ग्लोवल आईएमई बैंक बनेको हो । उक्त बैंकको प्राथमिक पुँजी २४ अर्ब, चुक्ता पुँजी १९ अर्ब र निक्षेप संकलन २ खर्ब १२ अर्ब र कर्जा लगानी १ खर्ब ९४ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ । यो नेपालका हालसम्मकैे ठुलो बैंक हो । तर, हिमालयन र नेपाल इन्भेष्टमेन्ट मर्ज भएमा ग्लोबल आईएमई दोस्रोमा झर्नेछ ।

ज्वाइँ-ससुराको बैंक

बैंक सञ्चालकहरु बीचको पारिवारिक सम्वन्धले पनि हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर सम्भावना बलियो बनेको विश्वास लिइएको छ । हिमालयन बैंक हिमालय शम्सेर जबराले स्थापना गरेको बैंक हो । उक्त बैकका प्रमुख कार्यकारी अधिकृत अशोकसम्शेर जबरा हिमालयका छोरा हुन् । हिमालय अहिले पनि उक्त बैंकको सञ्चालक समितिमा रहेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे हिमालय शम्मेरका ज्वाइँ हुन ।

नेपाल राष्ट्र बैंकले व्यवसायिक तथा पारिवारिक सम्वन्ध भएको वा एउटै व्यवसायिक समूहद्धारा प्रवर्तित कम्पनीबिच मर्जरका लागि जोड गरेको छ । एकै घर–परिवार वा व्यवसायिक समूहका व्यक्तिहरुको प्रत्यक्ष–अप्रत्यक्ष स्वामित्वमा रहेका, एउटै व्यक्ति तथा समूहद्वारा प्रवर्तित बैंक आपसमा गाभ्न-गाभिन पर्ने मौद्रिक नीतिमा उल्लेख छ ।

राष्ट्र बैंकले उक्त व्यवस्था गरे पनि बैंकहरुलाई मर्जरको लागि दवाव भने दिएको छैन । राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देबकुमार ढकाल मौद्रिक नीतिमा व्यवस्था भए पनि कोभिडका कारण उक्त नीतिलाई कडाई साथ लागु नगरेको वताउँछन् ।

‘खुल्ला बजार नीतिनुरुप आवश्यक परेका बैंकहरुले आफैं कार्यान्वयन गरुन् भन्ने हाम्रो उद्देश्य हो,’ ढकालले भने, ‘कोभिडपछि हामीले उक्त नीतिमा खासै ध्यान दिन पनि पाएका छनौं ।’

चालु आर्थिक वर्षको मौद्रिक नीतिले गाभ्ने/गाभिने चाहने बैंकहरुलाई बिशेष सुविधाहरु प्रदान गरेको छ । अनिवार्य नगद अनुपातमा ०.५ प्रतिशत र वैधानिक तरलता अनुपातमा १ प्रतिशतले छुट दिने, नेपाल राष्ट्र बैंकले दिने संस्थागत मुद्दति–निक्षेप संकलन सिमा १० प्रतिशतले बृद्धि गरिदिने र नेपाल राष्ट्र बैंकले तोकेको प्रतिसंस्था निक्षेप संकलन पाँच प्रतिशतले बृद्धि गर्ने लगायतका प्रोत्साहनका व्यवस्था गरिएका छन् ।

बैंक स्वामित्व

यि दुबै बैंकमध्ये नेपाल इन्भेष्टमेन्ट बैंक पूर्णरुपमा नेपालीहरुको स्वामित्व रहेको बैंक हो भने हिमालयन बैंकमा पाकिस्तानको हबिब बैंकको २० प्रतिशत सेयर रहेको छ । पाण्डेको स्वामित्वमा रहेको छायाँ इन्टरनेशनल कम्पनीको हिमालयन बैंकमा ८.८९ प्रतिशत सेयर छ भने हिमालय शम्मेर जबराको स्वामित्वमा रहेको आभा इन्टरनेशनल कम्पनीको नाममा इन्भेष्टमेन्ट बैंकमा ११.३८ प्रतिशत सेयर रहेको छ ।

मर्जरले के फाइदा ?

  • बैंकहरु मर्जरमा गएमा सञ्चालन खर्चमा कमि आउँछ ।
  • दुई बैंकबीच भइरहेको प्रतिसपर्धा अवसरमा परिणत हुँदा लगानीका क्षेत्र तथा कर्जाका क्षेत्रहरु बिस्तार हुन्छन् ।
  • बैंकको वित्तीय तथा पुँजीको आधार दरिलो हुनुका साथै जोखिम बहन गर्ने क्षमतामा बृद्धि हुन्छ ।
  • एकै स्थानमा दोहोरो बैंकिङ शाखाहरु सञ्चालन गर्नुपर्ने वाध्यताको अन्त्य हुन्छ र बैंकको शाखा नपुगेको स्थानमा शाखा विस्तार गर्दा व्यापारमा बृद्धि हुन्छ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्ज भएमा अन्य बाणिज्य बैंकहरुलाई पनि मर्जरमा जानका लागि प्रोत्साहन मिल्ने पाण्डे बताउँछन् ।

‘हामी मर्ज हुनेवित्तिकै अन्य बैंकहरुलाई पनि नैतिक दवाव पर्न सक्ने अवस्था हुन्छ । प्रयास गरिरहेको छु, कति सफल हुन्छ हेरौं,’ उनले भने ।

हिमालयन बैंकका मुख्य सेयर लगानीकर्ताहरु

हबिब बैंक (पाकिस्तान)- २०%

कर्मचारी सञ्चयकोष- १४%

एन ट्रेडिङ कम्पनी लिमिटेड- १२.७१%

म्युचल ट्रेडिङ कम्पनी- ११.८५%

आभा इन्टरनेसनल- ११.३८%

छाया इन्टरनेसनल- ८.८९%

शशीकान्त अग्रवाल- २.६५%

शाक्य कम्पनी लिमिटेड- ०.९९%

अञ्जु खेतान- ०.७७%

शर्मा एण्ड कम्पनी लिमिटेड- ०.६६%

नेपाल इन्भेष्टमेन्ट बैंकका मुख्य सेयर लगानीकर्ताहरु

राष्ट्रिय बीमा समिति- १५%

राष्ट्रिय बाणिज्य बैंक- १५%

महालक्ष्मि इन्भेष्टमेन्ट प्रालि- ८.८३%

छाया इन्भेष्टमेन्ट प्रालि- ८.२०%

के.यु.पी इन्भेष्टमेन्ट प्रालि- ७.८१%

सोफिया इन्भेष्टमेन्ट प्रालि- ७.४२%

अन्नपुर्ण इन्भेष्टमेन्ट प्रालि- १.५६%

कमला इन्भेष्टमेन्ट प्रालि- १.५६%

नोवल इन्भेष्टमेन्ट प्रालि- १.५६%

प्रोस्टाइन इन्भेष्टमेन्ट प्रालि- १.५६%

सुर्या इन्फोसिस प्रालि- १.५६%

स्टार होल्डिङ्स- १.१७%


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर