जसपाभित्र छलफलः अब प्रधानमन्त्री पदमै दावी गरौं – Nepal Press

जसपाभित्र छलफलः अब प्रधानमन्त्री पदमै दावी गरौं

काठमाडौं । सत्तारोहणका लागि प्रमुख पार्टीहरुसँग संवादमा रहेको जनता समाजवादी पार्टीले आज बोलाएको संसदीय दलको बैठकमा अब प्रधानमन्त्रीमै दावी पेश गर्ने विषयमा छलफल भएको छ । पार्टीले संसदीय दलको नेता भने चयन गर्न सकेको छैन ।

आज प्रतिपक्षी नेपाली कांग्रेससँग छलफल गर्नुअघि जसपाको संसदीय दलको बैठक बसेको थियो । सो बैठकमा बोल्ने सांसदहरुले सरकारको नेतृत्वमा नै पार्टीले दावेदारी गर्नुपर्ने मत राखेका हुन् ।

जसपाका सांसद राजकिशोर यादवले देशमा देखिएका समस्या समाधान गर्न अहिलेका राजनीतिक दलहरु असफल भएकाले प्रधानमन्त्रीका लागि पहलकदमी लिनुपर्ने विषयमा छलफल भएको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘अब हामीले प्रधानमन्त्रीमै दावी गर्नुपर्छ भन्ने कोणबाट छलफल सुरु भएको छ । अरु दलहरु देशको समस्या समाधानमा असफल भएकाले यो ऐतिहासिक कार्यभारको नेतृत्व लिन जसपा तयार रहनुपर्छ र जसपाले त्यसको पहलकदमी गर्नुपर्छ भन्ने सांसदहरुको भनाइ थियो ।’

प्रधानमन्त्री पदमा दावी गर्न कुरा भए पनि बैठकले यस सम्बन्धमा कुनै निर्णय भने गरेको छैन । साथै, पार्टीको संसदीय दलको नेतासमेत चयन हुन सकेको छैन । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी बनेपछि संसदीय दलको नेता चयन हुन नसकेको हो । कामचलाउ संसदीय दलको नेताका रुपमा भने पार्टी अध्यक्ष महन्त ठाकुर छन् ।

आज कांग्रेससँग भएको छलफलपश्चात महन्थ ठाकुरलाई पत्रकारहरुले सरकारको नेतृत्व गर्ने सम्भावनाका विषयमा सोधेका थिए ।

तपाईंहरुलाई प्रधानमन्त्रीको समेत अफर छ भन्ने कुरा के हो ? भन्ने प्रश्नमा ठाकुरले मिडियाबाटै यो कुरा सुनेको भन्दै पन्छाए ।

‘भावी प्रधानमन्त्रीमा तपाईंको नाम समेत चर्चामा छ नि ?’ भन्ने प्रश्न पत्रकारले गरेपछि ठाकुरले मुस्कुराउँदै भने, ‘यस्तो राम्रो खबरका लागि तपाईंलाई धन्यवाद छ । प्लिजिङ सरप्राइज ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर