स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन गरेर पठाउन सरकारको पुनः आग्रह – Nepal Press

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन गरेर पठाउन सरकारको पुनः आग्रह

काठमाडौं । सरकारले ७ सय ५३ वटै स्थानीय तहलाई जतिसक्दो चाडो स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन फाराम भरेर पठाउन पुनः आग्रह गरेको छ । यस अघि नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वमूल्यांकन फाराम भरेर पठाउन आग्रह गरिसके पनि अझै अधिकांश स्थानीय तहले भरेर नपठाएकाले मन्त्रालयले पुनः ताकेता गरेको हो ।

स्थानीय तहको स्वमूल्यांकनमा सहयोग पुर्याउन मन्त्रालयले सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन पनि गरिसकेको मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव बसन्त अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार उक्त प्रशिक्षण कार्यक्रममा सहभागि भएका प्रशिक्षकलाई प्रदेश प्रशिक्षण प्रतिष्ठान तथा प्रदेश सुशासन केन्द्र मार्फत स्थानीय तहको स्वमूल्यांकन कार्यमा सहजीकरण गर्न खटाउने व्यवस्था समेत मन्त्रालयले मिलाएको छ ।

स्थानीय तह सञ्चालन गर्न, स्थानीय तहका असल अभ्यासलाई संस्थागत गर्न तथा सुधार गर्नुपर्ने विषयलाई समयमै पहिचान गरी स्थानीय तहको प्रभावकारीता बृद्धि गर्न यसबाट सहयोग पुग्ने मन्त्रालयले अपेक्षा गरेको छ ।

मन्त्रालयबाट स्वीकृत कार्यविधि अनुसार प्रदेशस्तरीय प्रशिक्षकको सहयोग लिई सबै स्थानीय तहलाई आफ्नो स्वमूल्यांकन गरी प्राप्त नजितालाई मन्त्रालयबाट तयार गरिएको सफ्टवेयरमा प्रविष्ट गर्न आग्रह गरिएको छ ।

स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिको बारेमा लेखाजोखा गरी सबल र दूर्बल पक्षको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीको जानकारी लिन, आवधिक समिक्षाका लागि आधार प्राप्त गर्न स्वमूल्यांकन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गाउँपालिका तथा नगरपालिकाको बीचमा तुलनायोग्य सूचक तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन स्थानीय तहको क्षमता स्वमूल्यांकन कार्यविधि यसअघि नै स्वीकृत भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर