कर्णाली उत्सव

‘कर्णालीको आँखा रुँदैन, सपना देख्छ’

कर्णाली । ‘प्रकृतिका रङ हजारौं छन् । हजारौं रङ भएको कर्णालीमा रंगमञ्चको रङ कस्तो छ ?’ कर्णालीको उत्सवको मञ्चमा रंगकर्मी हिरा बिजुलीलाई भूपेन्द्र खड्काको प्रश्न थियो । ‘कर्णालीमा रंगमञ्चको रङ फिँजाउन गाह्रो छ,’ हिराले गम्भीर हुँदै भने । हिरा ती व्यक्ति हुन्, जो मुगुमै बसेर कर्णालीका कथा रंगमञ्चमार्फत् भनिरहेका छन् । तर, कर्णालीमा रंगमञ्च गर्नुपरेको संघर्ष हिजो र आज पनि उतिकै रहेको हिराको बुझाइ छ । ‘हिजोको समय हामीले रंगमञ्चमा महिला ल्याउन सक्दैन थियौं । त्यतिबेला महिलाको भूमिका पुरुषले निभाउनुपरेको थियो,’ हिरा सम्झन्छन् ।

कर्णाली उत्सवको दोस्रो दिनको चौथो सेसन थियो ‘आफ्नै कथा आफ्नै बान्की’ । सेसनमा हिरासँगै उभिएका वक्ताहरू थिए देउडा गायक नेत्रराज शाही, लेखक बुद्धिसागर र लेखक सरला गौतम ।

हिरालाई रंगमञ्चबारे प्रसंग उप्काउँदा उनले आफूले सुरुवाती क्षणमा गरेको संघर्ष सम्झिए । ‘मेरो दाइले मलाई सबै छाडेर आयोग पढ्न जा भन्थे । तर, दाइको चाहना कहिल्यै पूरा गरिनँ । म यही रंमगञ्चमै संघर्ष गरेर लागिरहेँ ।’

हिरा कर्णालीलाई सुन्दर भनेर देखाइरहँदा सिमान्तकृतको कथा कहिल्यै नआएको बताउँद्धन् । ‘कर्णालीबारे साहित्य लेखियो । तर यहाँको खास कथा कहिल्यै आएन । पेटभित्र मर्ने मान्छेको कथा कहिल्यै आएन । दलित समुदायको विभेदको कथा कहिल्यै आएन । कर्णाली सुन्दर हुँदाहुँदै पनि यति कुरुप छ । उसले कर्णाली सुन्दर मात्र लेख्यो । दमाहाको कथा कसले लेख्यो ?’ उनी प्रश्न गर्छन् ।

तर, सरला गौतम कर्णालीका उज्याला कथाहरू पनि कसैले नलेखेको बताउँछिन् । कर्णालीका कुना कुनामा पुगेर रिपोर्टिङ गरेकी सरलालाई भूपेन्द्रको प्रश्न थियो, ‘तपाईं कर्णाली बाहिरको मान्छेले कर्णालीको रिपोर्टिङ फरक दृष्टिकोणबाट गर्नुभयो । तपाईंले कर्णालीलाई कसरी हेर्नुहुन्छ ?’ सरला भन्छिन्, ‘कर्णालीमा अँध्यारो मात्र छैन । कर्णालीको आँखा रुँदैन र सपना देख्छ । कर्णालीको विरह मात्र आयो । कर्णालीले विचारको स्पेस पाएन ।’

कर्णालीमा चुपचाप दियो बालिरहका मानिसहरूबारे देश बेखबर छ । उनी तिनै बाल्नेहरूलाई खोज्दै खोज्दै पटक पटक कर्णाली गइन् । ‘कुडा कर्णाली’को मञ्चबाट उनले ती मानिसहरूलाई सम्झिन् । बाटोको सपना देखेर बाटोमै बितेका ‘थिमे दाइ’का सपनाबारे सम्झिन् ।

‘जुम्लामा सानो होटल चलाएर बसेका जनक साहीलाई के बन्ने सपना छ भनेर सोधेकी थिएँ । उनले दिदी बाटो बन्दैछ । बाटो आएपछि तिनतारे होट बनाउने सपना छ’ भनेका थिए । १० वर्षपछि चन्द्रसूर्य होटल त एकदमै ठूलो भएछ । उसको सपना बाँचेछ । उसले रारामा अर्को होटल बनाउने योजना बनाउँदै रहेछ,’ एउटा युवाको उद्यमी सपना बाँचेको कुरा सुनाउँदै सरलाले भनिन् ।

उनले छाउपडीविरुद्ध लड्ने, महिनावारीको सामाजिक मान्यताविरुद्ध लड्नेहरूको कथा सुनाइन् । ‘बाजुरामा भेटेको रेलकला आमा रातभरि दिनभरि लड्नुह्न्थ्यो । अहिले एउटा ‘प्ले कार्ड’ बोक्दैमा ३० वटा समाचार आउँछ । तर उहाँको आउँदैन । उहाँका आँखाले सपना देखेर कहिल्यै निदाएनन्,’ सरलाले भावुक हुँदै सुनाइन् ।

यस्ता थुप्रै उज्याला कथाहरू खोजेकीे सरलाले कर्णालीमा सम्भावना प्रशस्त भएको दाबी गरिन् ।

‘आफ्नो कथा लेख्छ कर्णाली’

लेखक बुद्धिसागर कर्णालीबारे विस्तारै कथाहरू लेखिँदै र भनिँदै गरिएको बताए । वक्ताका रुपमा मञ्चममा उभिएका बुद्धिसागरले कर्णालीको भाषाको मीठासबारे कुरा गरे । ‘यहाँको भषा र संवाद निकै मीठासपूर्ण छ । जुन मैले कर्णाली ब्लुजमा प्रयोग गरेको छु,’ उनले भने, ‘हाम्रो संवाद पनि पियर नेपाली प्रयोग गर्ने भन्ने बेलामा तराईमा थारु भााषा र कर्णालीमा लोकल भाषा प्रयोग गरेको थिएँ ।’

कर्णालीको साहित्य आफूले पढ्दै गर्दा कोर्सहरूमा समेत नभेटिएको उनले सम्झे । ‘अब त उत्सवहरू भइरहेका छन् । श िक्तशाली कवि आइरहेका छन् । अब लेखिँदै छन् ।’

तर, कथाा लेख्दै गर्दा कहिलेकाहीँ पात्रहरूलाई अन्याय समेत हुने गरेको उनी सुनाउँछन् । ‘साहित्यमा कथा कसरी लेख्छ भन्दा पनि अथेन्टिक हुनुपर्छ । कहिलेकाहीँ जुन पात्रको विषयमा कथा लेखिएको हो, उसैको अन्याय भइरहेको हुन्छ ।’

आफ्नो कथा आफैं लेख्नुपर्ने कुरा उप्काउँदै बुद्विसारले भने, ‘यदि मैले नलेखेको भए मेरो बारेमा अर्कैले लेख्थ्यो । खासमा म पात्र हुँ । जसको कथा छ । मेरो कथाको पात्र म आफैं हुन सक्छु भनेर ।’

नयाँ पुस्तामा नछाएको देउडा

देउडा संगीत कर्णालीको सम्पत्ति हो । कर्णाली चिनाउन इतिहासमा देउडाको ठूलो महत्व छ । देउडा गायक नेतृराज शाहीलाई प्रश्न थियो, ‘दशकौंदेखि देउडा गाउनुभयो । तर नयाँ पुस्ता ¥याप र हिपअपमा । पुस्तान्तरण्को प्रयास के गर्नुभयो ?’

गायक नेत्र यसलाई स्थापित गरेर कसरी लैजाने भन्ने कुरामा दुई चार पात्रले सोचेर मात्र नहुने बताउँछन् । ‘यसलाई राज्यले राम्ररी हेरेन । हाम्रो ऐतिहासिक संस्कृतिको विकास नगरेर लोप हुने अवस्थामा छ ,’ उनी चिन्ता प्रकट गर्छन् ।
समाजबाट पन्छिएर उपेक्षित हुँदै गएको देउडालाई संरक्षण गर्नुपर्ने उनी बताउँछन् ।

‘हजार वर्ष पहिले पनि कर्णालीमा हुकेको हो देउडा । यो कच्चा पर्दार्थ हो भने अरु गीतहरू पछि बनेका रेडिमेट हुन् । यसलाई अब जोगाउनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *