गल्तीबाट सिक्ने नेताको खाँचो – Nepal Press

गल्तीबाट सिक्ने नेताको खाँचो

सन् १९७४ को अगस्टमा तत्कालीन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सन पदबाट राजीनामा दिन बाध्य भए । ‘वाटरगेट काण्ड’ बाट चर्चित अनियमितता र भ्रष्टाचारको आरोप लागेपछि शक्तिशाली राष्ट्रपति निक्सनले त्यसको खिलाफमा आफ्नो पावर दुरुपयोग गर्न चाहेनन् । बरु अमेरिकी इतिहासमै बहालवाल राष्ट्रपति पहिलोपटक अनियमितताको आरोप बोकेर भावी पुस्तालाई गल्तीबाट पाठ सिक्न सन्देश दिंदै ह्वाइट हाउसबाट बाहिरिए । नैतिकता र इमानदारीमा लागेको दागलाई पद र पावरको जलपले ढाकछोप गर्न खोजेनन् ।

जोन एडवर्ड अमेरिकी राजनीतिमा चामत्कारिक नेताको रूपमा उदाउने धेरैको आशा थियो । डेमोक्र्याटिक पार्टीका राइजिड स्टारको रूपमा लिइएका एडवर्डलाई जोन केरीपछिका सो पार्टीको तर्फबाट राष्ट्रपतिको प्रतिस्पर्धीको रूपमा समेत हेरिएको थियो । नर्थ क्यारोलिन राज्यका सिनेटर एडवर्डलाई त्यहाँभन्दा माथि उठ्न उनको विवाहेत्तर सम्बन्ध नै बाधक बनिदियो ।

अर्थात् उनी माथि उठेका अनियमितता र नैतिकताको प्रश्नसँगै उनी राजनीतिबाट आइसोलेसनमा पुगे । तर उनले आफ्नो कमजोरीलाई कहिल्यै अस्वीकार गरेनन् । द क्यारलट अब्जर्भरका लागि जीम मोरिलले तयार पारेको रिपोर्टमा भनिएको छ, ‘मलाई थाहा छैन, के सम्भव छ र भविष्य कसरी अघि बढ्छ तर मेरो विचारमा केही कुरा पनि सकिएको छैन ।’

यसको मतलब थियो भविष्यमा सुधारिएर राजनीतिमा फर्कने आधार र सम्भावना उत्तिकै छ । भोलिका दिनमा अमेरिकी राजनीतिमा उनको दमदार उपस्थिति हुन सक्ला या नसक्ला त्यो परीक्षणकै घडीमा छ । तर गल्तीलाई आत्मसात् गरेर आफूलाई सच्याएर अघि बढ्न देखाएको साहस नै भावी पुस्ताका लागि महान् पाठ हो ।

सन् २००० मा ताइवानको पाँचौं र डेमोक्र्याटिक प्रेग्रेसिभ पार्टीको पहिलो राष्ट्रपतिमा निर्वाचित भएका थिए– चेन सुई वेन । तर उनी राष्ट्रपिता भने बन्न सकेनन् । सन् २००८ सम्म आइपुग्दा उनको संलग्नता रहेका ठूला–ठूला अनियमितता र भ्रष्टाचारका काण्ड एकपछि अर्को गरी पर्दाफास हुन थालिसकेका थिए ।

आफन्तवाद र पारिवारिक मोहले एउटा राजनीतिकर्मीको कसरी पतन हुँदोरहेछ भन्ने ताजा नजिर हुन्, वेन । जसले पारिवारिक प्रभावमा परेर राज्यको ढुकुटी दोहन गरे । राज्यलाई खोक्रो बनाउने काम गरे । सत्ता र शक्तिको चरम दुरुपयोग गरे । तर कानूनको कठघरामा उनको अनियमितता र बेइमानीले क्षमा पाएन । परिणामतः उनलाई जेल सजाय सुनाइयो । उत्कर्षमा पुगेको राजनीतिक करिअर एउटै फैसलाले चुुर्लुम्म डुबायो ।

राज्यदोहन गरेर सँगालेको कालोधन नीतिको अगाडि निरर्थक बन्यो । नैतिकता भुल्दा एउटा भ्रष्ट शासकको कसरी पतन हँुदोरहेछ भन्ने ताजा नजिर पनि हो, यो । विगतमा राष्ट्रको अभिभावक बन्न मत दिएका ताइवानी जनताले उनलाई अहिले कुख्यात अपराधीको रूपमा लिन्छन् । ताइवानीको साख गिराएको पात्रको रूपमा हेर्छन् । आखिर उनले आफ्नो गल्तीलाई जति ढाकछोप गर्न खोजे पनि न्यायको कठघरामा उनको आपराधिक छवि जोगिन सकेन । यथार्थता बाहिरिएरै छोड्यो । देश र जनतालाई छल गर्दा उनको राजनीतिक भविष्य त सकियो नै, ताइवानको इतिहासमा नै एउटा नमेटिने दाग समेत बने ।

माथि उल्लिखित तीन उदाहरणलाई हेरौं । पहिलो दुई दृष्टान्त जहाँ राजीनामा दिंदा निक्सन शक्तिशाली अमेरिकाका राष्ट्रपति थिए । यता एडवर्डलाई भावी राष्ट्रपतिको रूपमा हेरिएको थियो । तर पारदर्शिता र नैतिकताको सवालमा उठेको प्रश्नको सामु पद र पावरलाई ठूलो देखेनन् । त्यति शक्तिशाली देशका नेताले त नीति र नैतिकताको सामु गल्ती स्वीकार गर्ने फराकिलो छाती देखाए भने पारदर्शिताको सवालमा प्रश्न नै प्रश्नको घेरामा रहेका हाम्रा नेतृत्वले उनीहरूबाट सिक्न जरूरी छ कि छैन ?

हो भावी पुस्तामा सही राजनीतिक संस्कार र प्रवृत्तिको विकास गराउने हो भने प्रश्न उठेका हरेक नेताले आफूलाई पदबाट अलग्याउन आवश्यक छ । अनि राजनीतिमा लागेर अनियमितता, भ्रष्टाचार र नैतिकताको सवालमा प्रश्न उठेका नवयुवाहरूले पनि एडवर्डले जस्तै त्याग गरेर भविष्यमा आफूलाई सुधारेर अघि बढ्ने आँट गर्न सक्नुपर्छ । तब मात्र हामीले भावी दिनमा पारदर्शितामा प्रश्न उठ्दा पद र पावरलाई तिलाञ्जली दिनसक्ने निक्सन र एडवर्डहरू पाउन सक्छौं ।

हामीले पनि गल्ती स्वीकार नगर्ने अविवेकी नेतालाई ताइवानीले जस्तै नीतिको माध्यमबाट नियन्त्रण गर्नुको विकल्प छैन । जसका लागि हाम्रा राज्यका नियामक निकायहरू चुस्तदुरुस्त र निष्पक्ष हुन आवश्यक छ ।

अनियमितता र नैतिकताको सबालमा प्रश्नै प्रश्न उठेका पात्रले निक्सन र एडवर्डले जस्तो फराकिलो छाती बनाउँदैनन् भने नीतिको माध्यमबाट नियन्त्रण गर्नुको विकल्प छैन । कानूनको माध्यमबाट नै ताइवानी शासक चेन सुई बेन कारबाहीको दायरामा आएका हुन् । हो पावरको दुरुपयोग गर्ने हाम्रो नेतृत्वलाई पनि वेनलाई जस्तै कानूनी कठघरामा ल्याएर सबक सिकाउन जरूरी छ । नैतिकता र अनियमितताको प्रश्न उठेकाहरूले पद छोड्ने साहस देखाउन सक्नुपर्छ, पश्चिमा र युरोप, अमेरिकाका नेतृत्वले जस्तै । यदि त्यसो गर्न तयार हँुदैनन् भने कारबाहीको दायरामा ल्याउनुपर्छ वेनलाई जस्तै । जसका कारण भोलिका दिनमा राज्यशक्तिको दुरुपयोग गर्न खोज्नेले हजार पटक सोचोस् ।

साँच्चै नै भावी दिनमा राजनीतिमा आएर कमाउने सपना देख्ने हरेक ताइवानी पात्रले गलत गर्नुपूर्व पटक–पटक सोच्नेछ । देशको नीति र कानूनको ख्याल राख्नेछ । किनकि जहाँ नैतिकता गुमाउँदा नीतिले नियन्त्रणमा लिनेछ । तसर्थ हामीले पनि नीति र नैतिकताको तादाम्यता मिलाउन जरूरी छ । जसबाट भ्रष्टहरूलाई नियन्त्रण गर्न सकियोस् ।

हामीले पनि गल्ती स्वीकार नगर्ने अविवेकी नेतालाई ताइवानीले जस्तै नीतिको माध्यमबाट नियन्त्रण गर्नुको विकल्प छैन । जसका लागि हाम्रा राज्यका नियामक निकायहरू चुस्तदुरुस्त र निष्पक्ष हुन आवश्यक छ ।

नत्र हामीले फेरि पनि पाउने भनेको सेयर र कमिशनका लागि मध्यस्थता गर्ने कमरेड नारायणकाजी जस्ता नेताहरू नै हो । चुनाव हारे पनि पद नभई नहुने कामरेड वामदेवहरू जस्तै पात्र नै हो । क्यान्टोनमेन्टको अनियमितता छानबिन भन्ने वित्तिकै अत्तालिने कमरेड प्रचण्ड जस्तै नेतृत्व नै हो । जति भ्रष्टाचारको आरोप लागे पनि पदकै कारण उन्मुक्ति पाइराख्ने विजय गच्छदारहरू नै हो । जिउँदै मान्छेलाई इँटा भट्टामा हाल्ने नृशंस र क्रूर आफताव आलमहरू नै हो । हो, देशको राजनीतिक शुद्धीकरणका लागि आरोपितहरूले निक्सन र एडवर्डको बाटो रोजुन् । नत्र वेनलाई जस्तै कार्बाहीको कठघरामा ल्याउन सक्ने बलियो कानूनको विकल्प छैन ।

पश्चिमा देशहरूमा छानबिन प्रभावित नहोस् भनेर आरोप लागेपछि पदबाट स्वतः बाहिरिने संस्कार नै छ । त्यसको ठीक विपरीत हाम्रोमा यस्ता आरोप लागेका पात्र नै नीतिनिर्माणदेखि कार्यान्वयन गर्ने तहमा नेतृत्व गरेर बसेका ताजा नजिरहरू छन् । वास्तवमा सुशासनका लागि नीति बाधक भयो भने नैतिकताको प्रयोगबाट सुधार गरिन्छ । अनि नेतृत्वले नैतिकता गुमायो भने नीतिको माध्यमबाट नियन्त्रण गर्ने गरिन्छ । आज विश्वका समृद्ध लोकतान्त्रिक राज्यहरूमा यसरी नै नियन्त्रण र सन्तुलन कायम गरिंदै आएको पाइन्छ । तर हाम्रा नेतृत्व न नीति पालना गर्न तयार देखिन्छन् । न नैतिकवान् बन्ने साहस नै देखाउँछन् ।

आफन्तवाद र पारिवारिक मोहले एउटा राजनीतिकर्मीको कसरी पतन हुँदोरहेछ भन्ने ताजा नजिर हुन्, वेन । जसले पारिवारिक प्रभावमा परेर राज्यको ढुकुटी दोहन गरे । राज्यलाई खोक्रो बनाउने काम गरे । सत्ता र शक्तिको चरम दुरुपयोग गरे । तर कानूनको कठघरामा उनको अनियमितता र बेइमानीले क्षमा पाएन । परिणामतः उनलाई जेल सजाय सुनाइयो । उत्कर्षमा पुगेको राजनीतिक करिअर एउटै फैसलाले चुुर्लुम्म डुबायो ।

पद र पावर कहिल्यै पनि स्थायी हुँदैन । तर त्याग, इमानदारी र जवाफदेहीले एउटा नेतृत्वलाई जीवन्त बनाउँछ । वास्तवमा यस्ता सोच भएका पात्र आज नेपाली राजनीतिमा चाहिएको छ । राजनीतिक इमानदारीको खडेरीलाई परिपूर्ति गर्ने व्यक्तिको खाँचो छ । राजनीतिको मुहान नै धमिलो रहेसम्म सुशासन र समृद्धिका कुरा एकादेशको कथा जस्तै भइरहेनछ ।

विभिन्न पार्टीका विशिष्ट पददेखि सरकारमा रहेका नेताको सवालमा लागेका आरोपहरू मानांै प्रायोजित हुन् रे ! कम्तीमा प्रायोजित हो भन्ने प्रमाणित गर्न पनि अनुसन्धानलाई निष्पक्ष र पारदर्शी त बनाउनुपर्ला नि ! त्यसका लागि पनि पदमा रहेका पात्रले आरोप लागिसकेपछि ठाउँ खाली गरी स्वतन्त्र भूमिकामा रहन जरूरी छ ।

प्रमाणित भए कार्बाही सहन तयार हुने प्रायोजित भए पुनः आफ्नो ठाउँमा फर्कने । के यो आँट गर्ने हिम्मत हामीले नेता मानेका कुनै पनि पात्रसँग छ ? यदि छैन भने हामी जनताले त्यस्ता पात्रलाई नेता मानेर भुल गरिरहेका छौं । गल्ती स्वीकार गर्ने र गल्तीबाट पाठ सिक्ने व्यक्ति नै नेता बन्न सक्छ ।

हो, कुनै पनि राष्ट्रको सुशासन र समृद्धिका लागि नेतृत्वको नैतिकता र उदारताले उत्तिकै अर्थ राख्दछ । निक्सन र एडवर्डले गल्ती त गरे तर त्यसलाई ढाकछोप र दोहो¥याउने दुस्साहस गरेनन् । त्यसैले त यूरोप तथा अमेरिकाको लोकतान्त्रिक अभ्यासलाई अहिले पनि नमूनाको रूपमा हेरिन्छ । जहाँ नेता गल्ती गर्न डराउँछन् या गल्तीबाट पाठ सिक्छन् र सिकाउँछन् । जहाँ एउटा व्यक्तिको करिअरलाई बचाउने नाममा सिंगो व्यवस्थालाई बद्नाम गराउन खोजिंदैन । समृद्धि र सुशासनका लागि देश नेताप्रधान होइन नीतिप्रधान हुनुपर्छ । जहाँ नेताले नैतिकता गुमाउँदा नीतिले सहजै नियन्त्रण गर्न सकियोस् ।

अन्त्यमा भन्नैपर्छ, अनियमितता र नैतिकताको सवालमा प्रश्न उठेका पात्रहरू मैदान छोडेर जान खोज्दैनन् भने नीतिको माध्यमबाट नियन्त्रण गरेर सुशासनको अभ्यास गर्न जरूरी छ । जुन देशको आवश्यकता पनि हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *