स्रष्टा र सिर्जना

‘चुल्ठो’की सर्जक चिलवालः जीवन सरल, कवितामा आक्रोश

शान्त स्वभावकी सरल कवि । जो बजारको हल्लाबाट पर बस्छिन् । साहित्यमा ‘ओभरेटेड’ भनिनेहरूको भिडबाट अलग्गै देखिन्छिन् । अनेकन् कोलहालबाट जोगिँदै जोगिँदै उनी कविता लेख्छिन् । केवल कविता लेख्छिन् ।

उसो त पुँजीवादी बजारसँग उनको प्रष्ट असहमति छ । उनी भनिरहेकी हुन्छिन्, ‘आजको बजारले मूल ग्रन्थ बेच्दैन । आफ्नो ग्राहकलाई गेस पेपरमात्र बेच्छ । मुख्य कुरा दिँदैन । सस्ता र कमसल कुरा बढी बिकाउन खोज्छ ।’
बजारदेखि अलग्गिएर उनी बजारले विकृत बनाएको मानिसको कविता यसरी लेख्छिन्–

मान्छेले कपडा लगाउनुपर्ने हो
तर, यहाँ
कपडाले मान्छे लगाइरहेको छ

दुई दशक उकालो लाग्यो, कल्पना चिलुवालले कवितामा आफूलाई पोख्दै आएको । नारीहरूको कथा र सदियौंदेखि भोग्दै आएको उत्पीडनलाई उत्खनन् गर्दै आएको । त्यसैले त कवि विनोदविक्रम केसीले लेखेका छन्, ‘कल्पना चिलुवालका कविता पढ्नु बिजुलीको नाङ्गो तार समात्नुजस्तो हो । एक खेप झनझनाउँछ, दिल–दिमागका समग्र पाटपुर्जा ।’

कवितामा शक्तिशाली देखिएकी कल्पनाको कविता संग्रह ‘चुल्ठो’ अहिले चर्चामा छ । ‘चुल्ठो’भित्रको शीर्ष कविता चुल्ठो पढिसकेपछि कवि कल्पनाको काव्यिक चेतनाबारे पाठकहरू चकित पर्छन् । नहुन् पनि कसरी, सदियौंदेखि स्वास्नीमान्छेको सौन्दर्यको उपमा दिने चुल्ठोलाई उनले कवितामार्फत् बुलन्द प्रश्न गरेकी छन्–

आफैंले कोर्न नपाएको
आफैंले सम्याउन नपाएको
सदियौंदेखि समाजले बदलिदिएको
कुसंस्कारको कुवामा पखाल्दा पखाल्दा
मैलिएर लठ्एिको
आफ्नो शिरलाई भारी लाग्ने
एउटा आदिम चुल्ठो छ मसंग
मबाटै मुक्ति खोजिरहेको

०००

‘हामी स्कुल पढ्दा दुई चुल्ठोमा सजिएर जान्थ्यौं । पछि बुझ्दै जाँदा लाग्न थाल्यो, यो चुल्ठो हामीमाथिको अभिसाप हो,’ कल्पना औंल्याउँछिन् । चुल्ठोबारे घनिभूत सोच्दा कल्पना त्यो निचोडमा पुगेकी छन्, ‘यसले नेपाली नारीको अवस्थाको प्रतिनिधित्व गर्छ ।’

समाजमा हिजो सतिप्रथा थियो, बाल विवाह थियो । तिनै परम्परागत शोषण, पीडाहरूको अवशेष समाजमा व्याप्त छन् । उनी ठान्छिन्, ‘त्यसैले महिलाहरूको अवस्था फेरिए पनि पूर्ण मुक्ति भने पाउन सकेको छैन ।’

चुल्ठोमा महिला स्वतन्त्रता, समानता र मुक्तिका कविता छन् । किन गर्छिन् त उनी कवितामा नारी मुक्तिको वकालत ?

जवाफमा  भन्छिन्, ‘म त्यो समाजमा हुर्केँ, जुन समाजमा महिलाहरू विभिन्न बहानामा प्रताडित छन् । धर्मको नाममा यातना खेप्न बाध्य छन् । महिलाहरू व्रतको नाममा आफैं प्रताडित छन् । उनीहरूको दिमागमा  यसरी विचार निर्माण गरिदिएको छ कि महिलाहरू स्वयम् त्यहाँबाट निस्कन सकेका छैनन् ।’

०००

कल्पना लमजुङमा जन्मिइन् । पोखरामा हुर्किइन् । पोखरामै स्कुल र कलेजको शिक्षा पार गरिन् ।  ०५२ मा जनयुद्ध सुरु भयो । बुबा आन्दोलनसँग जोडिएका थिए । घरमा पत्रपत्रिका आउँदा जनादेश, महिमा, रंगमञ्च, युवामञ्च जस्ता पत्रिका आउँथे । ती पढ्दापढ्दै पढ्ने लत बस्यो उनमा । विस्तारै राजनीति बुझ्न थालिन् । बुझ्दै गइसकेछि विचार निर्माण हुँदै गयो ।

युवावयमा विद्यार्थी राजनीतिमा सरिक भइन् उनी । सरिक हुने क्रममा उनलाई लाग्न थाल्यो– लेख्नुपर्छ । न्यायका लागि भए पनि लेख्नुपर्छ । सबैभन्दा तल्लो वर्गको आवाज बोल्नुपर्छ ।

सुरुवाती चरणमा कविता लेखेर उनले धेरै लुकाएकी छन् । एकदिन साहित्यकार घनश्याम ढकाललाई डराइ डराइ आफूले लेखेको कविता देखाइन् । कविता पढेपछि उनलाई घनश्यामले सल्लाह दिएका थिए । ‘तर त्यो कविता अहिले मससँग छैन । तर, त्यहीँबाट कविता लेखनमा मेरो कलम तिखारिँदै गयो,’ उनी सुनाउँछिन् ।

०००

कवितामा त उनको संघर्ष छँदैछ । लेखनसँगै उनको चाहना थियो, समाज परिवर्तनका आन्दोलनमा सरिक हुने । कविता लेख्दै गर्दा उनी आन्दोलनमा पनि सरिक हुन्थिन् । आन्दोलनको क्रममा उनले नमीठो अनुभूति भोग्नुपरेको छ । २०५८ सालतिरको कुरा हो । देशमा सशस्त्र जनयुद्ध चर्किरहेको बेला । उनी महिला सम्मेलनको सन्दर्भमा पोस्टर टाँस्दै थिइन् । उनीसँग पोस्टर टाँसिरहेकी थिइन् टेक कुमारी पौडेल( जो सभासद् पनि भइन्) । दिउँसो पोखराको महेन्द्र पुल बजारमा उनीहरू पोस्टर टाँस्दै थिए । त्यतिबेला एक जना व्यक्तिले बोलाउँदै भने, ‘ म पनि टाँसिदिन सहयोग गरिदिऊँ ?’

टाँसिदिऊँ भनेर सहयोग गर्न खोज्ने मानिस प्रहरीका सुकारकी रहेछन् । उनले प्रहरीलाई फोन गरेछन् । अचानक आएका प्रहरीका समूहले उनीहरूलाई घेरा हाले ।

‘हामीसँग सम्मेलनका पर्चा थिए । एक हप्ता जिप्रका हिरासतमा राखियो,’ उनी सम्झन्छिन् ।

पक्राउ परेपछि उनीहरूलाई भनिएको थियो, ‘तपाईंहरू अबदेखि पार्टी र संगठनको काम गर्दैनौं भनेर कागज गर्नुस् । हामी तपाईंलाई छाडिदिन्छौं ।’ तर, कल्पनाहरू सिद्धान्तमा अडिग थिए । उनीहरूले भने, ‘हामी यही विचारमा आबद्ध छौं भने किन कागज गर्ने ? गर्दैनौं ।’

त्यही कागज नगर्नाले उनीहरूले २८ दिन जेल जीवन बिताउनुपर्यो ।

जेलमा बस्दा त्यहाँ आशा खनाल र सुमित्रा खनाल पनि थिए । जेलमा हुँदा अध्ययनका लागि उनीहरूले बन्दोबस्त मिलाउँथे ।

दुःखको कुरा ! पछि तिनै साथी सुमित्रा भने मारिन पुगिन् । त्यसले कल्पनालाई लामो समयसम्म मर्माहत बनायो । ‘हामी उहाँहरू भन्दा पहिले नै छुट्टियौं । उहाँहरूको मुद्दा फरक थियो । ढिलो छुट्टुभयो । केही समयपछि उहाँ मारिनु भयो,’ उनी दुःखी सुनिन्छिन् ।

समय निकै डरलाग्दो थियो, लेखपढ गर्न पनि त्रासदी । ‘प्रहरीकै डरले किताब जलाउनुपर्थ्यो । यसरी जलाउँदा कति किताब नष्ट भए,’ उनी भन्छिन्, ‘पुस्तब पढ्नु पनि खतराको समय थियो त्यो ।’

माओवादी निकट विद्यार्थी संगठनमा काम गरेकी कल्पना २०६२/०६३को जनआन्दोलनबाट ब्याक हटिन् । उनलाई विस्तारै राजनीतिक ननिको लाग्न थाल्यो ।

‘अहिले हिजोको माओवादीले पीडालाई समेटेन । दुःख बुझ्नै सकेन,’ उनी सुनाउँछिन् । त्यसयता उनी राजनीति नियाल्छिन्, तर परैबाट । बरु उनी प्राध्यापन पेसामा गाँसिएर विद्यार्थीसँग रमाउन थालिन् ।

०००

कल्पना कवितालाई कलात्मक वैचारिक हतियार भन्न रुचाउँछिन् । कविता जसले मान्छेको मन झक्झकाउने गर्छ, प्रहार पनि गर्छ । ‘नत्र किन कविता लेखेकै कारण मानिस जेल जानुपर्दथ्यो । मारिनुपर्दथ्यो ?’ उनी प्रश्न गर्छिन् ।

तर, आजकल लेख्ने मान्छेहरूभित्रै विभेदको पर्खाल देख्छिन् उनी । लेखनमा पनि विभेद ? उनी भन्छिन्, ‘विभेद छ । महिला लेखक र पुरुष लेखकबीचको खाडल छ । जस्तो कि ओजिला कुरा महिलाले लेख्दा प्रशंसा हुन्न । महिलाले लेख्दा बरु आलोचना बढी हुन्छ । तर, त्यही कुरा स्थापित पुरुषले लेख्दा वाहवाही पाइन्छ । पुरुषवादी चिनतनले नारी लेखकलाई लेखक देख्दैन ।’

पुरुषवादी चिन्तनप्रति असन्तुष्टि पोखिरहेकी कल्पना कविताका हर शब्दमा आक्रोसित भेटिन्छिन् । उनका मौखिक अभिव्यक्ति सुनेपछि उनको आक्रोस के का लागि हो ? प्रष्ट हुन्छ । त्यसैले त सरस्वती प्रतीक्षाले भनेकी छन्, ‘वास्तविक जीवनमा कतिको रिसाउँछिन् कल्पना ? त्यो त मलाई थाहा छैन । कवितामा भने कल्पना चिलुवाल एकदमै रिसाहा कवि हुन्, भयंकर रिसाहा कवि हुन् ।’

प्रतिक्रिया

One thought on “‘चुल्ठो’की सर्जक चिलवालः जीवन सरल, कवितामा आक्रोश

  1. समीक्षा पढ्दा चुल्ठो पढ्ने पर्खाइले अझै अत्यायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *