एपीएफलाई ८ विकेटले हराउँदै पुलिस बन्यो मेयर कपको च्याम्पियन – Nepal Press

एपीएफलाई ८ विकेटले हराउँदै पुलिस बन्यो मेयर कपको च्याम्पियन

काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ८ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले काठमाडौं मेयर कप २०७७ को उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एपीएफले २९.४ ओभरमा सबै विकेट गुमाएर १०५ रनको कमजोर योगफल तयार गरेको थियो ।

जितका लागि प्रतिओभर २.१२ को रनरेटसहित जवाफी ब्याटिङमा उत्रिएको पुलिसले २४.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । पुलिसका लागि ओपनर सुनिल धमलाले अविजित ५९ रनको योगदान गरे । अर्का ओपनर कुशल भूर्तेलले ३१ बलमा १ चौकासहित १५ रन बनाएर आउट भएका थिए । त्यस्तै, अनिल साह १५ रन बनाएर पेभेलियन फर्केका थिए ।

बलिङतर्फ एपीएफका लागि भुवन कार्की र अविनाश बोहराले १/१ विकेट लिए ।

यसअघि पहिलो इनिङमा ब्याटिङ रोजेको एपीएफले १.३ ओभरमा १० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । ओपनरद्वय शंकर राना ४ रन बनाएर पेभेलियन फर्किँदा आशिफ शेख शून्यमा आउट भएका थिए ।

वान् म्यान डाउनमा क्रिजमा उत्रिएका कप्तान शरद भेसावकर शून्यमा पेभेलियन फर्किँदा भुवन कार्की २६ बलमा १ चौकासहित १४ रन बनाएर आउट भए । इनिङ सम्हाल्ने कोसिस गरेका सन्दीप जोरा ३१ बलमा १ चौका र १ छक्कासहित १८ रन बनाएर ललित राजवंशीको बलमा एलबी डब्लु आउट भए ।

सुमित महर्जन ४ रनमा पेभेलियन फर्किँदा तल्लो मध्यक्रमका ब्याट्सम्यान बसन्त रेग्मीले २२ तथा र अमरसिंह रौतेलाले १८ रनको योगदान गरे । कमलसिंह ऐरी १ तथा अविनाश बोहरा १२ रन बनाएर पेभेलियन फर्किँदा किशोर महतो १ रनमा अविजित रहे ।

बलिङतर्फ नेपाल पुलिस क्लबका लागि गुलशन झाले ७ ओभरमा ३६ रन खर्चेर र सागर ढकालले ७.४ ओभरमा २३ रन खर्चेर ४÷४ विकेट लिए । पवन सर्राफ र ललित राजवंशीले १÷१ विकेट लिएका थिए ।

प्रधानमन्त्री कपका चार सेमिफाइनलिस्ट– नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, वाग्मती प्रदेश, नेपाल एपीएफ क्लब र काठमाडौं महानगरपालिकाको एक टोली गरी प्रतियोगितामा पाँच टोलीको सहभागिता थियो ।

राउन्ड रोबिन पद्धतिमा सम्पन्न प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । प्रधानमन्त्री कपको सेमिफाइनलबाटै बाहिरिएको पुलिसले सोही प्रतियोगिताको फाइनलमा आर्मीसँग पराजित भएको एपीएफलाई सहजै पराजित गरेको हो ।

विजेता पुलिसले ५ लाख, उपविजेता एपीएफले ३ लाख रूपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको म्यान अफ दी सिरिजले ५० तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले २५÷२५ हजार प्राप्त गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *