लुम्विनीका ४ सांसद बने एमाले केन्द्रीय सदस्य, पद छाड्ने तर ओली नछाड्ने – Nepal Press

लुम्विनीका ४ सांसद बने एमाले केन्द्रीय सदस्य, पद छाड्ने तर ओली नछाड्ने

रुपन्देही । साबिक नेकपा विभाजनका तीन महिनासम्म प्रचण्ड-माधव पक्षले आफ्नै समूहमा राखेका गुल्मीबाट निर्वाचित माओवादीका प्रदेशसभा सदस्य दिनेश पन्थी अचानक एमालेको केन्द्रीय सदस्य मनोनित हुँदा लुम्विनीमा खैलाबैला मच्चियो ।

गुल्मीमा गोकर्ण विष्टको निर्वाचन क्षेत्रबाटै प्रदेशसभामा जितेका पन्थी गोकर्ण जत्तिकै लोकप्रिय नेता मानिन्छन् । विभाजनको शुरुदेखिनै केपी ओलीलाई साथ दिएका टोपवहादुर रायमाझीले माओवादीका अन्य तीन सांसद समेत एमालेमा लगेपछि यस क्षेत्रमा माओवादी थप कमजोर बनेको छ ।

नेकपा विवादकै शुरुवातीदेखि माओवादी खेमाबाट प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई लुम्बिनी प्रदेशबाट साथ दिएका ४ जनालाई नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ ।

अर्घाखाँचीबाट प्रतिनिधि सभामा निर्वाचित ऊर्जामन्त्री टोपबहादुर रायमाझी, राष्ट्रिय सभा सदस्य अर्घाखाँचीका चन्द्रबहादुर खड्का तथा रुपन्देहीबाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित दधिराम न्यौपाने र गुल्मीबाट निर्वाचित दिनेश पन्थी नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।

सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भए पनि उनीहरुले आफूहरु माओवादी केन्द्रबाट चुनाव लडेपनि अब मन्त्री तथा सांसद पद नरहेपनि केपी ओलीले नेतृत्व गरेको नेकपा एमालेमा रहने घोषणा गरेका थिए ।

माओवादीले कारवाही प्रक्रिया अघि बढाएमा लुम्विनीका संघीय र प्रदेश सांसदगरि चारजनाको पद जान सक्छ । लुम्विनीकै नेता कपिलवस्तु इन्चार्ज गिरिधारीलाल न्यौपानेले पनि माओवादी छाडेर एमालेको केन्द्रीय सदस्य बनेका छन् ।

एमालेमा लागेका केन्द्रीय सदस्य तथा सांसद न्यौपानेले पद अस्थायी कुरा भएकाले विचारका आधारमा आफूहरु एमालेमा लागेको बताए । उनले प्रचण्डमा अस्थिरता रहेको भन्दै माओवादी धाराको राजनीति असफल भइसकेको प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर