सत्ता सहकार्यका लागि एमाले-जसपा संयुक्त कार्यदल गठन – Nepal Press

सत्ता सहकार्यका लागि एमाले-जसपा संयुक्त कार्यदल गठन

काठमाडौं । सत्ता सहकार्यलगायतका विषयमा वार्ता गर्न नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त कार्यदल गठन गरेका छन् । दुवै पक्षबीचको छलफलपछि कार्यदल बनेको हो ।

कार्यदलमा एमालेबाट उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका सल्लाहकार डा.राजन भट्टराई छन् । त्यस्तै जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेको बताइएको छ ।

सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले १२१ सिटसहित संसदमा पहिलो दल छ । तर, बहुमतका लागि अर्को दलसँग मिल्नुपर्ने भएकाले जसपासँग एमालेको छलफल चलेको हो ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सिट चाहिन्छ । हाल नेपाली कांग्रेसका विजयकुमार गच्छदार र अफताब आलम तथा जसपाका हरिनारायण रौनियार र रेमशलाल चौधरी निलम्बित अवस्थामा छन् ।

स्रोतका अनुसार जसपाले रेशम चौधरीको रिहाईका लागि प्रधानमन्त्री सकारात्मक भएकाले एमालेसँगै वार्ता अघि बढाउन चाहेको हो ।

चौधरीका बुबा गत प्रदेशसभा चुनावमा एमालेको उम्मेदवार थिए भने रेशम स्वयं एमालेको विद्यार्थी राजनीतिबाट आएका हुन् । उनको मुद्दा अदालतमा रहेको कारण प्रक्रिया मिलाउनुपर्ने भएकाले एमाले जसपाबीच यसबारेमा पनि छलफल भइरहेको छ ।

जसपाका नेताहरू डा.बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष एमालेसँग सहकार्यको पक्षमा छैन । तर, महन्थ ठाकुर,राजेन्द्र महतो,राजकिशोर यादव लगायत पूर्व राजपाका नेताहरू एमालेसँग छलफलमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर