रूप फेर्दै मोरङको पुरानो सदरमुकाम रंगेली – Nepal Press

रूप फेर्दै मोरङको पुरानो सदरमुकाम रंगेली

ऐतिहासिक रंगेली फेरि ‘व्यापारिक हब’ बन्दै

विराटनगर । मोरङको पुरानो सदरमुकाम रंगेली फेरि जुर्मुराउन थालेको छ । पूर्वाधार र विकासले समेटिएसँगै पछिल्लो समय रंगेली तंग्रिने प्रयासमा अघि बढेको हो ।

यसअघि रंगेलीबाट बसाइँ सरी अन्यत्र जाने क्रम बढेको थियो । तर अहिले यो क्रम पनि रोकिएको छ । व्यापार विस्तार हुने क्रम बढेपछि पछिल्लो समय व्यापारिक हिसाबमा पनि रंगेली सबैको नजरमा पर्न थालेको छ ।

पछिल्ला पाँच वर्षयता रंगेलीमा ह्वात्तै जनसंख्या बढेको छ, सबैजसो स्थानमा बस्ती बाक्लिंदै गएको छ । रंगेली बजारमा बढ्दो आवादीसँगै सुविधाहरू पनि थपिंदै गएका छन् । मानिस पनि सुविधा खोज्दै त्यहीं पुग्न थालेका छन् ।

आठ दशकअघि गुल्जार बजारको परिचय बनाएको पुरानो सदरमुकाम रंगेली त्यसपछिको समय प्रायः गुमनाम भएको थियो । रंगेलीबाट पुराना बासिन्दा थातथलो छाड्दै अन्यत्र जाने क्रम बढेको थियो । यतिसम्म कि व्यापारीहरू पनि स्थानान्तरण भएका थिए ।

पुरानो व्यापारिक क्षेत्रका रूपमा परिचय बनाएको रंगेली रङ हराएको जस्तै बनेको विगत दिनका अनुभव सम्झँदै स्थानीय अगुवा मंगलचन्द अग्रवालले भने, ‘अहिले रंगेली फेरि जुर्मुराउँदैछ ।’

विकासदेखि व्यापारसम्मले रंगेली फेरि पुरानो लयमा फर्कने प्रयासमा देखिन्छ ।

उनले अहिले रंगेली क्षेत्र आर्थिक र सामाजिक रूपमा माथि उठ्दै गएको बताए । यति हुँदाहुँदै पनि नयाँ उद्योग, कलकारखाना भने खुल्न नसकेको अग्रवालले बताए । एकताका रंगेलीमा धेरै उद्योग, कलकारखाना खुलेका थिए । समयक्रमसँगै ती सबै पूर्णरूपमा बन्द भइसकेका छन् ।

विराटनगरबाट २२ किलोमिटर पूर्वमा पर्ने रंगेली विकासको दौडमा सधैं पछि पर्दै आएको थियो । कुनै समय पूर्वी नेपालको मुख्य व्यापारिक केन्द्र बनेको रंगेलीको आकार फेरि बढ्ने क्रममा छ ।

रंगेली व्यापारिक र औद्योगिक क्षेत्रका रूपमा स्थापित हुने सम्भावना पनि उत्तिकै छ । हुलाकी राजमार्ग सञ्चालनमा आएपछि पूर्वी तराईको मुख्य व्यापारिक केन्द्रका रूपमा रंगेली विस्तार हुने चरणमा प्रवेश गरेको छ । हुलाकी राजमार्गले झापासँगको दूरी पनि छोट्टिनेछ । झापा र मोरङको दक्षिण क्षेत्रका उपभोक्ता र व्यवसायीका लागि रंगेली व्यापारिक थलोका रूपमा स्थापित हुने क्रममा छ ।

पूर्व–पश्चिम राजमार्ग निर्माणपछि राजमार्गले छोएका नयाँ शहरहरूले जसरी विकासमा फड्को मारे त्यसैगरी हुलाकी राजमार्ग निर्माण सम्पन्न भएपछि दक्षिण क्षेत्रका शहरहरूले पनि विकासमा फड्को मार्ने स्थानीयको आशा छ । हुलाकी राजमार्ग निर्माणसँगै रंगेलीको विकासले स्थानीयको आशालाई ढाडस दिन थालिसकेको स्थानीय उमेश साह बताउँछन् ।

साहका अनुसार १०६ वर्ष पहिले रंगेलीबाट मोरङको सदरमुकाम विराटनगर सरेसँगै त्यहाँका उद्योगी, व्यवसायी विराटनगर नै बसाइँ सरेका थिए । सबै सरकारी अड्डा र अस्पताल पनि विराटनगरमै बने । यति मात्रै होइन, रंगेलीको विकासमा सरकारले पनि पटक्कै ध्यान दिएन ।

‘सदरमुकाम सरेपछि रंगेलीका सबै संरचना विराटनगरमै सरे’ साहले भने, ‘रंगेली भन्दा पछि जन्मिएका शहरहरू एकाएक विस्तार भए । तर सरकारको बेवास्ताको शिकार सधैं रंगेली बनिरह्यो ।’ पछिल्लो समय एकप्रकारले भन्दा रंगेली गुमनामको स्थितिमा पुग्यो । तर अब भने समय बदलिएको उनी बताउँछन् ।

भन्सार र अस्पतालको समेत स्तरोन्नति हुने भएपछि भौतिक पूर्वाधारका हिसाबले पनि रंगेली सबल बन्ने क्रममा छ । मोरङको पथरीस्थित महेन्द्र राजमार्ग र रंगेली भन्सार जोड्ने सडक कालोपत्रे भइसकेको छ । यो सडकले पनि रंगेलीको विकासमा महत्वपूर्ण भूमिका खेलेको साह बताउँछन् ।

रंगेली अब दक्षिण–पूर्वी मोरङको महत्वपूर्ण शहरका रूपमा स्थापित हुने क्रममा छ । सडक पूर्वाधार विकासका कारण व्यावसायिक चहलपहल पनि बढ्न थालेकाले रंगेलीको चमक बढ्ने क्रममा रहेको र अब फेरि गुमेको आफ्नो पुरानो साख फर्कने आशामा स्थानीय रहेको साहले बताए ।

अहिले रंगेलीको विकास निर्माण तीव्र रूपमा भइरहेको छ । बैंक तथा वित्तीय संस्थाका नयाँ शाखा पनि धमाधम खुलिरहेका छन् । व्यापारिक चहलपहल पनि उत्तिकै बढेको छ । पुरानो शहरका रूपमा परिचय बोकेको रंगेली नयाँ र उदीयमान शहरका रूपमा स्थापित हुने प्रयत्नमा लागिरहेको रंगेली नगरपालिकाका मेयर दिलीप अग्रवाल बताउँछन् ।

१०० वर्षअघि रंगेलीबाट विराटनगर जिल्ला सदरमुकाम सरेपछि यहाँको चमक हराएको थियो । स्थानीय सरकार निर्वाचित भएर आएसँगै निर्माणका लागि केही महत्वपूर्ण कदम चालेकै कारण नयाँ शहरका रूपमा रंगेली उदाउन लागेको मेयर अग्रवालले दाबी गरे ।

‘रंगेली निर्माणका लागि महत्वपूर्ण कामको शुरुआत भइसकेको छ’ उनले भने, ‘अब केही समयपछि नै रंगेलीले आफ्नो रूप परिवर्तन गर्नेछ ।’ राजनीतिकर्मी मोदराज घिमिरे रंगेली राजनीतिक र बहुसांस्कृतिक रूपले पनि महत्वको क्षेत्र भएको बताउँछन् । लामो समयदेखि पछि पारिएको भए पनि अब रंगेली विकासमा जुरुक्क उठ्ने कोशिश गरिरहेको उनले बताए ।

कुनै समय मोरङसँगै झापा र सुनसरीको भूगोलसँग पनि रंगेलीको सम्बन्ध जोडिएको थियो । १०६ वर्षअघि मोरङ जिल्लामा मोरङ, सुनसरी र झापा थिए । सदरमुकाम समेत रंगेली नै थियो । तर जब सदरमुकाम विराटनगर स¥यो विस्तारै रंगेली सुनसान हुन थाल्यो ।

रंगेलीमा लामो समयदेखि बसोबास गर्दै आएका स्थानीय समाजसेवी सुरेश मिश्र दक्षिणी भेगको शहर रंगेलीले इतिहासमा स्वर्णिम नाम बनाएको भए पनि अहिले ‘मणि हराएको सर्प’ जस्तै बनेको बताउँछन् ।

१९७१ सालमा रंगेलीबाट सदरमुकाम विराटनगर सारिएको थियो । सदरमुकाम विराटनगर सारेर रंगेलीलाई रसातलमा पुर्याइएको रंगेलीवासीको गुनासो छ ।

समाजसेवी रमेश मिश्र विगतलाई स्मरण गर्दै भन्छन्, ‘गुल्जार रंगेलीबाट सदरमुकाम विराटनगर सरेपछि यो सबै कुराबाट पछि प¥यो, तर पछिल्लो समय फेरि भौतिक पूर्वाधारसँगै आर्थिक गतिविधि बढ्न थालेका छन् ।’

स्थानीय अगुवा मंगलचन्द्र अग्रवाल भन्छन्, ‘सदरमुकाम विराटनगर सारिएपछि रंगेलीको विकास कार्य रसातलमा पुगेको थियो ।’ चार पुस्तादेखि रंगेलीको व्यापार धानेको परिवारका सदस्य समेत रहेका ७१ वर्षीय अग्रवाल स्मरण गर्छन्, ‘सदरमुकाम रहँदा हुलाकी राजमार्गले छोएको रंगेली बजार पूर्वको व्यापारिक केन्द्र थियो । तर बीचमा विकासको दौडमा पछि परिसकेको थियो ।’ मंगलचन्द्र रंगेली फेरि एक पटक विकासको दौडमा सामेल भएको बताउँछन् ।

फ्लासब्याक रंगेली

भारतको सीमाभन्दा चार किलोमिटर उत्तरको रंगेली सदरमुकाम गएको ७० वर्षपछिसम्म पनि मोरङको दोस्रो ठूलो बजार थियो । त्यसबेला भारतको फारबिसगञ्जबाट पूर्वमा स्थापना भएका साना–ठूला उद्योगका लागि कच्चा पदार्थ रंगेलीको बाटो भएर आयात हुने गरेका थिए ।

त्यसबेला सबै सरकारी कार्यालय पनि रंगेलीमा रहेका थिए । स्थानीयका अनुसार २०१७ सालतिर रंगेलीमा पाँच वटा ठूल्ठूला राइस मील थिए । त्यहाँबाट नेपालका सबै ठाउँ र भारतमा समेत चामल लैजाने गरिन्थ्यो । तर अहिले त्यो अतीतमा सीमित बन्न पुगेको छ ।

स्थानीय समाजसेवी सुरेश मिश्रका अनुसार ४० वर्ष अघिसम्म धान, मकै र सनपाट बिक्रीका लागि झापा र मोरङका किसान रंगेली पुग्थे । तर, पूर्व–पश्चिम राजमार्ग बनेपछि हुलाकी राजमार्ग ओझेलमा परेर व्यापार हराउँदै गयो । आसपासका गाविसहरूमा बजार विस्तार हुँदै गएपछि रंगेली पूरै सुनसान हुन थाल्यो । ‘यहाँका व्यापारीहरू विराटनगर, वीरगञ्ज र काठमाडौंतिर गए, लगानीकर्ताको अभाव हुन थाल्यो’, मिश्र भन्छन् ।

रंगेलीको इतिहास

१९२७ सालमा मोरङ जिल्लाको सदरमुकाम विजयपुरबाट सारेर रंगेलीमा ल्याइएको इतिहास छ । रंगेलीबाट १९७२ सालमा सदरमुकाम फेरि विराटनगरमा सारियो ।

बूढापाकाहरूका अनुसार सदरमुकाम कायम भएपछि मात्र विराटनगरमा विस्तारै मानिस बस्ने क्रम बढेको र बस्ती विकासले गति लिएको हो । त्यसभन्दा अघिको समयमा औलोको डरले मानिस विराटनगर बस्न रुचाउँदैनथे ।

पहिले गाउँपञ्चायत रहेको विराटनगर २००८ सालमा नगरपालिका घोषणा भएको थियो । त्यसपछि चामत्कारिक रूपमा विराटनगरमा विकास भएको हो । नयाँ सदरमुकाम विराटनगर महानगरपालिका घोषणा भइसकेको छ भने पुरानो सदरमुकाम रंगेली नगरपालिकामा सीमित छ ।

जापान सरकारको सहयोगमा १० वर्षअघि विराटनगरबाट उर्लाबारी जोड्ने दक्षिणी क्षेत्रको सडक निर्माण भएपश्चात रंगेलीवासीको आहटमा केही भए पनि राहत भने मिलेको छ । हुलाकी राजमार्ग विस्तारले पनि रंगेली सहज पहुँचमा समेटिएको छ । सरकारले पनि रंगेली बजारलाई नयाँ शहरको रूपमा विकास गर्ने योजनासहित काम अघि बढाएको छ ।

दक्षिणी सीमावर्ती भारतीय शहर जोगवनीसम्म रेलसेवा सञ्चालन भएको र भारतसँग व्यापार–व्यवसाय गर्न सजिलो हुने मनसायले तत्कालीन समयमा सदरमुकाम रंगेलीबाट विराटनगर सारिएको जानकारहरू बताउँछन् ।
रंगेलीबाट सदरमुकाम विराटनगर सार्न त्यसबेला कृष्णप्रसाद कोइराला, सुब्बा गुञ्जमान, डिठ्ठा कृष्णराज, हनुमानदास श्रेष्ठ, सुब्बा कालिदास, सुवेदार अनन्तराम लगायतको मुख्य योगदान रहेको पुराना दस्तावेजहरूमा पढ्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *