मेयर ११ लाई हराउँदै पुलिस मेयर कपको फाइनलमा – Nepal Press

मेयर ११ लाई हराउँदै पुलिस मेयर कपको फाइनलमा

काठमाडौं । काठमाडौं मेयर-११ लाई १०३ रनले पराजित गर्दै विभागीय महारथी नेपाल पुलिस क्लब काठमाडौं मेयर कपको फाइनलमा पुगेको छ । राउन्ड रोबिन पद्धतिमा जारी लिगको पहिलो चरणका चार खेलमध्ये तीनमा जित हासिल गर्दै पुलिस फाइनल पुग्ने पहिलो टोली बनेको हो ।

बुधबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४७.४ ओभरमा सबै विकेट गुमाएर १८७ रनको योगफल तयार गरेको थियो ।

दोस्रो इनिङमा १९८ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको मेयर-११ ले ३१.२ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्रै बनाउन सक्यो । मेयर ११ का लागि कप्तान सन्दीप लामिछानेले १७ बलमा ३ चौका र २ छक्कासहित २६ रनको योगदान गरे । त्यस्तै, कृष्ण कार्कीले १९ तथा सिद्धान्त लोहनीले १८ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ पुलिसका लागि पवन सर्राफले ६.२ ओभरमा १६ रन खर्चेर १ मेडनसहित ४ तथा दिपेन्द्रसिंह ऐरीले ३ र ललित राजवंशीले २ विकेट लिए । सागर ढकालको नाममा १ विकेट रह्यो ।

पहिलो इनिङमा पुलिसका लागि योगेन्द्रसिंह कार्कीले ५५ बलमा ४ चौकासहित सर्वाधिक ४० रनको योगदान गरे । त्यस्तै आरिफ शेखले २९ बलमा ३ चौका र ३ छक्कासहित ३४ तथा पवन सर्राफले ५१ लबमा २८ रन जोडेका थिए । अन्तिम खेलमा एपीएफविरुद्ध शतक प्रहार गरेका दिपेन्द्रसिंह ऐरी ३८ बलमा २४ रन बनाएर पेभेलियन फर्किँदा अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

मेयर-११ का लागि कप्तान सन्दील लामिछाने, हरिशंकर साह र बिपिन खत्रीले ३/३ तथा अनिल खरेलले १ विकेट लिएका थिए ।

जितसँगै पुलिस फाइनलमा पुग्दा मेयर ११ को फाइनल प्रवेशको सम्भावना न्यून देखिएको छ । तीन खेलमा २ हार र १ जित निकालेको मेयर ११ ले अन्तिम खेलमा जित हासिल गरे नेपाल एपीएफ क्लबले  बाँकी खेल जिते सम्भावना समाप्त हुनेछ ।

पुलिसले ४ खेलबाट ६ अंक हासिल गरेको छ भने एपीएफको ३ खेलबाट ४ अंक छ । काठमाडौं, त्रिभुवन आर्मी र वाग्मती प्रदेशको २/२ अंक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *