चार शक्ति राष्ट्रबीच इन्डो-प्यासेफिक क्षेत्रको सुरक्षाबारे छलफल, १ बिलियन डोज खोप वितरण गरिने – Nepal Press

चार शक्ति राष्ट्रबीच इन्डो-प्यासेफिक क्षेत्रको सुरक्षाबारे छलफल, १ बिलियन डोज खोप वितरण गरिने

काठमाडौं- क्वाड भनिने चार शक्ति राष्ट्र अमेरिका, भारत, अष्ट्रेलिया र जापानका सरकार प्रमुखबीच भर्चुअल छलफल भएको छ ।

इन्डो-प्यासेफिक क्षेत्रको शान्ति, सुरक्षा र स्थायित्वबारे अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसन र जापानी प्रधानमन्त्री यासिहिदे सुगाबीच छलफल भएको हो ।

भर्चुअल छलफललाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले क्षेत्रीय सुरक्षाका लागि क्वाड महत्वपूर्ण फोरम रहेको बताए । चारै नेताबीच चीनको सक्रियता र प्रभावविरुद्ध लड्ने कुरामा सहमति जुटेको बताइएको छ ।

छलफलपछि चारै नेताले जारी गरेको संयुक्त वक्तव्यमा पनि कोभिड–१९ र क्षेत्रीय स्थायित्वका लागि एकजुट हुने उल्लेख छ । छलफलमा भारत र चीनपछि भएको पछिल्लो सीमा विवाद र झडपबारे पनि चर्चा भएको थियो ।

छलफलपछि ट्वीट गर्दै जापानी प्रधानमन्त्री सुगाले आफूले वार्तामा खुला इन्डो-प्यासेफिक क्षेत्रको बारेमा प्रस्ताव गरेको उल्लेख गरेका छन् । साथै, उनले म्यानमार हिंसा र त्यहाँ चीनको भूमिकाबारे पनि छलफल भएको जनाएका छन् ।

भारतीय विदेश सचिव हर्षवद्र्धनले समकालिन राजनीतिका विविध विषयमा क्वाड बैठकमा छलफल भएको जनाए । अमेरिकी राष्ट्रपति बाइडेनले खुला र स्वतन्त्र इन्डो-प्यासेफिक भविष्य हुने बताए । उनले सबै मुद्दामा अमेरिकाको चासो रहेको उल्लेख गरे ।

उक्त अवसरमा आसियन पनि वार्ताको केन्द्रमा रह्यो । महामारीपछिको पुनर्उत्थान, वितरण प्रणाली र सामुन्द्रिक सुरक्षा पनि छलफल भएको जनाइएको छ ।

चारै नेताले इन्डो–प्यासेफिक क्षेत्रमा कोभिडविरुद्धको खोपको पहुँच र वितरणको प्रभावकारिताका लागि क्वाड भ्याक्सिन इनिसिएटिभ कार्यक्रम पनि सुरुआत गरेका छन् । क्वाड कार्यक्रमअन्तर्गत इन्डो-प्यासेफिक क्षेत्रमा सन् २०२२ सम्म १ बिलियन डोज खोप वितरण गर्ने सहमति जुटेको छ ।

क्वाड समूहका चारै नेताले आगामी जुनमा लन्डनमा हुने जी-सेभेन सम्मेलनको साइड लाइनमा पनि वार्ता गर्ने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर