जसपाले वार्ता समिति विस्तार गर्ने, सबै पक्षसँग सत्ता सहकार्यको छलफल गर्न खुला – Nepal Press

जसपाले वार्ता समिति विस्तार गर्ने, सबै पक्षसँग सत्ता सहकार्यको छलफल गर्न खुला

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले फेरिएको परिस्थितिमा सत्ता समीकरणका लागि वार्ता गर्न गठित कार्यदललाई विस्तार गर्ने भएको छ।

जसपाको पहिलोपटक मंगलबार बसेको संसदीय दलको बैठकले सत्ता सहकार्यका लागि सबै पक्षसँग वार्ता गर्ने पनि निर्णय गरेको नेता राजेन्द्र महतोले जानकारी दिए।

संसदीय दलको नेत चयन नगरेका कारण बैठक जेष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको थियो। बैठकका निर्णयबारे जानकारी गराउँदै महत्तोले भने, ‘जनता समाजवादी पार्टीसँग वार्ता गर्न चाहने सबैसँग र हामीले चाहेको सबै पक्षसँग हामी वार्ता गर्छौं ।’

त्यस्तै जसपाले सत्ता सहकार्यका लागि वार्ता गर्न गठित कार्यदलाई समेत विस्तार गर्ने भएको छ। ‘वार्ता कमिटी निर्माण गर्ने कुरा भएको छ,’ उनले भने, ‘वार्ता समितिलाई चाँडै पूर्णता दिन्छौं।’

वार्ता गर्न नेकपा एमाले र जसापाले संयुक्त कार्यदल गठन गर्ने निर्णय गरेका थिए। उक्त कार्यदलमा जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेको बताइएको छ ।

महतोले उक्त कार्यदलाई नै वार्ता समितिका रुपमा विस्तार गर्ने जानकारी दिए। वार्ता समिति ५ सदस्यीय हुनेछ। नाम भने भोली सार्वजनिक गरिने छ।

उनले आफूहरुले मुद्दा केन्द्रित सहकार्यमा जोड दिएको बताए। ‘सांसद रेशम चौधरीको रिहाइ र संविधान सांसोधनलाई केन्द्रमा राखेर आफ्नो कुरा राख्छौं,’ महतोले भने, ‘जो पक्ष हामीसँग कुरा गर्न चाहान्छ, ती सबैसँग वार्ता गर्छौं ।’

सरकार र सत्ताको कुरा त्यति सहज नभएको भन्दै उनले भने, ‘मुद्दा अगाडि छ । त्यो सम्बोधनको कुरा छ । सबैसँग कुरा गर्छौं तर सबैकुराको समीक्षा गरेर कोसँग सहकार्य गर्ने भन्नेबारे उपयुक्त निर्णय गर्छौं ।’

बैठकमा संसदीय दलको नेता चयनका लागि विधान बनाउन मस्यौदा वितरणसमेत वितरण गरिएको थियो । चाँडै संसदीय दलको नेता चयन गर्ने जानकारी महत्तोले दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर