बार्सिलोना १४ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न असफल – Nepal Press

बार्सिलोना १४ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न असफल

एजेन्सी । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइन (पीएसजी)सँग दोस्रो लेगमा १–१ को बराबरी खेले पनि समग्रमा ५–२ को नजिताका साथ बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको अन्तिम–१६ बाटै बाहिरिएको छ ।

पछिल्लो १४ सिजनमा बार्सिलोनाले क्वाटरफाइनलमा पनि पुग्न नसकेको यो पहिलोपल्ट हो । बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्ना अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी क्लबको ‘महान भविश्य’ रहेकोमा कुनै सन्देह नरहेको बताएका छन् ।

३३ वर्षीय मेस्सीले बार्सिलोनाका लागि चारपल्ट च्याम्पियन्स लिग जितेका छन् । यो सिजन सुरु हुनुअघि उनले क्याम्प नोउमा आफ्नो असन्तुष्टि सार्वजनिक गरेका थिए । अन्तिम–१६ को ड्र आउनुअघि उनको नाम पीएसजीसँग जोडिएको थियो ।

१४ वर्षमा पहिलोपल्ट क्वाटरफाइनलमा पुग्न असफल रहे पनि बार्सिलोनालाई यो अवस्थाबाट माथि उकास्नका लागि लामो समयदेखि टिममा रहेका मेस्सीलाई क्लबमै रहिराख्न मनाउनु पहिलो दायित्व रहने प्रशिक्षक कोम्यानको भनाइ छ ।

३० औं मिनेटमा केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गरी घरेलु टोलीलाई अग्रता दिलाएको ७ मिनेटपछि २५ यार्डबाट शानदार गोलसहित मेस्सीले बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

रोनाल्ड कोम्यानको टोली पहिलो लेगमा ब्यहोरेको ४–१ को हारबाट माथि उठेर क्वाटरफाइनलमा पुग्ने लक्ष्यसहित पेरिस आएको थियो । तर पहिलो हाफको इन्जुरी समयमा मेस्सीको पेनाल्टी प्रहार पीएसजी गोलरक्षक केलर नाभासले रोकेपछि उनीहरुलाई भाग्यले पनि साथ दिएन ।

अर्को खेलमा इंग्लिस च्याम्पियन लिभरपुलले जर्मन टोली आरबी लाइपजिगलाई समग्रमा ४–० ले हराएर क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेग २–० ले जितेको लिभरपुलले एनफिल्डमा गएराति सम्पन्न दोस्रो लेगमा पनि २–० कै नतिजा निकाल्यो ।

लिभरपुलको जितमा मोहम्मद सलाह र साडियो मानेले गोल गरेका थिए । प्रिमियर लिगमा निकै नै खराव लयबाट गुज्रिरहेको लिभरपुलले लाइपजिगबिरुद्ध घरेलु मैदानमा उत्कृष्ट जित निकाल्यो । प्रिमियर लिगमा लिभरपुलले घरेलु मैदानमा लगातार ६ खेल पराजित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *