ओलीले बोलाए केन्द्रीय कमिटी बैठक, बालुवाटारमा रणनीतिक छलफल – Nepal Press

ओलीले बोलाए केन्द्रीय कमिटी बैठक, बालुवाटारमा रणनीतिक छलफल

काठमाडौं । पुनःस्थापित नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको परामर्शमा महासचिव ईश्वर पोखरेलले केन्द्रीय कमिटी बैठक बोलाएको कार्यालय सचिव ईश्वरी रिजालले नेपाल प्रेसलाई बताए ।

बैठकको मिति तय भए पनि स्थान भने अझै टुंगो नभएको रिजालले बताएका छन् । माधव नेपाल पक्षले बालुवाटारमा बैठक बोलाइए नजाने निर्णय गरेको छ । बैठकमा नवौं महाधिवेशनबाट निर्वाचित र त्यसपछि मनोनीत केन्द्रीय सदस्यहरु सहभागी हुनेछन् ।

बैठकको रणनीति र एजेण्डाहरु तय गर्न प्रधानमन्त्री तथा अध्यक्ष ओलीले नेताहरुसँग परामर्श थालेका छन् । यसबीचमा आफ्नो सरकारमा रहेका पुनःस्थापित माओवादी केन्द्रका नेताहरुसँग चरण चरणमा उनले छलफल गरेका थिए ।

ती नेताहरुलाई नेकपा एमालेको केन्द्रीय कमिटी र माओवादी केन्द्रबाट जोडिएका अन्य नेता कार्यकर्तालाई विभिन्न कमिटीहरुमा समायोजन गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लगिने भएको छ ।

आज प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । माधव नेपाल पक्षसँग भने ओलीले छलफल गरेका छैनन् । प्रचण्डलाई छाडेपछि पनि गुटका बैठक र भेलाहरु जारी राखेको भन्दै ओली पक्षले आपत्ति जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर