हामी विश्वकै विश्वासिलो शान्ति सेना हौं : प्रधानसेनापति थापा – Nepal Press
सन्दर्भ : सेना दिवस

हामी विश्वकै विश्वासिलो शान्ति सेना हौं : प्रधानसेनापति थापा

इटहरी। वैदिक सनातनी धर्मावलम्बीहरुका लागि पवित्र दिन हो– शिवरात्रि । नेपाली सेनाका लागि भने यो दिनको अर्को पनि महत्व छ । आजको दिनलाई नेपाली सेनाले ‘सेना दिवस’ काे रुपमा मनाउँछ ।

विश्वस्तरमा नेपाली सेनाको गरिमा बढाउने एउटा कारण विश्व शान्ति सेनामा योगदान हो । संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रहरुमध्ये सैन्य कूटनीतिमा नेपाल अब्बल छ । त्यही भएर आज संयुक्त राष्ट्रसंघको शान्ति सेना पठाउने मुलुकमा विश्वको चौथो सबैभन्दा ठूलो फौज नेपालको छ ।

सैन्य कूटनीतिको एक महत्वपूर्ण कडी तथा नेपालको हार्ड–सफ्ट दुवै पावरको बिम्ब पनि हो शान्ति सेनामा नेपाली सेनाको योगदान । नेपाल संयुक्त राष्ट्रसंघमा सदस्य भएको तीन वर्षपछि संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा नेपाली सेना जोडिएको थियो ।

सन् १९५५ डिसेम्बर १४ मा नेपाल संयुक्त राष्ट्रसंघ सदस्य भयो । त्यसको तीन वर्षपछि सन् १९५८ मा लेबनानमा सैन्य पर्यवेक्षकको रुपमा पाँच नेपाली सेनाका क्याप्टेनहरुले सहभागिता जनाए । उनीहरु थिए– क्याप्टेन बाधेन्द्रबहादुर रायमाझी, अर्जुन नरसिंह राणा, कनकशम्शेर जबरा, टीकाशम्शेर जबरा, गंगाबहादुर बिष्ट ।

लेवनानमा पाँच पर्यवेक्षक भएर पहिलो अनुभव लिएको डेढ दशकपछि मात्रै नेपाली सेनाले शान्ति सेनाको भूमिका निर्वाह गरेको थियो । सन् १९७४ मा इजिप्टमा नेपाली सेनाको पहिलो शान्ति सेनाको बल पुगेको थियो ।

त्यसयता एसियादेखि अफ्रिका हुँदै क्यारेबियनसम्म नेपालका शान्ति सेना खटेका छन् । विश्वको चौथो ठूलो संयुक्त राष्ट्रसंघको शान्ति सेनाको अंग हुँदा नेपाली सेनाले धेरै बलिदानी पनि गरेको छ । सेवाको क्रममा ६६ जनाले ज्यान गुमाएका छन् । ६८ जना अंगभंग हुने गरी घाइते भएका छन् ।

नेपाली सेनाको यिनै कथाहरु जोडिएको शान्ति सेनाको विषयमा नेपाल प्रेसले प्रधानसेनापति पूर्णचन्द्र थापासँग माघको पहिलो हप्ता कुराकानी गरेको थियो । मिडियामा आउन र प्रत्यक्ष अन्तरवार्ता लिन धक मान्ने सेनापति थापाले भिडियो बेगरको संक्षिप्त कुराकानीका लागि भने तयार भए ।

संयुक्त राष्ट्रसंघको शान्ति सेना अन्तर्गत गोलान हाइटमा सन् २०१५ को ८ फेब्रुअरीदेखि २०१६ फेब्रुअरी ८ सम्म फोर्स कमान्डर भएर काम गरेको अनुभव पनि छ प्रधानसेनापति थापासँग । थापाले नेपाली सेना संयुक्त राष्ट्रसंघको विश्वासिलो सैन्य साझेदार भएको बताए ।

यो वर्ष अर्थात् सन् २०२१ सम्म आइपुग्दा नेपाली सेनाको तर्फबाट संयुक्त राष्ट्रसंघमा सेवा र सहभागिता भएको ६३ वर्ष भएको छ । यसबीचमा १ लाख ३० हजार जनाले सेवा गरेको उनले जानकारी दिए ।

विश्वका युद्धग्रस्त क्षेत्रहरुमा शान्ति सेना पठाएको नेपाली सेना सैनिकहरुको व्यक्तिगत र सेनाको संस्थागत दुवै विकास गर्न शान्ति सेनाले सहयोग गरेको उल्लेख गरे ।

उनले भने, ‘संस्थागत रुपमा नेपाली सेना विश्वको अत्यन्तै विश्वासिलो शान्ति सेनाको रुपमा आफ्नो प्राप्त उपलब्धिहरुमा खुशी छ ।’

शान्ति सेनामा नेपाली सेनाको बढ्दो संख्याले सेनाको व्यावसायिकता, तटस्थता र विश्वसनीयता झल्काउने उनले बताए । प्रधानसेनापति थापाले नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको विश्व शान्ति मिसनको सहभागिताले नेपालको विश्वचित्र सकारात्मक बन्ने र नेपाली परराष्ट्र नीतिका उद्देश्यहरु प्राप्त हुने अपेक्षा लिएका छन् ।

१० हजार शान्ति सेना पठाउन ‘ट्यान्डबाइ’

नेपाल शान्ति सेना पठाउने विश्वकौ चौथो ठूलो सैन्य शक्ति हो । नेपाल अगाडि बंगलादेश, रुवान्डा र इथियोपिया छन् । नेपालभन्दा एक कदम पछि छ भारत । नेपाली सेनाको मार्च ७ (फागुन २३) सम्मको तथ्यांक अनुसार विश्वका विभिन्न १२ मिसनहरुमा ५ हजार १३९ जना सैनिक कार्यरत छन् । जसमा १८७ जना महिला छन् ।

संयुक्त राष्ट्रसंघले मागेको अवस्थामा शान्ति मिसनको संख्या दोब्बर बनाउन नेपाली सेना तयार भएको प्रधानसेनापति थापाले बताए । नेपाल सरकारले एकपटकमा दश हजार सैनिक पठाउने इच्छा व्यक्त गरेको बताउँदै उनले नेपाली सेना त्यसमा सक्षम र तयार भएको उल्लेख गरे ।

थापाका अनुसार वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा त्यसको जनशक्ति उत्पादन हुन्छ । शान्ति सेनामा सहभागीहरुको प्राविधिक दक्षता, कार्यदक्षता र अन्य श्रोतसाधनमा सक्षम बनाउन नेपाली सेना सक्रिय भएको उनको भनाइ छ । शान्ति सेनामा सहभागी नेपालीहरुलाई विश्वस्तरीय जनशक्ति बनाउन नेपाली सेना सक्रिय भएको उनको तर्क छ ।

प्रधानसेनापति थापासँग शान्ति सेनाबारेमा भएका विभिन्न सवालहरुमा नेपाल प्रेसले राखेको फरक सवाल हो– के संयुक्त राष्ट्रसंघले जस्तै कुनै सार्वभौम देशले पनि नेपाली सेनासँग शान्ति सेना माग्दा नेपाली सेना तयार छ ?

यो प्रश्नको एक शब्दमै प्रधानसेनापति थापाले उत्तर दिए– छैन ।

नेपाल संयुक्त राष्ट्रसंघको चार्टरमा हस्ताक्षर गरेर सदस्य भएको देश भएकोले नेपाल त्यसमा उत्तरदायी भएको उनले बताए । प्रधानसेनापति थापाले अन्य कुनै देशसँग त्यस्तो संभव नहुने संकेत गरे । कुनै देशले शान्ति स्थापनाको लागी नेपाली सेना मागे पनि जान नमिल्ने तर्क गर्दै प्रधानसेनापति थापाले भने, ‘मलाई यस्तो संभव हुन्छ जस्तै लाग्दैन । हाम्रो देशको परराष्ट्र नीतिका उद्देश्यहरुले यो कुरालाई समर्थन गर्दैन ।’

उनले थपे, ‘व्यक्तिगतरुपमा पनि म के विश्वास गर्छु भने नेपालको भू–राजनीतिक वास्तविकताको कारणले पनि संयुक्त राष्ट्रसंघले गर्ने आमन्त्रण र प्रयोजनमा बाहेक नेपालले आफ्ना फौज पठाउनुहुँदैन । अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालले आफ्नो तटस्थताको नीति कायम राख्नुपर्छ । जसबाट नेपालको शान्ति कार्य मिसनमा वैधानिकता मिल्छ ।’


प्रतिक्रिया

One thought on “हामी विश्वकै विश्वासिलो शान्ति सेना हौं : प्रधानसेनापति थापा

Leave a Reply to Dinesh Kumar Poudel Cancel reply

Your email address will not be published. Required fields are marked *