नारायणहिटीको फिल्म हल खुल्दै, राजारानीको बिहेको भिडियो र दुर्लभ रिलहरू भेटिए – Nepal Press

नारायणहिटीको फिल्म हल खुल्दै, राजारानीको बिहेको भिडियो र दुर्लभ रिलहरू भेटिए

काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको फिल्म हल आगामी बैशाखदेखि संचालनमा आउने भएको छ ।

दरबार संग्रहालयका अधिकारीहरुका अनुसार ११६ अकुपेन्सी क्षमताको फिल्म हललाई सर्वसाधारणका लागि खुला गर्न लागिएको हो । दर्शकले दरबारमा रहेका पुराना फिल्म र डकुमेन्ट्री हेर्न पाउने भएका छन् ।

तत्कालिन राजपरिवारका सदस्य र आफन्तले मात्र फिल्म हेर्ने उक्त हल संग्रहालयमा परिणत भएसँगै नागरिकको लागि पनि खुला गर्न लागिएको हो । राजपरिवारले प्रयोग गरेका सोफा र कुर्सीमै बसेर दर्शकले फिल्म हेर्न पाउनेछन् ।

चलचित्र विकास संस्थानले अहिले हलमा रहेका फिल्मका पुराना रील र प्रोजेक्टरको सफाइ गरिरहेको छ भने, सोफा एवं पर्दामा लागेको धुलो हटाउने काम गरिरहेको छ । हलमा दुईवटा प्रोजेक्टर छन् ।

२० वर्षदेखि थन्किएका रीलमा ढुसी लागेपनि चल्ने अवस्थामा रहेको जनाइएको छ । जयनेपाल र काठमाडौंका अन्य हलमा चल्ने फिल्मका रील दरबारमै ल्याएर राजपरिवारले हेर्ने गरेको संस्थानका पूर्वकर्मचारी भरतप्रसाद नेपालले बताए ।

दरबार हत्याकाण्ड अगाडि राजपरिवारका सदस्यले उक्त हलमा फिल्म हेर्ने गरेको र फिल्म हेर्दा उनीहरुले प्रयोग गर्ने सामाग्री र चुरोट पनि अहिले दुरुस्तै रहेको सरसफाइमा खटिएका कर्मचारी बताउँछन् ।

स्वदेशी एवं विदेशी पुराना फिल्म, डकुमेन्ट्री र राजपरिवारसँग सम्बन्धित महत्वपूर्ण फिल्मका रील भेटिएको जनाइएको छ । दिवंगत राजा वीरेन्द्र र ऐश्वर्यको विहेको भिडियो पनि त्यहीँ भेटिएको छ ।

दरबार घुम्न आउने आगन्तुक सर्वसाधारणलाई फिल्म देखाइने संग्रहालय र गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए ।

उनका अनुसार धेरै रील चल्ने अवस्थामा भेटिएको र चलाउन नसकिएका रीलहरु विदेशमा लगेर डिजिटाइजेसन गरिने उनले जनाए । संग्रहालयले केही दिनमा दरबारका २० कक्ष अवलोकनका लागि खुलाउने तयारी गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *