सुदूरपश्चिम सरकार अल्पमतमा, केन्द्रको निर्देशन कुर्दै एमाले – Nepal Press

सुदूरपश्चिम सरकार अल्पमतमा, केन्द्रको निर्देशन कुर्दै एमाले

कैलाली । एमाले–माओवादी ब्युतिएसँगै माओवादी केन्द्रको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ ।

५३ सदस्यीय प्रदेशसभामाममा एमालेका २५ र माओवादी केन्द्रका १४, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना सांसद छन् ।

तत्कालीन एमालेका २५ सांसदको समर्थनमा १४ जना सांसद रहेका माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री भएका थिए । दुई पार्टी विगतकै अवस्थामा फर्किएपछि मुख्यमन्त्री भट्टलाई विश्वास जोगाउन सकस परेको छ ।

अब एमालेले कुनै पनि अर्काे दलसँग सहकार्य गरेर सरकार बनाउन सक्छ । तर, माओवादी केन्द्रले एमाले वा कांग्रेसलाई साथमा नलिँदासम्म सरकार अल्पमतमा रहन्छ । यो स्थितिमा सुदूरपश्चिम प्रदेशमा एमालेको नेतृत्वमा नयाँ सरकार बन्न सक्छ । तर तत्काल सरकार गिराउने र नयाँ बनाउने बारे नसोचेको नेताहरु बताउँछन् ।

‘हामीसँग पनि स्पष्ट बहुमत छैन’ एमालेका प्रमुख सचेतक तारा लामा तामाङ भन्छन्, ‘अहिले यो सरकारको विकल्पमा अर्काे सरकार गठन गर्ने विषयमा छलफल भएको छैन ।’

उनले अहिले वर्तमान सरकारप्रति अविश्वासको प्रस्ताव ल्याउने सोच नभएको पनि बताए ।

‘माओवादी र एमालेको गठबन्धनमा यो सरकार बनेको हो तर, अहिले नै यो सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी छैन’, उनले भने, ‘हामी केन्द्रको निर्णय मान्छौ ।’

तत्कालीन एमाले संसदीय दलका नेता समेत रहेको प्रदेश सरकारका प्रवक्ता प्रकाश शाहले तत्काल माओवादी केन्द्रसँग समीकरण टुट्ने अवस्था नरहेको बताएका छन् ।

‘संघीय सरकार पनि एमाले र माओवादीको गठबन्धनमा बनेको हो । यहाँ पनि त्यहीं छ’ उनले भने ‘अहिले नै अविश्वासको प्रस्ताव आउँछ वा समीकरण बदलिन्छ भन्न सकिँदैन ।’

एमालेका सांसद पठानसिंह बोहरा मुख्यमन्त्री अल्पमतमा परेको बताउँछन् । सरकार गठनको विषयमा केन्द्रीय नेतृत्वको कुनै निर्देशन नआएको उनले बताए ।

उनले भने, ‘मुख्यमन्त्री अहिले अल्पमतमा हुनुहुन्छ, अब हामीले के गर्ने भन्ने विषयमा केन्द्रले के भन्छ त्यहीअनुसार हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर